Comments Add Comment

सीको भ्रमणले नेपालको उचाइ बढ्छ : सुजाता कोइराला

२४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’

सीको नेपाल भ्रमणले देशको उचाइ ठूलो हुने उनको विश्वास छ । उनले भनिन्, ‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ ।’

रिपोटर्स क्लवले शुक्रबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले सी भारत हुँदै नेपाल आउन लागेको बताइन् । उनले भनिन्, ‘चिनियाँ राष्ट्रपति यतिवेला भारतमा हुनुहुन्छ, मोदीसँग उहाँको कुराकानी भइरहेको छ । सी र मोदीबीच राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाइदा हुन्छ । यसले नेपाललाई पनि सफल राष्ट्र बनाउन सक्छ ।’

उनले चिनियाँ राष्ट्रपति सी नेपाल आउनु धेरै रम्रो भएको बताउँदै विपीको पालादेखि चीनसँग मित्रता भएको सुनाईन् । नेपालीहरुले सबै कुरा बिर्सिएर विकासको कुरा गर्नु भनेको यसले एउटा ठूलो परिवर्तन ल्याउँदैछ भन्ने संकेत भएको पनि नेतृ कोइरालाको टिप्पणी छ ।

कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए । उनले भने,‘चीन हाम्रो छिमेकी, अत्यन्तै घनिष्ठ र भरपर्दो मित्र हो, चीनको राष्ट्रपतिको भ्रमण हुँदैछ, यो खुशीको कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment