Comments Add Comment

काठमाडौंमा चीन र दक्षिण एसिया साहित्य सम्मेलन हुँदै

२७ असोज, काठमाडौं । चीन र दक्षिण एसियाका स्रष्टाहरू काठमाडौँमा भेला हुने भएका छन् ।

चीन तथा दक्षिण एसिया लिटरेचर फोरमको संस्थापक सदस्य नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजनामा यही मंगलबार देखि कात्तिक ३ गतेसम्म प्रज्ञा भवनमा आयोजना हुने दोस्रो चीन-दक्षिण एसिया साहित्य सम्मेलनमा चीन र सार्क मुलुकका स्रष्टाहरू भेला हुन लागेका हुन् ।

सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सका साहित्यकार भेला हुनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असोज २८ गते, बुधबार बिहान ९ : ३० बजे उद्घाटन हुने सम्मेलन पाँच दिनसम्म चल्ने छ ।

२८ गते साँझ विदेशी पाहुना स्रष्टाहरूको स्वागतमा प्रज्ञा भवनमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ ।

क्षेत्रीय रूपमा बहुपक्षीय महत्वका साहित्यिक एवम् सांस्कृतिकजस्ता प्राज्ञिक विषयमा सहकार्य गर्न दुई वर्षअघि ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ नामक निकाय स्थापना गरिएको थियो ।

चीन, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका समकक्षी प्रज्ञा-प्रतिष्ठानहरू एवं नेपाल प्रज्ञा-प्रतिष्ठानसमेत संस्थापक रहेको उक्त साहित्यिक निकायले क्षेत्रीय रूपमा भाषा, साहित्य, संस्कृति र वाङ्मयका समस्त विधाको विकासका लागि काम गर्ने उद्देश्य लिएको छ ।

साहित्यिक सार्कको अवधारणासहित तीन वर्षअघि नै यस क्षेत्रका सबै मुलुकलाई समेटेर साझा फोरम बनेको थियो ।

पहिलो सम्मेलन गत वर्ष चीनको छेन्दुमा आयोजना गरिएको थियो भने यसपटक नेपालको काठमाडौँमा आयोजना गर्न लागिएको हो ।

सम्मेलनको प्राज्ञिक सत्रमा नेपालबाट चार, चीनबाट चार, भारतबाट दुई, पाकिस्तानबाट दुई, बंगलादेशबाट दुई र श्रीलंका र माल्दिभ्सबाट एक/एक गरी १६ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment