Comments Add Comment

हिन्दु धर्मको २१ नरक : कुन गल्तीमा भोग्नुपर्छ कस्तो सजाय ?

हिन्दु धर्ममा कुनैपनि नराम्रो कामको फल यो जन्ममा मात्रै होईन । मृत्युपछि पनि भोग्नुपर्छ भन्ने मान्यता छ । विभिन्न धर्मशास्त्रहरुले हाम्रो सत् र असत् कामको आधारमा मृत्युपछि स्वर्ग वा नर्क जाने भन्ने निधो गर्ने अवधारणा प्रस्तुत गरेका छन् । राम्रो काम गर्नेहरु स्वर्गमा गएर पर्याप्त सुख सुविधाको भोग गर्न पाउँछन् भने यो लोकमा नराम्रो काम गर्नेहरुले पछि दुख पाउँछन् भन्ने धार्मिक मान्यता छ । सोही मान्यताको आधारमा स्वर्ग र नर्कलाई पनि विभिन्न चरणहरुमा वर्गीकरण गरिएको छ ।

धार्मिक मान्यता अनुसार स्वर्ग र नर्कमा पनि स्थायी रुपमा जाने चाहिँ होईन । सत्कर्म गर्नेहरु आफ्नो सत्कर्मको फल हुन्ज्याल स्वर्गमा भोगबिलास गरेर बस्छन् । नराम्रो काम गर्नेहरु पनि नराम्रो कामको फल नर्कमा भोगेर फर्किने गर्छन् । हिन्दु धर्मशास्त्रहरुले विभिन्न किसिमका नराम्रा कामहरु गर्ने दुराचारीहरुको लागि २१ किसिमका नर्कको ब्याख्या गरेको छ । नरक कतिवटा छन् भन्ने बारेमा पनि एक मत भने पाइँदैन । यद्यपि धेरैले मानेको आधारमा हामीले पनि २१ किसिमको नर्कको व्याख्या गरेका छौं । जसमा नरकको नाम, के गल्ती गर्दा पुगिन्छ सो नर्कमा र कस्तो सजाय पाइन्छ ? भन्ने कुराहरु उल्लेख हुन्छन् ।

विभिन्न २१ किसिमका नरकहरुको नाम

१. तामिस्र

यो नर्क एकदमै अन्धकारमय, खानको लागि अन्न जलको पनि व्यवस्था नभएको, बारम्बार त्यहाँका सिपाहीहरुले दण्डित गरिरहने र भय देखाईरहने खालको हुन्छ । यो नरकमा जानेहरु पिडा सहन नसकेर बारम्बार मुर्छित भइरहन्छन् । फेरि सामान्य अवस्थामा आएपछि फेरि पिडा भोग्न थाल्छन् । जो मनुष्यले अर्काको धन, सन्तान अथवा स्त्री हरण गर्छ त्यस्ता व्यक्तिहरु यो नर्कमा जाने विश्वास गरिएको छ ।

२. अन्धतामिस्र

जसले अर्कालाई धोका दिएर उसकी पत्नीको भोग गर्छ । त्यस्ता मनुष्य अन्धतामिस्र नामक नरकमा र्झछ भन्ने मान्यता छ । त्यो नरकमा पुगेपछि जराकाटेको वृक्षलाई जस्तै तड्पाउने गरिन्छ । यो नरकमा पनि अपराधीहरुलाई यति धेरै यातना दिइन्छ कि उनीहरु पनि कठोर यातनाको कारणले सुझबुझ हराएको मानिस जस्तै बन्ने गर्छन् ।

३. रौरव

जो मनुष्य यो लोकमा हुँदा सबैकुरा म र मेरोमा मात्रै सीमित गर्छ । त्यो मानिस यस्तो नरकमा जाने गर्दछ । ‘यो शरीर म हुँ र स्त्री धनादि सबै मेरो हो’ भन्ने भ्रम पालेर प्राणीहरुसँग ऽोह गर्ने एवं आफ्नो परिवारलाई मात्रै पालन पोषणमा लागिरहनेहरु यो नर्कमा पर्छ । यो नर्कमा गएपछि मत्र्य लोकमा हुँदा उसले अरुलाई जस्तो यातना दिएको थियो । त्यस्तै यातना भोग्ने गर्दछ ।

४.महारौरव

यस्तै, महारौरव नामक नरक अरुको हत्या हिंसा गर्नेहरुको लागि हो । जो आफ्नो स्वार्थको लागि अरुको हत्या हिंसा गर्ने गर्दछ । उनीहरुलाई यो नरकमा लैजाने गरिन्छ ।

५. कुम्भीपाक

महारौरव नामक नरकमा जस्तै जो क्रुर मनुष्य यो लोकमा आफ्नो पेटपाल्नकै लागि जीवित मानिस, पशु या पक्षीहरुलाई मारेर खान्छ । त्यो दयहीन मानिसलाई यमदूत कुम्भीपाक नरकमा लैजान्छन् । यहाँ उम्लिँदै गरेको तातो तेलमा डुबाएर उनीहरुलाई यातना दिइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

६. कालसूत्र

जो मानिसले यो जन्ममा आफ्नो आमाबाबुलाई दुख दिएको छ । त्यस्ता व्यक्तिहरु कालसूत्र नामक नरकमा जान्छन् । त्यो नरकको क्षेत्र दस हजार योजनको हुन्छ । यो तामाबाट बनेको हुन्छ । माथिबाट सूर्य र तलबाट अग्नि प्रज्वलित भएकोले सो भूमि एकदमै तातो हुन्छ । त्यहाँ पुगेपछि भोक र प्यासले व्याकुल भएको मानिस बाहिर र भित्रैदेखि एकैपटक जल्न सुरु गर्छ । त्यहाँ पुगेका मानिस कहिले सुत्ने, कहिले उठ्ने, कहिले बस्ने, कहिले छटपटाउने गर्नथाल्छ भन्ने मान्यता छ ।

७. असिपत्रवन

जो व्यक्ति कुनै प्रकारको आपत्ति नआउँदा पनि आफ्नो वैदिकमार्गलाई छोडेर अन्य पाखण्डपूर्ण कार्यको आश्रय लिन्छ । त्यसलाई यमदूतहरुले असिपत्रवन नामक नरकमा लैजान्छन् भन्ने मान्यता छ । त्यो नरकमा पुर्‍याएपछि अत्यन्त वेदनाले चिच्याएर ऊ मरितुल्य भएर लड्ने गर्दछ ।

८. सूकरमुख

यो लोकमा जसले निरपराधी मनुष्यलाई दण्ड दिन्छ, अथवा सत्कर्मीलाई शरीरदण्ड (मृत्युदण्ड) दिन्छ । त्यो व्यक्ति मरेर सूकरमुख नामक नकरमा र्झछ । त्यहाँ महाबली यमदूतले उखु निचोरेर रस निकालेजस्तै गरी सजाय दिन्छन् भन्ने मान्यता छ । जसरी यो लोकमा उसले सजाय दिएको निरपराधी रुने कराउने गर्दथे । त्यस्तैगरी आर्तस्वरले ऊ पनि रुने कराउने गर्दछ ।

९. अन्धकूप

जोे मानिस यो लोकमा असहाय र अहिंस्रक जीवहरुको हिंसा गर्छ । त्यो व्यक्ति अन्धकूप नामक नरकमा र्झछ भन्ने विश्वास छ । त्यहाँ त्यो व्यक्ति पशु, मृग, पक्षी, सर्प आदि विषधारी जन्तुको आक्रमणलाई सहेर बस्नुपर्छ ।

१०. तप्तमूर्ति

जो पुरुष यो लोेकमा अगम्या स्त्रीको साथ सम्भोग गर्छ अथवा कुनै स्त्री अगम्य पुरुषदेखि व्यभिचार गर्छे भने उनीहरु मरेपछि त्यसलाई यमदूत तप्तूर्ति नामक नरकमा जान्छन् । उनीहरुलाई फलामको तताएको लठ्ठीले पिटिन्छ भने पुरुष वा स्त्री दुबैलाई जलेर रातो भएको फलामको मानवरूपी मूर्तिसँग आलिंगन गर्न लगाईन्छ ।

यस बाहेक पनि कृमिभोजन, सन्देश, वज्रकण्टक शाल्मली, वैतरणी, पूयोद, प्राणरोध, विशसन, लालाभक्ष, सारमयोदान, अवीचि, अयपान गरी २१ नरकमा विभिन्न अपराध गर्ने अपराधीहरुलाई लगिन्छ भन्ने मान्यता छ । यसका अतिरिक्त पनि क्षारकर्दम, रक्षोगणभोजन, शूलप्रोत, दन्दशूक, अवटनिरोध, पर्यावर्तन, सूचीमुख गरी अन्य सात प्रकारका नर्कहरु समेत रहेको बताइन्छ । तर, माथि उल्लेख गरिएको २१ प्रकारको नर्कलाई नै मुख्य मान्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment