Comments Add Comment

सुरुङमार्ग शिलान्यास गर्दै प्रधानमन्त्रीले भने : अब मात्र साढे ३ वर्ष पर्खिनुछ

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सक्ने विश्वास व्यक्त गरे ।

उनले अघि भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’

उनले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराएका छन् । नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए ।

प्रधानमन्त्रीले टाेखा–छहेर, बेत्रावती –स्याफ्रुवेशी सुरुङमार्गलाई अगाडि बढाउन लागिएको उनले बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यो सुरुङमार्गबारे अध्ययन गर्ने समझदारी भएको थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी गरे । १६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेको बताए । ‘हामीले बाटाहरु मात्र बनाइरहेका छैनौं । एयरपोर्टहरु बन्दैछ । फास्ट ट्र्याक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ,’ उनले अघि भने ।

अधिकांश समय सरकारको कामको चर्चा गरेका बैंक खाता, जेष्ठ नागरिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रम उल्लेख गरे ।

आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाए पनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाजमा साउन आउन थालेको प्रधानमन्त्री ओलीले दावी गरे । सप्तकोसीमा सानो भए पनि पानी जहाज चलेको भन्दै प्रधानमन्त्रीले २० मिनेटमा सुनसरीबाट भोजपुर पुग्न सकिने बताए । उनले भने, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’

प्रधानमन्त्री ओलीले विद्युतीय बसका लागि छुट्याएको रकम खर्च हुन नसकेकामा चिन्ता गर्दै उनले यस विषय गडवडी भए नभएको हेरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment