+
+
Shares

बालबालिकाका निम्ति युट्युबमा वर्णमाला

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १४:३६

५ कात्तिक, काठमाडौं । नेपाली भाषामा केटाकेटीहरूका निम्ति मौलिक र स्तरिय बालरचनाहरूको अभावलाई ध्यानमा राखेर नेपालयले बालबालिका निम्ति बाल रचनाहरू निर्माण गर्न शुरु गरेको छ । नेपालभित्र र विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकाहरूमै समर्पित हुनेगरि यो काम नेपालयले अघि बढाएको हो ।

यस्ता गीतहरूमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्नेगरि बाह्रखरि, अंकगणितसँगै विविध विषय समेटिएका छन् ।

बालबालिकाको मनोभावलाई सुहाउनेगरी बालरचनाहरू संगीतकार आभासले रचना गरेका छन् । ‘आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतहरूको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उनले पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीतहरु तयार पार्नसक्ने अनुरोध गरेको थिएँ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नभन्दै केही महिनामै उनले वर्णमालामा आधारित गीतहरु नै तयार पारिदिए ।’

किरणका अनुसार यस्ता बालगीतहरूलाई पुस्तकाकारमा पनि पब्लिकेशन नेपालयले तयार पारेर सर्वत्र उपलब्ध गराउने तयारी रहेको जानकारी गराएका छन् ।

आभासले केटाकेटीका निम्ति त्यस्ता शिक्षाप्रद र रमाइला गीतहरूको सेटै केही समयमा तयार पारिसक्ने जानकारी दिएपछि नेपालयले यसतर्फ काम अघि बढाउन थालेको थियो । आभासले विविध विषय समेटिएका झण्डै ४० वटा बालगीत तयार पारिसकेका छन् । तिनलाई क्रमशः कार्टुन चलचित्रसहित ‘नेपाली बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गरिने कुरा नेपालयले जानकारी गराएको छ ।

आभासले तयार पारेका वर्णमालाका गीतमा गायिका मिना निरौला र बेनुका राईले स्वर दिएका छन् । निकट भविष्यमै ‘स्वर माला’ पनि सार्वजनिक हुने जानकारी उत्पादक संस्था नेपालयले गराएको छ । स्वर मालालाई रमाइलो बनाउने उद्देश्यले आभासले ‘अक्कलमान’ नामको चरित्र उभ्याएका छन् जसलाई उनी स्वयंले गाएका छन् ।

नेपालयले यसरी तयार भएका प्रारम्भिक सिर्जनाहरू युट्युब र सामाजिक सञ्जालहरूमा ‘नेपाली बाल रचना’को नामले उपलब्ध गराउने जानकारी ६ महिनाअघि नै गराइसकेको थियो  ।

आभासले अलिक अगावै तयार पारेका यस्ता केही बालगीतहरुलाई ललितपुरको डिएभी स्कुलस्थित सभाकक्षमा आयोजित पलेँटी उत्सवका बेला प्रस्तुत पनि गरेका थिए । त्यसैगरी आफैँले संयोजन गर्दै आएको पलेँटी श्रृंखलामा पनि आभासले ती गीतको झलक सुनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?