Comments Add Comment

नेपाललाई चिनियाँ पर्यटकको आश, तर पूर्वाधार अभाव

२४ असोज, काठमाडौं । सन् २०१८ मा उत्तरी छिमेकी मुलुक चीनका १४ करोड ९० लाख पर्यटकले विश्वका विभिन्न मुलुक भ्रमण गरे । भ्रमणमा उनीहरुले ३१५ खर्ब रुपैयाँ (२७७ बिलियन डलर) खर्च गरेका थिए ।

यही अवधिमा चीनबाट एक लाख ५३ हजार ६०२ चिनियाँ पर्यटक नेपाल आएका छन्, जुन संख्या कुल चिनियाँ पर्यटकको ०.०१ प्रतिशत मात्र हुन आउँछ । त्यसो त यो अंक पनि सन् २०१७ को तुलनामा ४६.८ प्रतिशतले बढी हो । र, नेपाली पर्यटन क्षेत्रका लागि विश्वकै दोस्रो ठूलो स्रोत बजार चीन नै हो ।

‘पर्यटकीय दृष्टिकोणबाट चीन सबैभन्दा बढी सम्भावना बोकेको देश हो,’ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का पूर्वअध्यक्ष नवराज दाहाल भन्छन्, ‘एक त खर्चालु, अर्कोतर्फ ठूलो जनसंख्या एकसाथ घुमफिरमा निस्कन्छन् उनीहरु ।’

तर, जति ठूलो सम्भावना भए पनि नेपालले पर्याप्त संख्यामा चिनियाँहरुलाई आकर्षित गर्न सकेको छैन ।

अथाह सम्भावना

भारतपछि नेपालमा चीनका पर्यटकको संख्या सबैभन्दा धेरै छ । चीन बौद्ध धर्माबलम्बीको बाहुुल्यता भएको राष्ट्र हो । नेपाल शाक्यमुनि गौतम बुद्धको जन्मस्थल भएकाले पनि यहाँ ठूलो संख्यामा चिनियाँ पर्यटक भित्र्याउने सकिने सम्भावना छ ।

तर, त्यसका लागि आवश्यक प्रचारप्रसार र पूवर्धारहरु तयार हुन सकेको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएपछि चीनबाट आउने पर्यटकको संख्यमा तीव्र वृद्धि हुने आशा सरकारलाई छ ।

आगामी वर्ष सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेर तयारी अघि बढाएको सरकारले चीनबाट पनि लाखौंको संख्यामा पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यसका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणले पनि भूमिका खेल्ने विश्वास सरकारको छ । तर, पर्यटक बढाउनका लागि चीनसँग कस्तो एजेन्डा प्रस्तुत गर्ने भन्ने ठोस तयारी सरकारबाट भएको देखिँदैन ।

चीन विश्वकै सबैभन्दा बढी पर्यटक भ्रमणमा निस्कने देशको रुपमा चिनिन्छ । संख्याका हिसाबले मात्र होइन, खर्चका हिसाबले पनि चिनियाँ पर्यटक धेरै अगाडि छन् । यही कारण धेरैजसो मुलुकको ध्यान चिनियाँ पर्यटक आकर्षित गर्नेमा केन्द्रित हुन थालेको छ ।

हरेक वर्ष भ्रमणमा निस्कने चिनियाँहरूको संख्या बढिरहेको छ । सन् २००० मा विदेश घुम्ने चिनियाँ पर्यटकको संख्या १० लाख ५० हजार मात्रै थियो । सन् २०१९ मा आईपुग्दा यो संख्या १३ सय प्रतिशतले बढ्यो । यसको तुलनामा नेपाल आउने चिनीया पर्यटकको वृद्धिदर न्यून छ ।

‘सफ्ट एन्डभेन्चर’ काा सौखिन

खासगरी चिनियाँ पर्यटकको रोजाई काठमाडौंपछि पोखरा र लुम्बिनी हुने गरेको छ । पर्यटन बोर्डका अनुसार पोखराको साइट सिन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, त्रिशुलीको ‍र्‍याफ्टिङ, हल्का पदयात्रामा चिनियाँ पर्यटक रमाउने गरेका छन् । लुम्बिनीको दर्शन र भ्रमणमा पनि चिनियाँ पर्यटक आउँछन् ।

यसका साथै पछिल्लो समयमा चितवनको जंगल सफारीमा पनि चिनियाँ पर्यटकको आकर्षण बढ्दो छ । फिल्म, रियालिटी सो, सर्ट मुभी लगायत सुटिङका लागि पनि चिनियाँहरु आउने गरेका छन् । व्यवसायीका अनुसार चिनियाँ पर्यटक ‘लक्जरी टूर’ र ‘सफ्ट एन्डभेन्चर ट्राभल’ मन पराउँछन् । उनीहरुलाई हिमाल चढ्ने र पदयात्रा गर्नेमा खासै सोख हुँदैन । बरु चिल्लो सडकमा यात्रा गर्ने, ठूलाठूला होटेलमा बस्ने, खाने र रमाउने गरी समूहमा यात्रामा निस्कने गर्छन् ।

चिनियाँ पर्यटक आकर्षित गर्ने वातावरण बनाउन यस्तै प्रकारका पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँछन् नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीकपराज जोशी ।

‘अहिले नेपालमा पनि चिनियाँ पर्यटकको आगमन बढ्दैछ, अब नेपालले चिनियाँ पर्यटकबाट गज्जबको लाभ लिन कनेक्टिभिटीलाई बढाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।

विभिन्न समयमा उत्पन्न अस्थिर राजनीतिक घटनाक्रम र पटक–पटकको प्राकृतिक विपत्तिले पनि पर्यटकलाई नेपालमा आउन रोक्ने गरेको छ । भूकम्पपछि नाकाबन्दीले पनि पर्यटन क्षेत्रलाई थला पारेको थियो । यस्ता अवस्था बदलिएर अहिले नेपाली पर्यटन उद्योगले राहतको सास फेर्न थालेको जोशी बताउँछन् ।

पर्यटन व्यवसायीको भनाइमा पनि चिनियाँ पर्यटकका लागि नेपाल सबैभन्दा सजिलो र सस्तो गन्तव्य बन्न सक्छ । चिनियाँ पर्यटकको रमाउने गन्तव्य र गतिविधि नेपालमा धेरै भए पनि त्यसको बजारीकरण गर्न नसकिएको उनीहरुको गुनासो छ ।

नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दै नबढेको पनि होइन । सन् २००३ मा सात हजार पाँच सय ६२ चिनियाँ पर्यटक आएकोमा सन् २०१९ सम्म आइपुग्दा यो संख्या डेढ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को ६ महिनाको अवधिमा ८५ हजार ३ सय १८ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

निःशुल्क अनएराइभल भिसा

चिनियाँ पर्यटक नेपाल भित्र्याउनका लागि सबैभन्दा पहिला चीनका मुख्य सहरहरूमा कार्यालय स्थापना गरेर भिसा दिने व्यवस्था गर्नुपर्ने व्यवसायी बताउँछन् ।

नेपालले चीनका पर्यटकलाई निःशुल्क अनएराइभल भिसा दिने गरेको छ । सीईओ जोशीका अनुसार अनएराइभल भिसा दिने गरिए पनि धेरैजसो चिनियाँ पर्यटक भिसा लगाएर मात्रै नेपाल आउने गरेका छन् । त्यसका लागि अहिले बेइजिङको दूतावाससहित सांघाई, हङकङ ल्हासा र ग्वान्झाओमा मात्रै काउन्सिलर अफिस छन् ।

यस्ता कार्यालयहरु चीनका सबै प्रमुख शहरहरुमा विस्तार भएर भिसा लगाउनकै निम्ति चिनियाँ पर्यटकलाई टाढाको शहरमा पुग्नुपर्ने बाध्यता हट्ने बोर्डको भनाइ छ ।

कनेक्टिभिटीको समस्या

पर्यटन व्यवसायीका अनुसार तिब्बत आउने चिनिया पर्यटकलाई नेपाल भित्र्याउन सकिने प्रशस्त सम्भावना छ । त्यसका लागि हवाई, सडक तथा रेल कनेक्टीभिटी बढाउनुपर्ने उनीहरु बताउँछन् ।

तिब्बतको ल्हासा र पोतला दरबार हेर्नका लागि वर्षमै झण्डै २ करोड चिनियाँ आउँछन् । नेपालले तिब्बत भ्रमणमा आएका चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन पहल गर्नुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।

नेपाल र ल्हासाबीच सीधा हवाई सम्पर्क रहेको र सडक मार्ग हुँदै पनि नेपाल आउन सकिने हुँदा सरकारले यसतर्फ ध्यान दिनुपर्ने पर्यटन व्यवसायी सुमन पाण्डेको भनाइ छ ।

‘चिनियाँ पर्यटकलाई भित्र्याउन सडकमार्ग चुस्त र सहज बनाउनुपर्छ,’ उनले भने ।

तिब्बतसँग जोडिएका तातोपानी, रसुवागढी, कोरला, लामाबगर लगायत नाकाको स्तरोन्नति गर्न सकिए चीनबाट पर्यटक बढ्न सक्ने उनको तर्क छ ।

हाल तिब्बतको सिगात्सेसम्म आइपुगेको रेल सेवालाई नेपाली सीमा क्षेत्र केरुङसम्म ल्याउन नेपाल र चीन सहमत छन् । यसमा लगानीको बहस चलिरहेको छ । यो रेलमार्ग बनेमा पनि चीनबाट सोझै नेपाली पर्यटक नेपालमा सहज रुपमा आउन पाउनेछन् ।

पर्यटन बोर्डका सीईओ जोशी हवाई भाडा महंगो भएकाले पनि चिनियाँ पर्यटक अपेक्षित रुपमा बढ्न नसकेको बताउँछन् । उनले हवाई सञ्जाललाई विस्तार गरेर भाडा सस्तो हुने वातावरण तयार गर्न सकिए नेपाल आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने दावी गरे ।

उडान संख्या बढ्दै

गत साउन ११ मा पुनरावलोकन भएको हवाई सम्झौताअनुसार दुवै देशका वायुसेवा कम्पनीको प्रतिसाता उडान ९८ पु‍गेको छ । त्यसअघि प्रतिसाता अधिकतम ७० उडान गर्न पाउने प्रावधान थियो । हाल थपिएको २८ मध्ये ७ वटा उडान काठमाडौंमा दिन नेपाल सहमत भएको छ । २१ वटा उडान भने चिनियाँ जहाजले अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा मात्र गर्न पाउने छन् ।

उता, चीनमा भने नेपाली वायुसेवाका लागि १५ वटा विमानस्थलमा उडानको बाटो खुलेको छ । यसअघि ७ वटा विमानस्थलमा मात्र नेपाली कम्पनी जान पाउँथे । बेइजिङ, सांघाई, ल्हासा, ग्वाङझाउ, कुनमिङ, छेन्दु र सियान नेपाली वायुसेवा जान सक्ने गरी तोकिएका विमानस्थल हुन् ।

अब भने यी सातसहित थप ८ विमानस्थलमा नेपाली जहाज जान सक्नेछन् । ती ८ विमानस्थल वायुसेवा स्वयम्ले तोकेर उडानको अनुमति माग्न सक्ने गरी सम्झौता भएको छ । यसबाट नयाँ–नयाँ शहरमा गन्तव्य बिस्तार गर्नसमेत नेपाली वायुसेवा कम्पनीलाई बाटो खुलेको छ ।

यो सम्झौतापछि हिमालय एयरलाइन्स बेइजिङमा बनेको नयाँ एयपोर्टमा जाने गरी बल्ल अनुमति पाएको छ । नेपाल वायुसेवा निगमले पनि चीनको ग्वाङझाउ र बेइजिङमा उडान अनुमति मागेको छ ।

अहिले चीनबाट नेपालमा पाँच वटा वायुसेवा कम्पनी नेपाल आउँछन् । उनीहरुले काठमाडौंलाई चीनका विभिन्न चार शहरसँग जोड्छन् । ल्हासा, छेन्दु, कुनमिङ र ग्वाङझाउलाई चिनियाँ एयरलाइन्सले काठमाडौंसँग जोडिरहेका छन् ।

चीनबाट तिब्बत एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न र एयर चाइना नेपाल आउँछन् ।

चीनमा नेपाली राष्ट्रिय ध्वजावाहकले उडान नगर्दासम्म प्रशस्त पर्यटक भित्र्याउन नसकिने सरकारको पनि निश्कर्ष छ । चिनियाँ विमान कम्पनीले चर्को शुल्क असुल्ने हुँदा नेपाल गन्तव्य महँगो हुने गरेकाले त्यो एकाधिकार वायुसेवा निगममार्फत तोड्नुपर्ने पक्षमा नेपाल छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडीले छिटै चीनको बेइजिङमा उडान सुरु गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment