Comments Add Comment

नेपाल–बंगलादेश व्यापार वार्ताका लागि टोली गठन, यस्ता छन् छलफलका एजेन्डा

३० असोज, काठमाडौं । सरकारले नेपाल–बंगलादेश दुई देशीय व्यापार बैठकका लागि नेपाली प्रतिनिधि मण्डलको टुंगो लगाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

कार्तिक ५ र ६ गते काठमाडौैंमा बस्ने बैठकका लागि बंगलादेशबाट ७ सदस्यीय टोली नेपाल आउँदैछ । बंगलादेशी टोलीको नेतृत्व वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खानले गर्ने छिन् । दुई दिने बैठकमा नेपालले बंगलादेशसंग सात एजेण्डाका १४ बुंदामा छलफल गर्ने मस्यौदा गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।

‘नेपालको एजेण्डा बंगलादेश सरकारलाई पठाइएको छ र उनीहरुले आफ्नो एजेण्डा पनि नेपाल पठाएपछि बैठकको एकीकृत छलफलको बुँदा तय हुने छ,’ प्रवक्ता भट्टराईले भने ।

नेपालले अघि सारेका एजेण्डा

बाणिज्य मन्त्रालयले बंगलादेशसँग सातवटा एजेण्डामा छलफल गर्ने प्रस्ताव गरेको छ । तेस्रो बैठकको प्रगति समिक्षा गर्दै नेपाल–बंगलादेश मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे छलफल गर्न नेपालले चाहेको छ ।

यस्तै ढाका–काठमाडौं बस सेवा सञ्चालनको विषय पनि बैठकमा उठ्ने छ । कृषि विभाग, मन्त्रालय अन्र्तगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको समकक्षी विभाग बीच खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाईनका सम्बन्धमा आपसी समझदारी गर्ने विषय पनि नेपालको छलफलको एजेण्डा हो ।

नेपालबाट बंगलादेश निर्यात हुने औषधीजन्य वस्तुको भन्सार महशुल लाग्ने र नलाग्ने दर्ता प्रक्रिया सहजीकरण गर्न, कृषि र औद्योगिक उत्पादन शून्य भन्सारमा बंगलादेश प्रवेशको माग पनि नेपाली पक्षले छलफलमा राख्नेछ । नेपाल र बंगलादेशबीच आन्तरिक जलमार्गबाट व्यापार तथा पारवहान सम्भाव्यता, लगानी बृद्धि, पर्यटन प्रर्वधनका विषय पनि बैठकका एजेन्डा हुन् ।

बैठकमा बिराटनगर तथा भद्रपुरबाट सियादपुर÷रङ्गपुरसंग हवाई सञ्जाल जोड्न सकिने सम्भावनाबारे पनि छलफल हुनेछ । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधार विकास पनि बैठकको एजेण्डा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment