Comments Add Comment

यो वर्षको भाइटीकामा पनि रानीपोखरी नखुल्ने

२९ असोज काठमाडौं । भाइटीकाको दिन मात्रै खुल्ने रानीपोखरीको बाल गोपालेश्वर महादेव मन्दिर विगतका ४ बर्षको जस्तै यस बर्ष पनि नखुल्ने भएको छ ।

भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीभित्र रहेको बालगोपोश्वरको मन्दिर र पुलकोे पुनर्निर्माण नसकिने भएकाले यस बर्षको तिहारमा पनि बालगोपालेश्वर नखुल्ने भएको हो ।

बालगोपालेश्वर मन्दिर मात्रै भए पनि तिहारअघि खुलाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयारी गरे पनि मन्दिर र पुलको काम अझै ४० प्रतिशत बाँकी रहेको छ ।

प्राधिकरणले यसअघि नै रानीपोखरी पुनर्निर्माण गरिरहेको सीए तुलसी कन्ट्रक्सनलाई तिहारअघि मन्दिर र पुल खुलाउने गरी काम गर्न आग्रह गरेको थियो ।
तर कम्पनीका साइट इजिनियर सनम श्रेष्ठले भने दशैको विदाको कारण काम रोकिएकाले पनि तिहारअघि काम सक्न गाह्रो हुने बताए । मन्दिरको लागि चाहिने वास्तुकला भक्तपुरमा बनाउन दिएको र तयार नभएको उनको भनाइ छ ।

‘तिहार आउन सात दिन पनि बाँकी छैन तर काम भने एक चौथाइ पनि भएको छैन, तिहारसम्म पुरानो पुल भत्काइसक्छ होला नयाँ पर्खाल लगाउने काम भइरहे पनि पुरै पर्खाल लगाइसक्दैन होला, मन्दिरको त भखरै जग राख्ने काम भएको छ।’ श्रेष्ठले भने ‘पुल नै नबनाई कसरी मन्दिरमा पुग्न सकिन्छ र ? यो तिहारमा सम्भव छैन ।’

बालगोपालेश्वर मन्दिरसम्म पुग्ने पुलको काम भने ६० प्रतिशत सकिएको छ । इन्जिनियर श्रेष्ठका अनुसार कामदारहरु दशैं मान्न घर गएकाले रानीपोखरी पुनर्निर्माणको काम ५ दिनसम्म रोकिएको थियो ।

प्राधिकरण भन्छ – तिहारअघि खुलाउन सम्भव भएन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बालगोपालेश्वरको मन्दिर तिहारमा खुलाउने प्रयास गरे पनि सम्भव नभएको बताए । उनले यसअघिको बर्षमा जस्तै यस बर्षको भाइटीकाको दिन बालगोपालेश्वरको मुर्तिलाई रानीपोखरी बाहिर राख्ने बताए ।

एक बर्षभित्रमा पोखरी र बालगोपालेश्वरको मन्दिरको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएको थियो ।

बालगोपालेश्वर मन्दिरको निर्माण तिहार अघिसम्म सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सीए तुलसी कन्ट्रक्सनलाई गत असार अन्तिम सातामात्रै ठेक्का दिएको थियो ।

कम्पनीलाई मन्दिर, पुल र पोखरी वरिपरि बगैचाको काम २०७७ वैशाखसम्म सक्ने गरी ठेक्का दिइएको हो । शिखर शैलीमा बन्न लागेको बालगोपालेश्वर मन्दिरको जग उठाउन अझै केही दिन लाग्ने भएको छ ।

मन्दिरसम्म जाने पुल भत्काएर नयाँ गाह्रो लगाउन सुरु गरेको छ । पुलको जगमा भने प्रताप मल्लकै पालाको इँटा प्रयोग गरिएको छ ।

तिहारमा आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीमा गई टीका लगाउने गर्छन् । उनीहरुले यसअघिका बर्षहरुमा भने रानीपोखरीको बाहिर बसेर टीका लगाएका थिए ।

यस बर्ष पनि त्यसरी नै टीका लगाउनुपर्ने अवस्था आएको ललितपुर एकान्तकुनाका गोपाल न्यौपानेले बताए । उनले आफनो दिबिहिनी नभएकाले हरेका साल भाइटिकाको दिन टिका लगाउने आउने गर्छन् । ‘यो बर्ष त बन्छ होला भन्ठानेको खै यसपालि पनि टीका लगाउन पाइएका जस्तो छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment