Comments Add Comment

बैतडीमा डोजर आक्रमण, एक महिला अचेत

५ कात्तिक, बैतडी । अंशबन्डा नमिलेकाले केही समय सडक निर्माण रोक्न माग गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकमा बासिन्दालाई सडक खनिरहेको डोजरबाट आक्रमण भएको छ । आक्रमणबाट आधा दर्जन घाइते भएकामा २ जनाको अवस्था गम्भीर छ ।

अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको स्थानीय हेमराज जोशीले अनलाइनखबरलाई जानकारी दिए । जोशीका अनुसार, घटनामा अन्य ८ स्थानीय पनि घाइते भएका छन् ।

विरोध

स्थानीयको माग र विगतको सहमतिबेगर बाटो खन्न थालेपछि स्थानीयबासीले डोजरमाथि ढुंगा प्रहार गरेको र त्यहीबीचमा डोजरको बकेटले हान्दा एक महिला लडेकी छन् । एभिन्युज टेलिभिजनबाट प्रसारित यो भिडियोलाई सामाजिक सन्जालमा धेरैले शेयर गरेका छन् । डोजर चालकको अमानवीय हर्कतको विरोध गर्दै उनीहरुले कारबाहीको मागसमेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले ‘हेर्नै नसकिने दृष्य’ भन्दै निमुखा जनताको सुरक्षाको माग गरेका छन् । उनले लेखेका छन्, ‘यस्तो हेर्नै नसकिने दृश्य ! मान्छेलाई डोजरले हाक्काहाक्की पेल्ने त अपराधिक मानसिकताको पराकाष्ठै भयो । दुर्गम भेगका जनता र झन् महिलालाई मान्छै नगन्ने कस्तो प्रवृत्ति ? यस्तो प्रवृत्ति सहन गर्नु पनि अपराध हैन र ? कहाँ छ सरकार ? तुरून्त अपराधीलाई कठघरामा उभ्याइयोस् । निमुखा जनताको सुरक्षा होस् ।’

विवादको जड के हो ?

नगरपालिकाको योजनाअन्तर्गत सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माण स्थानीय उपभोक्ता समितिले सञ्चालन गर्दै आएको छ । यो सडकखण्डअन्तर्गत अन्य स्थानमा खासै विवाद नभए पनि ग्वाल्लेकको केही जग्गाको अंशबन्डा नभएकाले केही समय सडक निर्माण कार्य नगरिदिन स्थानीयले आग्रह गर्दै आएका थिए । स्थानीय यही आग्रह लिएर केही दिनअघि दशरथचन्द नगरपालिकामा समेत पुगेका थिए ।

नगरपालिकाले स्थानीय र उपभोक्ता समितिबीच जग्गाको अंशबन्डा बाँकी रहेकाले त्यो सकिएपछि मात्रै निर्माण गर्नेगरी सहमति गराएको नगरपालिकाकी उपमेयर मीना चन्दले अनलाइनखबरलाई जानकारी दिइन् ।

नगरपालिका र स्थानीयबीच सहमति बनिसकेको उपभोक्ता समितिले मनपरी डोजर चलाएर आक्रमण गरेको स्थानीय दुर्गादत्त जोशीले गुनासो गरे ।

तिहारपछि सडक निर्माण अघि बढाउने सहमति भएपनि त्यसविपरीत उपभोक्ता समितिले निर्माण प्रक्रिया अघि बढाएर स्थानीयमाथि अमानवीय हर्कत गरेको उपमेयर चन्दको पनि आरोप छ ।

‘सहमति भइसकेको विषयमा उपभोक्ता समितिले जबरजस्ती गरेर महिलालगायतमाथि आक्रमण गरेको छ, यो अमानवीय छ’, उनले भनिन्, ‘दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न म प्रशासनसमक्ष माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment