Comments Add Comment

नेपाली अधिकारीलाई भारतमा सम्पत्ति शुद्धीकरणको तालिम

५ कात्तिक, काठमाडौं । ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी नेपाली अधिकारीहरुको दोस्रो समूहको प्रशिक्षण भारतमा सुरु भएको छ ।

भारतको बैंगलोरस्थित नेशनल एकाडेमी अफ कस्टम्स, इन्डाइरेक्ट ट्याक्स एण्ड नारकोटिक्स (एनएसीआईएन)मा नेपाली अधिकारीहरुको दोस्रो समूहको प्रशिक्षण सुरु भएको हो । दोस्रो समूहका प्रशिक्षणमा १८ नेपाली अधिकारीहरु छन् ।

२० नेपाली अधिकारीहरुको पहिलो समूहको ६ दिने प्रशिक्षण २०७६ भदौ ७ गते सम्पन्न भएको थियो । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसिर-पुस महिनादेखि प्रशिक्षण सुरु गर्नेछन् ।

नेपाल सरकारको अनुरोधमा ६० जना कर्मचारीहरुलाई भारत सरकारले प्रशिक्षण दिने कार्यक्रम छ ।

यो प्रशिक्षणमा भारतीय विदेश मन्त्रालयले प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढंगबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण क्षेत्रमा बैंगलोरस्थित नेशनल एकाडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेस एण्ड नारकोटिक्स भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो । यो एशिया प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो ।

भारतले विभिन्न विषयमा नेपालका कर्मचारीहरुलाई तालिम दिँदै आएको छ । गत वर्षको माघ महिनामा पनि भारत सरकारले अर्थ मन्त्रालयका कर्मचारीहरुलाई वित्त व्यवस्थापनसम्बन्धी तालिम दिएको थियो ।

यो पनि पढ्नुहोस भारत सरकारको सहयोगमा अर्थका कर्मचारीलाई तालिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment