Comments Add Comment

साम्राज्ञीले फरक भूमिका गरेका फिल्म नै किन चिप्लिए ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका हामीले यहाँ २ वटा अन्र्तवार्ता प्रस्तुत गरेका छौ । एउटा, उनले चलचित्र ‘मारुनी’को प्रचारका क्रममा र अर्को उनले चलचित्र ‘रातो टिका निधारमा’को प्रचारका क्रममा अनलाइनखबरसँग कुराकानी गरेकी थिइन् ।

दुबै कुराकानीमा साम्राज्ञीको एउटा कुरा मिल्दो थियो । त्यो के थियो भने, उनले यी दुई चलचित्रमा पाएको भूमिकालाई करिअरको आजसम्मको उत्कृष्ट भनेकी थिइन् ।


‘मारुनी’मा यूवकबाट यूवती बनेकी थिइन् साम्राज्ञी भने ‘रातो टिका निधारमा’मा देशमै केही गर्नुपर्छ भन्ने एकल महिलाको भूमिका थिइन् उनी । यसअघि बारम्बार प्रेमिकाको भूमिकामा नै सिमित रहेको भन्ने आरोप उनी यसपटक हटाउन चाहन्थिन् । जसकाकारण, यी दुई चलचित्रको भूमिकाले उनलाई पक्कै पनि उत्साहित बनाएको हुनुपर्छ ।

तर, दुबै चलचित्र रिलिज भैसकेपछि साम्राज्ञीको चलचित्र माहोल भने बदलिएको छ । यसपटक, उनका लागि दुबै चलचित्रले फरक भूमिका त दिए, तर खुशी दिन सकेनन् । किनकी, दुबै चलचित्रले हलमा दर्शक तान्न सकेनन् । इनिसियल रुपमा त दुबै चलचित्र असफल बनेका हुन् । ‘मारुनी’मा उनले गरेको कामको चर्चा केही मात्रमा भए भने ‘रातो टिका निधारमा’बाट उनले कामको क्रेडिट पनि लैजान सकिनन् ।

दुबै चलचित्रका निर्माताले साम्राज्ञीलाई चर्को पारिश्रमिक दिएका थिए । उनीहरुलाई आशा थियो, इनिसियल व्यापार उनको नाममा राम्रो हुनेछ । तर, दुबै निर्माताको यो सोच गलत भयो ।

दुबै चलचित्र असफल हुँदा साम्राज्ञीको करिअरमा असर पक्कै पनि गर्नेछ । अर्कोतिर, उनलाई निर्माताले १६ लाखसम्म पारिश्रमिक दिएका थिए । अब, अन्य निर्माताले उनलाई यति नै वा यो भन्दा बढी रकम देलान् या नदेलान् भन्ने पनि कौतुहलता चलचित्र क्षेत्रमा छ ।

तर, साम्राज्ञीले फरक भूमिकामा काम गरेका चलचित्र चिप्लदा प्रश्न भने उठेको छ । आखिर, साम्राज्ञीले सबैभन्दा बढी आशा गरेको चलचित्रप्रति नै दर्शक आशावादी किन नभएका होलान् ?

यसको पछाडि उनको एकपछि अर्को गर्दै आएको विवादित तस्वीर, बयान त कारण छैन । कतै साम्राज्ञीको व्यक्तिगत चर्चाले उनको करिअरलाई असर गरेको त होइन ? यस बिषयमा उनी आफैले पनि गम्भिर भएर सोच्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment