Comments Add Comment

जेलबाट छुटेका कैदीजस्तै एनआरएन प्रतिनिधि

प्रधानमन्त्री खड्गप्रसाद ओलीले एकताका भनेका थिए, नेपालीले चान्स पायो भने गर्छ । यो कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभूमिमा एनआरएन सम्मेलनमार्फत पुष्टि गरिदिए ।

विदेशमा बस्दा कडा अनुशासनमा बस्नु परेकाहरु नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीहरुझैं देखा परे र त्यस्तै व्यवहोरा देखाए । उनीहरु मातृभुमिको भौतिक सम्पत्ति तोडफोड गर्नेदेखि हुलदंगासम्म उत्रिए, जसले गर्दा विदेशमा बस्ने ८० लाख नेपालीहरुले लज्जित हुनु परेको छ ।

आफूहरु विदेशमा बस्दा विदेशको उदाहरण दिँदै नेपालभित्रको बेथिति, अनुशासनहीनता, अन्याय, अत्याचार र भ्रष्टाचारबारे सामाजिक सञ्जालमार्फत चर्को आलोचना गर्नेहरुले विदेशमा बसेर चाँही के सिकेछन् भन्ने प्रश्न उठेको छ ।

एनआरएनको नवौं सम्मेलनमा विभिन्न देशबाट नेपाल गएका प्रतिनिधिहरुले देखाएको तमासा लाजमर्दो, अमर्यादित र निन्दनीय छ । यस घटनाले कुकुरको पुच्छर १२ बर्ष ढुंग्रोमा हाले पनि बांगाको बांगै भनेझैं बिदेशमा जति वर्ष बसे पनि नेपालीहरुको बानी व्यहोरा जस्ताको त्यस्तै देखायो ।

एनआरएनहरुले आफूसँग भएका बौद्धिक योग्यता, सीप, दक्षता, क्षमता देशहितका लागि किन प्रस्तुत गर्न सकेनन् चिन्ताको विषय छ । किन आर्थिक सहयोग गर्न सकेनन् विपन्न परिवारलाई ? सोचनीय छ । के यसैका लागि नेपाल छनोट गरिएको हो सम्मेलनका लागि ? जाबो एउटा विद्युतीय भोटिङ्ग मेसिनसमेत व्यवस्था गर्न सकेन एनआरएनले ।

हुन त पदविना भोक, प्यास, निन्द्रासमेत नलाग्ने केही नेपालीहरु विदेशमा पहिलो पाइला टेक्नेबित्तिकै संघ संगठन खोल्नतिर लाग्छन् । २/३ घर नै किन नहोस्, उनीहरु एउटा न एउटा नाम दिएर संस्था खोलिहाल्छन् । जातिका नाममा, भाषाका नाममा, जिल्लाबासीका नाममा, पार्टी विचारधारका नाममा मात्रै हैन कि पछिल्लो समयमा एउटै थरका नाममा समेत संस्था खोलिन थालेका छन् । तर, बिडम्वना सबै नेपाली अटाउने साझा संगठन अझैसम्म खोलिएका छैनन् ।

१६ वर्ष अगाडि स्थापना भएको एनआरएन चाँही विगतमा साझा हो कि जस्तो थियो । तर, अहिले आएर त्यो पनि भ्रम रहेछ । राजनीतिक आस्था भएकाहरुले एनआरएनभित्र उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि आम गैरआावासीय नेपालीहरुमा वितृष्णा जाग्दैछ ।

यसरी राजनीतिक आस्था भएकाहरुले उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि के फरक रह्यो र कांग्रेसको जनसम्पर्क समिति, कम्युनिष्टको प्रवासी नेपाली मञ्च तथा एनआरएनमा ?

विदेशमा आएको लामो समय भए पनि नेपालको नशाबाट नउत्रिएकाहरुले आफ्नो श्रमलाई ढाकछोप गर्दै नेपालमा झैं आफूलाई सञ्चारकर्मी, पत्रकार, कलाकार, साहित्यकार, पार्टीको पदाधिकारी सम्झिएर एनआरएनमा सक्रिय भएपछि एनआरएन यस्तो अवस्थामा आएको हो भन्दा अत्युक्ति नहोला ।

यसरी राजनीतिक पार्टीका झुण्डहरु बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनप्रति सबैको वितृष्णा जाग्नु त स्वाभाविक नै हो । कतै त्यही तत्वहरुले एनआरएनलाई मागीखाने भाँडो त बनाइरहेका छैनन् ? अहिले ठूलो प्रश्न चिन्ह खडा भएको छ एनआरएनमा लाग्नेहरुका लागि ।

यसरी आफ्नो हैसियत र क्षमता भुलेर हावा तालमा नेपालका राजनीतिक पार्टीका पछाडि लागेर सपनाको महल बनाउन तल्लीन एनआरएनप्रति विदेशमा बस्ने आम नेपालीहरुको खास चासो छैन । एनआरएनप्रति विदेशमा बस्ने नेपालीहरुको मात्र हैन कि नेपालमा रहेका नेपालीहरु र सरकारले पनि चासो दिएका छैनन्, जुन पुष्टिसमेत भैसकेको छ । यदि चासो दिएको हुन्थ्यो भने चिनियाँ राष्ट्रपति आउँदा बनाइएको तीनदिने विकासलाई १० दिने बनाउन सकिन्थ्यो । चिनियाँ राष्ट्रपतिको विदाइसँगै सडकका दायाँ-बायाँ रहेका सजावट हटाइने थिएन ।

राष्ट्रपतिले कार्यक्रम उदघाटन गर्नुमात्रै ठूलो उपलब्धी हैन । आफ्ना घरका पाहुना आउँदा स्वागत गर्न कन्जुस्याइँ गर्नेहरुले भोलि भिजिट नेपाल २०२० कसरी सफल पार्लान् ? त्यो पो चिन्ताको विषय भएको छ ।

-भर्जिनिया, अमेरिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment