Comments Add Comment

नेकपालाई सीका पाँच सन्देश

२६ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् ।

भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए ।

स्रोतका अनुसार भेटमा राष्ट्रपति सीले मुख्यतः पाँच वटा विषयमा जोड दिएका छन् ।

पहिलो : नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहनेछ ।

दोस्रो : नेपाल र चीनको सम्बन्ध राम्रो छ । र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ । दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी)को सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ ।

तेस्रो : चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ । यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ ।

चौथो : अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं । हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं । हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन ।

र, पाँचौं : नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन् । त्यसमा ध्यान दिनुपर्छ ।

गुणात्मक सहयोगको अपेक्षा गर्छौं : प्रचण्ड

राष्ट्रपति सीसँगको भेटमा नेकपा अध्यक्ष प्रचण्डले बोलेका थिए । उनले चीनसँगको सम्बन्धलाई आफ्नो पार्टीले महत्व दिने र राष्ट्रपतिको यो भ्रमणमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएको एक सचिवालय सदस्यले बताए ।

उनले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतालाई व्यवहारमा नै देखाउने समेत बताए ।

प्रचण्डले नेपाल विकासको बाटोमा अगाडि बढ्ने प्रयास गरेको भन्दै यसमा चीनले अहिले गर्दैर् आएको सहयोगमा गुणात्मक वृद्धिको अपेक्षा गरेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment