Comments Add Comment

कांग्रेस प्रचारमा जुटिसक्यो, नेकपालाई उम्मेदवार छान्न सकस

४ कात्तिक, विराटनगर । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई धरान उपमहानगरपालिकाका मेयरको उम्मेदवार छनोट गर्न सकस परेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेस भने उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारमा होमिएको छ ।

धरान उपमहानगरको मेयर र ७ नम्बर वडा अध्यक्षका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । मेयरमा कांग्रेसले तिलक राईलाई उम्मेद्धवार बनाउने निर्णय गरेको छ । राई दुई वर्षअघि तत्कालीन एमालेका उम्मेद्वार तारा सुम्बासँग पराजित भएका थिए । राईले २० हजार ९ सय ७५ मतका साथ विजयी हुँदा तिलकले १६ हजार १०२ मत ल्याएका थिए । तत्कालीन माओवादीका उम्मेदवार आइन्द्रबिक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

मेयर भएको एक वर्ष नवित्दै सुब्बाको निधन भएपछि धरानमा उपचुनाव हुन लागेको छ ।

कांग्रेसले धरानका उसभापति समेत रहेका राईको नाम केन्द्रमा पठाएको छ । उपचुनावका उम्मेदवारहरु टुंगो लगाउन कांग्रेसले ७ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । तर धरानमा भने राईको चुनावी अभियान सुरु भइसक्यो । नगर क्षेत्रबाट मेयरको उम्मेदवार लागि आफ्नो नाम निर्विरोध रुपमा सिफारिस भएको भन्दै राई भन्छन्, ‘हामी चुनावी अभियानमा होमिएका छौं ।’

पूर्वमाओवादी दौडबाटै आउट !

नेकपालाई भने उम्मेदवार छनोट गर्न गाह्रो भएको छ । अहिलेसम्म चार जना दावेदार देखिएका छन् । तर पूर्वमाओवादी समूहले टिकट पाउने सम्भावना कम छ । धरानमा पूर्वमाओवादीका तर्फबाट किरण राई, मुक्साहाङ लिम्बु दाबेदार थिए । पूर्वसभासद समेत रहेका किरण विप्लव समूह हुँदै नेकपामा प्रवेश गरेका हुन् । उनको मेयरको टिकट पाउने सम्भावना थियो ।

तर पूर्वएमालेका नेताहरु प्रकाश र बिजय बलियो दाबेदारको रुपमा प्रस्तुत भएका छन् । विजय ओली गुटमा मानिन्छन् । प्रकाश राईको भने गुट स्पष्ट नखुलाएपनि माधव नेपाल गुटप्रति बढी झुकाव राख्ने नेकपा धरानका एक नेताले बताए ।

स्थानीयस्तरमा राम्रो पहुँच बनाएका प्रकाशको केन्द्रीय तहमा भने विजय भन्दा कमजोर मानिन्छ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका विजयले केन्द्रमा पहुँच बलियो बनाएका छन् । उम्मेद्धवार छनोटको मिति नजिकिँदै गर्दा दुबै नेताले टिकटका लागि दौडधुप गरिरहेका छन् ।

आकांक्षीहरुले टिकटका लागि लबिङ गरेपछि नेकपा धरान कमिटीले औपचारिक रुपमा कसेको नाम सिफारिस गरेको छैन । नेकपा धरान अध्यक्ष नारायण सुवेदी पार्टीले आन्तरिक रुपमा उम्मेदवार छनोटका लागि छलफल भएरहेको बताए ।

निर्वाचन तयारीसँगसँगै वडा र टोलमा पार्टी एकता भेला आयोजना गरिरहेको उनले बताए । ‘गत निर्वाचनमा पनि हामीले ढिलै उम्मेदवारको टुंगो लगाएका थियौं’, उनले भने, ‘यसपटक कात्तिक १० गतेभित्र सिफारिस गर्ने डेटलाइन छ ।’

धरानको उपमेयरमा नेकपामै मञ्जू भण्डारी छन् ।

साना दलसँग कांग्रेसको गठबन्धन

नेकपा उम्मेदवार छनोटमा अल्झिरहँदा कांग्रेसले भने चुनाव प्रचारसँगै गठबन्धनको प्रयास थालेको छ । मेयरका उम्मेदरवार बन्ने योजनामा रहेका तिलक राई साना पार्टीसँग गठबन्धन गरेर अघि बढ्ने तयारी भइरहेको बताउँछन् ।

‘धरानमा नेकपा बाहेक अन्यपाटी एक ठाउँमा छौं’, राई भन्छन् । चुनावमा पनि समाजवादी, राप्रपालगायत साना दलसँग सहमति गरेर अगाडि बढ्ने उनले बताए । मेयरमा आफूलाई समर्थन दिएर वडा नम्बर ७ को अध्यक्ष दिने कांग्रेसको तयारी छ ।

नेकपाले भने कुनै दलसँग एकता गर्ने योजना नबनाएको अध्यक्ष नारायण सुबेदी बताउँछन् । ‘नेकपा आफैंमा ठूलो दल हो’, उनले भने, ‘हामीलाई गठबधनबारे सोचेका छैनौं ।’

धरानमा चार हजार मतदाता थपिए

स्थानीय तहको उपनिर्वाचनमा धरानमा करिब ४ हजार मतदाता थपिएका छन् । प्रतिनिधिसभा तथा प्रदेशभा निर्वाचनमा धरानमा ८९ हजार ५ सय ४९ मतदाताको नामावली सार्बजनिक भएको थियो । मंसिरमा हुने निर्वाचनमा करिब ९३ हजार पाँचसय मतदाता रहने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

प्रदेश १ का नौं स्थानमा निर्वाचन

१४ मंसिरमा प्रदेश १ का नौ स्थानमा उपनिर्वाचन हुँदैछ । सुनसरीको धरान उपमहानगरपालिकासँगै पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकामा प्रमुखको पद रिक्त छ । धरान कै वडा नम्बर -७, फिदिम नगरपालिका- वडा नम्बर १, हिलिहाङ गाउँपालिका-७, मोरङको धनपालथान गाउँपालिका- २ संखुवासभाको खादबारी गाउँपालिका वडा नम्बर ८ र खोटाङको सकेला गाउँपालिका- ३ को वडा अध्यक्ष पद खाली छ ।

यो सबै स्थानमा १४ मंसिरमा उपचुनाव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment