Comments Add Comment

नेपालमा ५० हजारभन्दा बढी ट्रेडमार्क दर्ता

५ कात्तिक, काठमाडौं । पछिल्लो दश वर्षमा नेपाली र अन्तर्राष्ट्रिय गरी २० हजारभन्दा धेरै ट्रेडमार्क उद्योग विभागमा दर्ता भएका छन् । अघिल्लो वर्ष मात्रै नेपाली १२ सय ५६ र विदेशी ११ सय ७५ गरी २४ सय ३१ वटा ट्रेडमार्क दर्ता भए ।

विभागका अनुसार आर्थिक वर्ष ०६५/०६६ सम्म नेपालमा २९ हजार ३३७ वटा ट्रेडमार्क दर्ता थिए । त्यो संख्या अहिले ५० हजार नाघेको छ । ब्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महत्व र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको क्रम बढेको उद्योग विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्का बताउँछन् ।

कुनै उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनको लागि ट्रेडमार्क बनाउने गरिन्छ । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्वीर, आकार, वा शब्दलाई ट्रेडमार्क भनिन्छ ।

पछिल्लो १० वर्षमा ट्रेडमार्क दर्ता

नेपालमा आर्थिक वर्ष ०६५/०६६ अघि १६ हजार ६२२ नेपाली र १२ हजार ७१५ गरेर कुल २९ हजार ३३७ ट्रेडमार्क दर्ता थिए । त्यसयता १० वर्षमा १० हजार १७८ नेपाली र १८ हजार ८८८ विदेशी गरेर २९ हजार ६६ वटा ट्रेडमार्क दर्ता भएका छन् ।

क्र.स. आर्थिक वर्ष नेपाली विदेशी जम्मा
६६/६७ ८८९ ६७५ १,५६४
६७/०६८ ८५० ६५७ १,५०७
६८/०६९ ४५६ १२३० १,६८६
६९ /७० १४७३ १०८९ २,५६२
७०/७१ १०८४ ९२० २,००४
७१/७२ १०८० ९९२ २,०७२
७२/७३ १०३२ १३६६ २,३९८
७३/७४ १०२० १२६० २,२८०
७४/७५ १०४७ १२२४ २,२७१
१० ७५/७६ १२५६ ११७५ २,४३१
जम्मा १०,१७८ १८,८८८ २९,०६६

उद्योग विभागका अनुसार पछिल्लो समय अमेरिकी कम्पनी नर्थफेसले नेपालमा आफ्नो ट्रेडमार्क दुरुपयोग भएको उजुरी गरेर केही व्यवसायीलाई कारबाही चलाएपछि थप नेपाली व्यवसायीहरु पनि ट्रेडमार्क दर्ता गर्न विभागमा आएका छन् ।

समान उत्पादन गर्ने अर्को व्यवसायभन्दा फरक देखाउन ट्रेडमार्क महत्वपूर्ण हुन्छ । एक पटक दर्ता गरेपछि ट्रेडमार्क बदल्न मिल्दैन । नेपालमा हरेक ७ वर्ष ट्रेडमार्क नवीकरण गर्नुपर्छ ।

विभागका अनुसार नेपालमा अहिलेसम्म ७९ वटा पेटेन्ट दर्ता भएका छन् । जसमा ४० वटा नेपाली रहेका छन् भने ३९ वटा विदेशी छन् । आफ्नो व्यवसायको डिजाइन दर्ता एक नेपाली र ८२ वटा विदेशीले गराएको विभागले जनाएको छ ।

‘पेटेन्ट राइट’ लिने तरिका

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अन्तरगत कुनै पनि कम्पनीले ट्रेडमार्क लिन सक्छ । आफूले उत्पादन गरेका सामानको ट्रेडमार्क राख्न चाहेको निवेदन लिएर गएपछि विभागले यो सुविधा दिन्छ ।

निवेदकको मागमा कसैको दाबी विरोध भएन भने कम्पनीले निश्चित समय पछि ट्रेडमार्क, पेटेन्ट र डिजाइन निश्चित गरिदिन्छ । पाँच हजार दस्तुर तिरेर आफूले दर्ता गरेको पेटेन्टको प्रमाणपत्र लिन पाइन्छ । त्यसपछि हरेक ७ वर्षमा ३५ सय दस्तुर तिरेर पेटेन्ट नवीकरण गर्नुपर्छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार कुनै पनि कम्पनीको स्वीकृति नलिई लोगोमात्रै उसको बनाएर वस्तु उत्पादन गर्न पाइँदैन । यस्तो गर्नु भनेको पेटेन्टको चोरी गर्नु हो र यसो गरिएको खण्डमा बढीमा एक लाखसम्म जरिवाना गर्ने सकिने तथा उत्पादित वस्तु जफत हुने व्यवस्था छ ।

नर्थ फेसको लोगो प्रयोग गरेर कपडा उत्पादन गरेको भन्दै मूल कम्पनीले उजुरी गरेपछि विभागले गत साउनमा ठमेलको पसलमा छापा मारेर सामान जफत गरेको थियो । नर्थफेसको मुद्धा अझै विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment