Comments Add Comment

मन्थली र आसपासको क्षेत्रमा अभिशाप बन्दै रणजोर खोला

२८ असोज, रामेछाप । सदरमुकाम मन्थली बजारसँग जोडिएर बग्ने रणजोर खोलाले मन्थली र आसपासको क्षेत्रको कृषि योग्य र बहुमूल्य जग्गामा वर्षेनी क्षती पुर्‍याउने गरेको छ । रणजोर खोला मन्थली र आसपासको क्षेत्रको लागि अभिसाप भएको छ ।

मन्थली नगरपालिका-३ घ्याप्चे शीर भएर बहने रणजोर खोलाले मन्थली नगरपालिकाको वडानम्बर-३ कठजोरको अर्चले, ४ सालुको गैराथोक, ५ को सुनारपानी र १ को मन्थली क्षेत्रमा ठूलो क्षती पुर्‍याएको छ ।

रणजोर खोलाको शीर घ्याप्चेमा ठूलो पहिरो गएको छ । उक्त भीरमा हिउँदभर सुक्खा पहिरो गएर ढुङ्गा माटो जम्मा हुन्छ । वषर्ा लागेपछि खोलमा पानी हैन ढुंगा र माटोको लेदो बग्छ । जसले गर्दा खोलाले आसपाका खेत पुरेर बगर बनाएको छ ।

रणजोर खोलामा वर्षाको समयमा संङ्लो पानी बग्न छाडेको वर्षौ भइ सकेको स्थानीय कृषक लोकबहादुर श्रेष्ठ बताउँछन् ।

रणजोर खोलाले सालु, अर्चले र सुनारपानीको किनारमा रहेका खेतहरु सबै पुरेको छ । सालुको गैरा थोकमा घ्याप्चेकै परिहोको कारण सयौँ रोपनी जमीन बगेको छ ।

ठाउँठाउँमा जमीन फाटेर बग्न ठिक्क परेको स्थानीय बताउँछन् । जमीन बग्दै जाँदा स्थानीयहरु विस्थापित हुने क्रम बढेको छ ।

खोलाले माथिल्लो क्षेत्रको जमीन पुरेपछि अहिले मन्थली बजार नजिकैको भैसेसुर, राक्से, बरबोटे, कोमलटार लगायतको क्षेत्रमा जोखिम बढेको छ ।

मन्थली बजार प्रवेश गर्ने रणजोर खोलाको पक्की पुलको आसपासमा बस्ती विस्तार भएपछि खोलाले अझ बढी क्षती पुर्‍याएको छ । जसले गर्दा रणजोर खोलाको पक्की पुलसमेत जोखिममा परेको नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बताए ।

रणजोर खोलाको पक्की पुलभन्दा माथिको भागबाट खोलाले सडक फोरेर बजार पट्टीको भागमा पस्ने खतरा बढ्दै गएको मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले बताए । त्यसैले यस वर्ष खोलाको सतहलाई खोलेर खोला गहिर्‍याउने योजना नगरपालिकाको रहेको उनले बताए ।

यस वर्ष मात्रै मन्थलीमा खोलाको दुवैतर्फ रहेको खेतीयोग्य जमीनमा किसानले लगायएको धान खेत पुरिदिएको छ । यस वर्षको बाढीले मन्थली आसपासको पाँच सय रोपनीभन्दा बढीे खेत बगरमा परिणत भएको छ ।

रणजोर खोलामा आएको बाढी राक्से फाँटको धानखेतबाट पसेर सुकाजोर खोलामा मिसिएको छ ।

रणजोर खोलाको नियन्त्रण गर्न नसक्दा वर्षेनी खेतीयोग्य जमीन कटान गर्दै आएको छ । खोला नियन्त्रणको नाममा राज्यबाट समयसमयमा रकम आएको भए पनि त्यो रकमको उपयोग भन्दा पनि दुरुपयोग भएको स्थानीय कृषकहरुको गुनासो छ ।

यस वर्षमात्रै मध्य वर्षामा सिँचाइ डिभिजन कार्यालयले रणजोर खोलाको पुल नजिकै केही मिटर जाली लगाएको थियो तर त्यसले खोला नियन्त्रण भन्दा पनि थप क्षति पुर्‍याएको छ ।

आसपासका जग्गा जोगाउनका लागि विगतमा रणजोर किनारमा जथाभावी तारजाली लगाउँदा खोलाले क्षेत्र विस्तार गर्दै गएको छ । आफ्नो जग्गा जोगाउने बहानामा खोला अर्कातिर फर्काउने प्रचलनले खोलाले दुवै किनारमा ठूलो क्षती पुर्‍याएको छ ।

खोलाको बगरमा जथाभाबी माटो थुपार्ने कार्यले पनि खोलाले थप क्षती पुर्‍याएको छ । रणजोर खोलालाई नियन्त्रण गर्न नसक्ने हो भने मन्थली बजारको लागि नै अभिशाप बन्ने खतरा रहेको स्थानीयवासीको चिन्ता छ ।

– नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment