Comments Add Comment

क्यान्सरपीडित छोरीको उपचारमा होमिएको परिवारको दर्दनाक कथा !

'छोराछोरीको उपचार गर्दा मेरो जस्तो गल्ती कसैले नगरोस्'

४ कात्तिक, काठमाडौं । कान्ति अस्पतालको ‘अंकोलोजी’ वार्डको सफा भित्तामा एकजना युवक ब्रस चलाइरहेका छन् । सिसाकलमले कोरेको आकृतिमा रंग भरिरहन उनको हात व्यस्त छ । भित्तामा बालबालिकालाई आकर्षित पार्ने आकर्षक पेण्टिङहरु तयार छन् । केही पेण्टिङ तयार हुने क्रममा । अस्पतालको शय्यामा उपचार गराइरहेका बालबालिकाको नजर पेण्टिङतिरै छ । अभिभावकहरुले पनि ती युवालाई नजरअन्दाज गर्न सकेका छैनन् ।

‘गज्जब बनाउनुहुँदोरहेछ त.. ?’

‘अस्पताल बस्दाबस्दा ‘फ्रस्टु’ भएँ, अनि आफूले जानेको काम देखाइदिम् न त भनेर ….’

‘..भनेपछि अस्पतालले काममा राखेको हैन तपाईलाई ?’

‘हैन नि, आफ्नै योजना अनुसार काम गरेको । ‘

यसो भन्दै गर्दा ‘प्रफुल्ल’ देखिए उनी ।

अनि भने- ‘मेरी नानी (छोरी) क्यान्सर भएर यहाँ भर्ना गरेको धेरै भयो । यी भित्ताहरु (अस्पतालको भित्ता देखाउँदै) खाली देखेपछि मैले यहाँका डाक्टर विष्णुरथलाई आफ्नो योजना सुनाएँ । योजना सुनेपछि उहाँहरुले रंगहरु ल्याइदिनुभयो । अनि छोरीको कुरुवा हुँदै मैले फुर्सदको समयमा आफ्नो कला देखाएँ ।’

उनी हुन्- सागर विक ।
उमेर- २६ वर्ष ।
२ छोरीका बाबु ।
पेशा- पेन्टर।

सागर तीन वर्षयता क्यान्सर लागेकी छोरीको उपचारमा छन् ।

उनलाई सुन्दा लाग्छ, एउटा मान्छेले सन्तानका लागि जे पनि आँट्न सक्छ । उनलाई देख्दा लाग्छ- बाबुले सन्तानका लागि जे पनि भोग्न सक्छ।

यो कथा तिनै ‘आलोकाँचो’ (उनकै शब्द) बाबुको हो जो, आफ्नी छोरीको उपचारमा दिनरात खटिरहेको छ । र, क्यान्सरजस्तो प्राणघातक रोगसँग संघर्ष गरिरहेकी छोरीलाई बचाउन हरसम्भव कोसिस गरिरहेको छ ।

सागरले २६ वर्षे उमेरमा २ छोरीको जिम्मेवारी पूरा मात्र गरेका छैनन्, विदेशी भुमिको दुःख पनि भोगिसकेका छन् । उनका शब्दमा भन्नुपर्दा जिम्मेवारीले गुन्द्रुकझैं खाँदिएका मनुवा हुन् उनी ।

उनी पारिवारिक जञ्जालभित्र नमज्जाले जेलिएका छन् । पाकेको घाउमाथि हरेक दिन गरिबीको नुनचूक परिरहेको छ । समस्याको बन्द कोठाभित्रबाट उम्किन सकिरहेका छैनन् ।

‘जिन्दगीदेखि विरक्तिएर निस्सासिँदा कस्तो हुन्छ ? आफ्नो सन्तान सजिलै बाँच्न अनि मर्न पनि नसक्दा के हविगत हुन्छ ?’ टाउको भुइँतिर निहुर्‍याउँदै मसिनो स्वरमा बोल्छन्, ‘यस्ता कुरा मजस्ता जिन्दगीमा ग्रहण लागेको मानिसले मात्र बुझ्न सक्छ ।’

यतिबेला उनलाई न त आराम छ, न त फुर्सद । २६ वर्षकै उमेरमा जिम्मेवारीको पहाड छिचोल्नु परेको छ । अभाव र पीडासँग पौठेजोरी खेल्नु परेको छ । अस्पतालको बेडमा छटपटाइरहेकी छोरीलाई हेर्नु छ । भित्तामा तयार क्यानभासमा रङ्ग भर्नु छ । घरि औषधि लिन पुग्नु छ त घरि रोइरहेकी छोरीलाई फकाउनु छ ।

‘यस्तो पीडादायी व्यस्तताका बेला के दुःखका कुरा खोतल्नु ?’

यत्ति भन्दै उनले कान्ति अस्पताल पछाडि रहेको आफ्नो कोठामा निमन्त्रणा दिए ।

भोलिपल्ट ।

सागर बस्ने टोलको नाम हो – सुकुम्बासी टोल । त्यही टोलको एउटा घरको साँघुरो कोठा । त्यहीँ किचेन । त्यहीँ बेडरुम । र, त्यहीँ अन्य पोका पन्तराहरु पनि । ढोकाको ठीक अगाडिपट्टि पाथीभरा माताको फोटो झुण्डिएको छ । मन्दिरमा दियो बलिरहँदा सानो टीभीमा ‘मोटु-पत्लु’ कार्टुन चलिरहेको छ । सागरका दुई छोरीको ध्यान कार्टुनतिरै छ ।

सागरले हामीलाई स्वागत गर्दै भने, ‘डाक्टरले छोरीलाई ‘इन्फेक्सन’ हुन्छ, किचेन र बेडरुम एउटै कोठामा नबनाउनू भनेका छन् । तर, के गर्नु, बाध्यता …।’

सागरकी ठूली छोरी सोनीलाई हरेक हप्ता अस्पताल पुर्‍याउनुपर्छ । कहिले भर्नै गर्नुपर्छ त कहिले जाँच गरेर घरमै ल्याउनुपर्छ । चौथो चरणको ‘किमोथेरापी’ चलाइरहेकाले उनी कमजोर छिन् । यस्तो बेलामा विशेष पोषण चाहिने भएकाले व्यावस्थापन गर्न सागर प्रयासरत छन् । तर, सके पो !

२०७४ साल असोज, मोरङको एउटा गाउँ ।

दशैंको समय भएकाले सागरका घरमा सबै रमाइरहेका थिए । अझ भनौं पूरा गाउँ नै रमिरहेको थियो । तर, सागरलाई दशैंभन्दा ठूलो दशा लागेको थियो । छोरी बिरामी परेर लम्पसार परेकाले रमाउन सकिरहेका थिएनन् । सिकिस्त हुँदै गएपछि उनलाई धरानस्थित घोपा (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) अस्पताल पुर्‍याइयो । त्यहाँका चिकित्सकले पेटमा अड्किएको दिसा निकालेर पठाइदिए । तर, सोनी ठीक भइनन्।

खाना टन्नै खाए पनि दिसा आउन्नथ्यो । ज्वरो आएर हातखुट्टा र हड्डी सहन नसक्ने गरी दुख्थ्यो। शरीरभरि नीला डाम देखिन्थे । आँखा पूरै सेता भइसकेका थिए । त्यो अवस्थामा नजिकको क्लिनिकमा अनेक उपचार भयो । अनेक रोगको शंका गर्दै डाक्टरहरुले अनेकौँ ‘एण्टिबायोटिक्स’ चलाए । तर, उनी ठीक हुनुको सट्टा झन्-झन् सिकिस्त बन्दै गइन् ।

अन्तिम उपाय कान्ति बाल अस्पताल काठमाडौँ रह्यो । यहाँ ल्याउनासाथ इमर्जेन्सीमा भर्ना गरियो । त्योबेला रगतमा ‘हेमोग्लोबिन’को मात्रा कम थियो । चिकित्सकहरुले रगत चढाए । क्यान्सरको शंका गर्दै ‘बोन म्यारो’ जाँच गर्न सुझाए ।

बोनम्यारोको जाँच नेपालको कुनै अस्पतालमा हुन्न । ‘एनालाइसिस्का’ (रक्तक्यान्सरको प्रकार पत्ता लगाउने) उपकरण नेपालका कुनै निजी तथा सरकारी अस्पतालसँग छैन । बोन म्यारो जाँच गर्नका लागि रु २८ हजारसँगै ‘बोन म्यारोको’ नमूना भारत पठाइयो ।

५ दिनमा रिपोर्टसँगै खबर आयो- ‘सोनीलाई रक्त क्यान्सर (ए.एल.एल) क्यान्सर भएको छ।’

ए.एल.एल बालबालिकालाई हुने धेरै क्यान्सरमध्ये एक हो ।

चिकित्सकहरुले सम्झाए, ‘पहिलो स्टेजको क्यान्सर हो नअत्तालिनुस्, निको हुन्छ ।’

सागर अत्तालिसकेका थिए । क्यान्सर प्राणघातक रोग भन्ने सुनेका कारण होश गुमिसकेको थियो । डाक्टरको सान्त्वनाले मानसिकता परिवर्तन हुँदै भएन । डाक्टरको विश्वास नगरी उनले ‘गुगल डाक्टरको’ सल्लाह लिए । गुगल डाक्टरले दिएका १० थरी सल्लाहले झनै रन्थन्यायो । त्यसपछि फेरि डाक्टरकै शरण लिन पुगे ।

डाक्टरको सल्लाह मान्दै कान्तिमै भर्ना गरेको २ महिनामामै अढाइ लाख सकियो । तर, सोनीको अवस्था उस्तै । तनाव त छँदै थियो, आर्थिक संकटको बोझ थेग्न नसक्ने अवस्थामा पुगिसकेको थियो ।

त्यहीबेला उनको सम्पर्क एकजना आयुर्वेदिक चिकित्सकसँग भयो ।

ती चिकित्सकले ठोकुवा गरे, ‘तीन महिनामा तिम्रो छोरीको क्यान्सर ठीक पार्ने ‘ग्यारेन्टी’ दिन्छु।’

यता डाक्टरले ५ वर्षमा सोनीको पूरा उपचार सकिने बताउदैँ भनेका थिए, ‘ठीक हुने सम्भावना ४० प्रतिशतमात्र छ।’

‘५ वर्ष ४० प्रतिशत बाँच्ने सम्भावना । ३ महिना १०० प्रतिशत ग्यारेन्टी !’

‘५ वर्ष कि ३ महिना ? ४० प्रतिशत कि १०० प्रतिशत ?’

दुई फरक चिकित्सकको फरक दाबीले दिमाग खलबल्यायो । केही सोच्न सकेनन्।

मष्तिष्क भन्थ्यो, ‘आयुर्वेदिकको भर हुन्न, डाक्टर नै ठीक हुन्छ ।’

मन भन्थ्यो, ‘३ महिनामा छोरी ठीक हुन्छे भने किन समय र पैसा बर्बाद नगर्ने ? किन यत्रो वर्ष पीडाको सागरमा डुब्ने ?’

मन र मष्तिष्कको अन्तर्द्वन्द्व चलिरहेका बेला आफन्तले सुझाव दिए, ‘क्यान्सर उपचार गर्न सकिने रोग नै हैन, भयो भने आयुर्वेदिकले ठीक हुन्छ, नत्र पैसामात्र सत्यानास ।’

हो न हो, सागरलाई त्यस्तै लाग्यो । मष्तिष्कले हार्‍यो, मनले जित्यो ।

उनी आयुर्वेदिक चिकित्सकको कुरामा लठ्ठ भएर अस्पतालमा सल्लाह नगरी छोरी टिपेर फरार भए । अस्पतालबाट बीचमै उपचार छाडेर फरार हुने उनी त प्रतिनिधि पात्र मात्र हुन्, क्यान्सरको उपचार गराउन अस्पताल पुग्ने ७५० जना मध्ये वर्षेनी २५० जना सागर बिक जसरी नै फरार हुने कान्ति अस्पतालको तथ्यांकले बताउँछ ।

कोठामा बसेर तीन वर्षअघिको घटना सम्झिरहँदा सागरका आँखामा पश्चाताप झल्किरहेको छ । काखमा रहेकी छोरीलाई सुम्सुम्याउँदै बोलिरहँदा भावुक बनेका छन् । बोल्दाबोल्दै भक्कानिन्छन् ।

छोरीले ट्वाल्ल परेर हेर्न थालेपछि आफैं सम्हालिन्छन् । छेउमा बसेर कुरा सुनिरहेकी उनकी श्रीमती कमला पनि विगत सम्झँदै टोलाइरहेकी छिन्। भावुक कुराकानी भइरहे पनि दुई छोरीको तोते बोलीले भने वातावरण केही सन्नाटामुक्त छ ।

कान्तिबाट फरार भएर आयुर्वेदिक उपचार सुरु गरेपछि सोनी केही तंग्रिएजस्तै भइन् । सागरले औषधिहरुलाई निरन्तरता दिइरहे । आयुर्वेदिक उपचारमा पनि ५/७ लाख स्वाहा भयो ।

सागरले प्रण गरे- ऋण लागे पनि दिन नलागोस्, छोरी ठीक हुनासाथ कमाएर सबै ऋण चुक्ता गरिहाल्छु। ‘

सागरको परिवार खुशी हुँदै थियो । टुटिसकेको विश्वास पलाएर झाँगिदैथ्यो । उनीहरु फेरि नयाँ सपना देख्न थालिसकेका थिए। आयुर्वेदिक डाक्टरले चमत्कार गरेको भन्दै खुशी थिए । तर, आयुर्वेदिक उपचार सुरु गरेको एक महिना पनि त्यो विश्वास टिकेन ।

सागर अर्को घनचक्करमा फसे । टाउको बजार्दै रन्थनिनु बाहेक अर्को विकल्प भएन ।

अर्थात, केही दिनपछि सोनी झन्-झन् सिकिस्त भइन् ।

सागर फेरि तिनै आयुर्वेदिक डाक्टरको शरणमा पुगे। तर, ती डाक्टरले वास्तै गरेनन्। भेट्ने समय त परै जाओस् फोन पनि उठाउन छोडे। उनलाई झन् फसाद पर्यो । खबर नगरी कान्तिबाट फरार भएका उनलाई कान्ति अस्पताल फर्किन हिम्मत आएन ।

के गर्ने, कसो गर्ने ? कुनै मेलोमेसो पाएनन् ।

एकदिन उनले ती आयुर्वेदिक डाक्टरलाई बडो मुस्किलले भेटे। ‘छोरीको ज्यानमा खेलवाड गरेर पैसा लुटेको’ भन्दै आक्रोश पोखे ।

तर, आयुर्वेदिकवाला टसमस भएन ।

‘ठीक हुन्छ कि हुन्न छोरीलाई ?’ सागरको अन्तिम प्रश्नमा आयुर्वेदिकवालाले जवाफ दियो- ‘भगवान भरोसा।’

भगवानको भरोसा गर्दै उनले आयुर्वेदिक औषधि खुवाइरहे । तर, सोनीको अनुहार दिन प्रतिदिन कालोनीलो हुँदै गयो। जिब्रो त्यस्तै । सुकेर सिन्को जस्तै भइन् । पहिलेको भन्दा अवस्था भयावह भयो । के गर्ने, के नगर्ने, सोच्न सकेनन् । थप उपचारका लागि पैसा तगारो बन्यो ।

सागरकी श्रीमती कमला रुँदै भन्थिन्, ‘म मेरो मिर्गौला बेच्न तयार छु, छोरीलाई जसरी नि बचाउनुपर्छ।’

सागर पनि त छोरीलाई क्यान्सरबाट छुटकारा दिलाउन चाहन्थे । तर, क्यान्सरले सोनीलाई जिन्दगीबाटै छुटकारा दिलाउन आँटिसकेको थियो। उनी मौन बस्न शिवाय केही गर्न सकिरहेका थिएनन् ।

त्यहीबेला श्रीमतीको मिर्गौला बेच्ने तर्कनाले उनलाई गज्जबको उपाय फुरेजस्तो लाग्यो।

मनमनै भने, ‘श्रीमतीको किन ? म आफ्नै मिर्गौला बेच्छु।’

सागरले सुनेका थिए, ‘मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालतिर धनी मानिसहरु, समस्यामा परेका मानिसहरुसँग कागजपत्र मिलाएर मिर्गौला किन्न प्रयास गरिरहेका हुन्छन्।’

‘त्यताबाट केही चमत्कार भइजान्छ कि?’

फेरि अर्को झिनो आशा पलायो ।

दिमाग भन्थ्यो, ‘यो त गैरकानुनी काम हो, अपराध हो ।’

मन भन्थ्यो, ‘बाध्यताहरुलाई नियमको परवाह कहाँ हुन्छ र ?’

मनमा डर र शंका बोक्दै उनी मिर्गौला किन्ने ग्राहक खोज्दै अस्पतालहरु चहार्न थाले ।

एकपछि अर्को अस्पताल चहार्दाचहार्दै लखतरान भए । आशा विश्वासमा परिणत हुन सकेन।

आलुप्याज बेचेजसरी मिर्गौला बेच्न कहाँ सजिलो थियो र ?

मिर्गौला बेच्ने कुरा सुन्दा अधिकांश मानिसहरुले ट्वालट्वाल्ती हेर्थे । कोही थर्काएर पठाउँथे त कोही धम्क्याएर । पागल भन्दै कसैले पत्याएनन् ।

२६ वर्षेको केटोको त्यो अविश्वसनीय कहानी कसले झट्टै विश्वास गर्थ्यो र ?

उनको यथार्थको गहिराइ बुझ्ने कोसिस कसैले गरेनन् । मिर्गौला बेच्नेको ‘नेटवर्किङ’ पहिल्याउन उनी असफल भए ।

पैसा नहुँदा कति दिन रोएर बित्यो । कति दिन आफन्तहरुकहाँ सहयोगको हात पसार्दै बिते । तर, कसैले पत्याए पो ! पत्याओस् पनि कसरी ? न उनीसँग गतिलो जागिर थियो ? न जागिर खाएर तिर्न सक्ने शैक्षिक योग्यता । ‘पेण्टिङ गरेर लाखौं पैसा चुक्ता गर्न सक्छ’ भनेर कसैले विश्वास गरेनन् ।

अब एकमात्र विकल्प बाँकी बस्यो- धामी झाँक्री ।

धामी झाँक्रीले क्यान्सर के निको हुन्थ्यो ?

त्यो आशाको त्यान्द्रो जब चुँडियो, तब सोनीका आँखामा इन्फेक्सन भयो । पिसाब फेर्ने ठाउँ पनि इन्फेक्सनले विक्षिप्त ।

पुर्पुरोमा हात राखेर रुनु शिवाय अन्य उपाय थिएन । कहिले आफैंलाई धिक्कार्थे त कहिले आफ्नो भाग्यलाई।

गरिबी दुश्मन बनिरहेका बेला सोनी सजिलै मर्न सकिरहेकी थिइनन्, बाँच्न झनै सकस ।

दिनदिनै भगवानसँग प्रार्थना गरेर मात्रै के चमत्कार हुन्थ्यो र ?

चमत्कार नै नभए पनि अर्को आशाको त्यान्द्रो भने पलायो ।

सागरकी श्रीमती कमलाका दाइले घडेरी बन्धकी राखेर १ लाख रुपैयाँ ऋण दिए ।

‘छोरी त हो, मर्न दे, स्वास्नीको उमेर छँदैछ, अर्को जन्माउलास्, किन सर्वस्व सक्छस्, ए ।’

‘ऋणले जोगी भइसकिस्, कति खर्च गर्छस् नबाँच्ने मान्छेलाई ?’

‘मरिसकेको मान्छेलाई खर्चमात्रै गरी बस्, पछि ऋण तिर्न नसकेपछि जेलमा जाकिएलास्…।’

यस्ता कुरा नसुनेका दिनै हुँदैनथे । तर, एउटा बाबुको धारणा बदलिएन।

मन र मष्तिष्क एउटै कुरामा दृढ थियो, ‘अन्तिम साससम्म छोरीको माया मार्ने छैन।’

पैसा हात परेपछि पनि कान्ति अस्पताल फर्किन हिम्मत आएन । गुगल डाक्टरले ‘भारतको पुणेमा ‘मेटाबोलिक पद्दति’बाट क्यान्सरको उपचार गरिन्छ’ भन्ने सूचना दियो । उनी त्यहाँ पुगे । ‘मेटाबोलिक’ उपचारमा बिरामीलाई खाना दिन मिल्दैनथ्यो । थला परेर उठ्न नसकेकी सोनी केही दिनमा उठेर हिँडडुल गर्न थालिन् ।

मानिस एकपछि अर्को आशाको त्यान्द्रोमा बाँच्दो रहेछ । सागर पनि त्यही आशाको त्यान्द्रो पहिल्याउँदै मुस्कुराए।

फलफूल बाहेक केही खान नमिलेपछि सोनी भन्थिन्,’मलाई खान पनि दिनु हुन्न है ?’

मन भक्कानिए पनि सागर सम्हालिन्थे ।

छोरीको उपचारमा सर्वश्व सकेर लागिपरेको देखेपछि गाउँमा उनलाई सहयोग गर्ने अभियान चल्यो । उनको गाउँबाट देश विदेशमा रहेकाहरुले उपचारका लागि सहयोग गर्न थाले । चन्दाबाट १० लाख रुपैयाँ जम्मा भयो ।

सहयोग जुटेको १० लाख रकम उनी लिएर भारतको म्याक्स हेल्थ केयर अस्पताल पुगे ।

त्यहाँका चिकित्सकले सोनीलाई हेरेपछि भने, ‘अवस्था नाजुक छ, बोन म्यारो ट्रान्सप्लान्ट गर्नुको विकल्प छैन ।’

‘खर्च कति लाग्छ ?’ उनको प्रश्नमा अस्पतालले भन्यो, ‘ट्रान्सप्लान्टको मात्र ८ लाख, औषधि र अन्य खर्चको आफैं हिसाब गर्नू ।’

मनमनै हिसाब गर्दा, ‘१५ लाखभन्दा बढी निस्क्यो।’

त्यो त सोझो हिसाब थियो । त्यहाँ उपचार गर्न नसक्ने ठहर गर्दै उनी त्यहाँबाट अल इण्डिया इनिस्च्युट अफ मेडिकल साइन्स (एम्स) अस्पताल नयाँदिल्ली गए ।

एम्स अस्पतालले भन्यो, ‘यो बोन म्यारो ट्रान्सप्लान्ट गर्ने केस होइन, केमोथेरापी गर्दा नै ठीक हुन्छ। ‘

दुई अस्पतालका दुई थरी कुराले अन्योल झन् बढ्यो ।

अन्योलको दोबाटोमा अलमल्लिइरहेका बेला एम्सकै डाक्टरले सुझाए, ‘भारतको हिमाञ्चल प्रदेशमा एकजना चर्चित आयर्वेदिक डाक्टर छन्, जसले एम्स अस्पतालले उपचार गर्न नसकेको बिरामी पनि निको पार्छन्।’

एम्सकै डाक्टरले भनेपछि नपत्याउँ कसरी ? उनी सोचमग्न बने ।

त्यहीबेला ती डाक्टरले थपे, ‘मेरी छोरीलाई पनि क्यान्सर छ, त्यहीँ उपचार गराइरहेको छु ।’

त्यसपछि उनी दिल्लीबाट हिमाञ्चल हानिए ।

हिमाञ्चलमा १ महिना बस्दा ५ लाख सकियो । तर, सोनी झन् सिकिस्त भइन् । त्यसपछि सोनीको ज्यानको माया मारेर उनी त्यहाँबाट फर्किए ।

गल्ती, फेरि अर्को गल्ती । एकपछि अर्को गल्ती । गल्तीको ‘म्युजिकल चिएर रेस’ मा लाग्दा सोनी सिकिस्त भइन् । अर्काको कुरा सुन्दै र विश्वास गर्दै गएकाले सागर झन् ऋणमा फस्दै गए ।

सोनीको पीडाको कथा त झन् कति-कति । कहिले कुन उपचार पद्दति, कहिले कुन ? एउटी बालिकाको पीडाको गहिराइ कसले महसुस गर्न सक्ने ?

ती दिनहरु सम्झँदै सागर भन्छन्, ‘मैले अञ्जानमा छोरीमाथि अपराध गरेकै हो, ऋणको भन्दा बढी पश्चाताप अहिले मलाई छोरीले सहेको पीडाको छ । पश्चातापले गर्दा म भित्रभित्रै खोक्रो भइसकेको छु ।’

हिमाञ्चलबाट छोरीको ‘जिउँदो लास’ लिएर आएका सागरलाई काठमाडौँ आएपछि फेरि हिम्मत हार्न मन लागेन ।

आफन्तहरुले सुझाव दिए,’सातदोबाटोको अन्तिम विकल्प भन्ने आयुर्वेदिक क्लिनिकले ठीक गर्न सक्छ ।’

झिनो आशा बोकेर उनी आयुर्वेदिक क्लिनिक पुगे । त्यहाँ पुग्दा सोनी सिकिस्त भइसकेकी थिइन् । त्यहाँ भर्ना लिन मानेनन् । भक्तपुर क्यान्सर अस्पताल पुर्‍याउँदा पनि त्यही नियती दोहोरियो । अस्पताल चहार्दाचहार्दै झमक्क साँझ पर्‍यो । तर, उनीहरु पुगेका प्राय अस्पतालले भर्ना लिन मानेनन् । कान्ति अस्पताल जान हिम्मत नै आएन ।

त्यहीबेला ट्याक्सी ड्राइभरले सुझायो, ‘छोरी मर्न लागिसकी, अब अस्पताल जान डराएर हुन्छ त ? डाक्टरले अत्ति गरे एक थप्पड लाउलान्, छोरीका लागि त्यति सहन सक्नुहुन्न ?’

दिनभरि अस्पताल चहार्दाचहार्दै लखतरान भएपछिको अन्तिम विकल्प कान्ति नै थियो । ड्राइभरको सुझावले हिम्मत आयो । उनी फेरि कान्ति पुगे ।

कान्तिका डाक्टरले सबै यथार्थ सुनिसकेपछि यत्ति भने, ‘कम्तिमा हामीलाई एकपटक सोधेर लगेको भए त हामी राम्रो सल्लाह दिन्थ्यौँ ।’

डाक्टर सामान्यरुपमा प्रस्तुत भएको देख्दा सागरलाई हीनताबोध भयो । उनी त्यहीँ धरधरी रोए । अनेक ठाउँमा खाएको हण्डर सम्झिँदै आफैंलाई धिक्कारे । आफ्नो गलत निर्णयका कारण छोरी अन्तिम अवस्थामा पुगेको भन्दै भक्कानिए ।

कान्ति पुर्‍याउनासाथ सोनीलाई तत्काल आइसीयूमा राख्नु पर्ने भयो । तर, त्यहाँ आईसीयू बेड खाली थिएन । कान्तिका डाक्टरले तत्काल बाल मैत्री अस्पतालमा ‘रेफर’ गरे । त्यहाँ ६ दिन राख्दा १ लाख १० हजार खर्च भयो । त्यसपछि फेरि कान्ति नै ल्याइयो । कान्ति ल्याएपछि डाक्टरहरुले फेरि ‘बोन म्यारो’ जाँच गर्न सल्लाह दिए ।

२८ हजार रुपैयाँसँगै बोन म्यारोको नमूना जाँच गर्न फेरि भारत पठाइयो ।

५ दिनपछि रिपोर्ट हेर्दै डाक्टरले भने, ‘सोनीलाई उपचार सुरु गरिहाल्ने हो भने अझै बचाउन सकिने सम्भावना धेरै छ । त्यसका लागि पोषण र नियमित डाक्टरको निगरानीमा राख्नुपर्छ । ट्रान्सप्लान्ट होइन, केमोथेरापीबाट नै सम्भव छ।’

डाक्टरको प्रतिक्रियाले सागर गल्ती सम्झिँदै चुक्चुकाए। आयुर्वेदिक र मेटाबोलिक उपचारमा सकेको लाखौं रुपैयाँले छाती पोल्यो । उपचारका लागि भारत र नेपाल धाउँदाका कष्टकर दिनहरु आँखामा नाच्न थाले । अवोध छोरीले पाएको पीडा सम्झँदै आफैंलाई धिक्कारे।

उनी भन्छन्, ‘त्यो दिन छोरी बाँच्ने खुशीले पनि रोएँ । आफूले गरेको गल्तीको पश्चातापमा पनि रोएँ ।’

गत पुसदेखि सोनीको उपचार कान्तिमै भइरहेको छ । उनीहरु नियमितजसो अस्पताल जान्छन् । चिकित्सकको सल्लाह अनुसरण गरिरहेका छन् । सोनीलाई ‘केमोथेरापी’ चलाइएको छ । पहिलाभन्दा स्वस्थ छिन् । बोल्न सक्छिन् । खानपिन गर्न सक्छिन् । अनुहार पनि उज्यालो भएको छ।

आफ्नी छोरीको परिवर्तन देखेर सागर आफैं छक्क छन् । अझै डेढ वर्ष उपचार गर्नुपर्ने चिकित्सकले बताइरहँदा भने खर्च कसरी जुटाउने भन्ने पुरानै चिन्ताले गाँजेको छ ।

क्यान्सरका बिरामीलाई उपचार गर्न परिवार नै लाग्नुपर्छ । हरेक दिनजसो अस्पताल धाउनुपर्ने भएकाले काम धन्दा सबै त्याग्नुपर्छ । आम्दानी नभएकाले पनि चिन्ताको पारो दिनप्रतिदिन बढिरहेको छ ।

सागर भन्छन्, ‘काम गर्न नपाउँदा बिहान-बेलुका हातमुख जोर्न नै गाह्रो भइसक्यो।’

तनाब र गरिबीका बाबजुद सन्तुष्ट छन् उनी । जीवनप्रति कुनै गुनासो र कसैप्रति प्रश्न पनि छैन । आफ्नो जिन्दगीको आफैं जनता र आफैं सरकार भएको बताउँछन् । अब आफ्नो बाहेक अरु कुनै सरकारको विश्वास लाग्दैन।

भन्छन्, ‘यत्ति हो, मेरो गल्तीबाट अरु अभिभावकले पाठ सिकुन्, छोराछोरीको उपचार गर्दा मेरो जस्तो गल्ती कसैले नगरोस्। ‘

जीवनको ऊर्जाशील उमेरमा भौतारिइरहँदा उनले लाखौँ ऋणमात्र बोकेनन् । धेरै पाठ पनि सिके । उपचारको क्रममा सहयोग गर्ने सबैको नाम र रकम टिपेर राखेको बताउँछन् । उपचार सकाएपछि ती सबै सहयोग रकम फिर्ता गर्ने योजना छ।

‘पेन्टिङ’का साथसाथै’ इन्टेरियर डिजाइन’को काममा पनि पोख्त भएकाले विदेशमा राम्रो माग भएको थाहा छ । छोरीको उपचार सक्नासाथ विदेश जाने बताउँदै सागर भन्छन्, ‘विदेश गएर काम गरिसकेपछि सबैको ऋण चुक्ता गर्न सकिहाल्छु नि ।’

तस्वीरहरू  : चन्द्र आले/अनलाइनखबर

नोटः सागर विकको परिवारलाई सहयोग गर्ने इच्छा देखाउनेहरुप्रति आभारी छौं । उनलाई सहयोग गर्न तल दिइएको बैंक खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । यो सागरकी छोरीको नाममा खोलिएको बैंक खाता हो ।

Name:- Aegraj Gadaily account no:- 8902950896652401 NIC ASIA BANK

यो पनि पढ्नुहोस कान्ति अस्पतालको क्यान्सर वार्डमा मनिषाको एक घण्टा यो पनि पढ्नुहोस उपचार खर्च धान्न नसकेर सन्तानको माया मार्छन् अभिभावक

आफैं बिरामी छ कान्ति बाल अस्पताल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment