
नेपालमा पछिल्लो समय प्रतिलिपि अधिकारसम्बन्धी विवाद निकै बढेको छ । खासगरी चलचित्र र संगीतमा एकपछि अर्को स्क्यान्डलहरु बाहिर आइरहेका छन् ।
केही समय अगाडि पुराना निर्देशक शम्भु प्रधानले चलचित्र ‘कृ’ का निर्माता सुवास गिरी र भुवन केसीविरुद्ध आफ्नो सिर्जना चोरी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरे । प्रहरीले गिरीलाई पक्राउ गरेर एक रात हिरासतमा समेत राख्यो ।
प्रधानले आफ्नो पुरानो चलचित्र ‘सम्झना’को एउटा गीत आफ्नो अनुमतिबिना ‘रिमिक्स’ गरेर ‘कृ’ मा समावेश गरिएको आरोप लगाएका थिए । उनको आरोपमा सत्यताको अंश थियो । ‘उकालीमा अघिअघि’ बोलको गीतका दुई लाइन ‘कृ’ को गीतमा प्रयोग गरिएको थियो । गीतका स्रष्टा रञ्जित गजमेरले समेत साथ दिएपछि प्रधानको दाबी बलियो बन्यो ।
अन्ततः प्रहरीको रोहवरमा ११ लाख रुपैयाँको लेनदेन गरी विवाद सल्टाइयो । सो गीत यूट्यूवबाट हटाइयो । पुरानो गीतको दुई पंक्ति नयाँ फिल्ममा प्रयोग गर्दा प्रधानलाई कुनै आर्थिक क्षति पक्कै भएको थिएन । फेरि उनले सो फिल्मको डिजिटल राइट्स पहिल्यै बेचिसकेका छन् । तर, पनि कानूनमा उनी माथि देखिए । गिरीले विवाद लम्ब्याउन चाहेनन् र ठूलो रकम सोधभर्ना गर्न तयार भए ।
अर्को विवाद सतहमा आयो, गीतकार–संगीतकार वसन्त थापा र नेपाल आइडल विजेता रवि ओडबीच । रविले स्टेजमा आफ्नो गीत बिगारेर गाएको भन्दै थापाले सार्वजनिक रुपमा आलोचना गरेका थिए । यससँगै कुनै स्रष्टाको गीतलाई नयाँ गायक–गायिकाले स्टेजमा गाउँदा कपिराइट कानून आकर्षित हुन्छ कि हुँदैन भन्ने विवाद उत्पन्न भएको थियो ।
वसन्त थापाले फेसबुकमा आफ्नो असन्तुष्टि व्यक्त गरे पनि कानूनी उपचारमा गएनन् । सामाजिक सञ्जालको माहोल पनि उनको पक्षमा भएन । तर, यदि मुद्दा–मामलामा जानु परेको भए रवि ओड संकटमा पर्न सक्थे, किनकि कपिराइट कानून अनुसार कुनै स्रष्टाले गाएको गीत निजको अनुमति बेगर व्यवसायिक प्रयोजनका लागि अरु कसैले गाउन पाउँदैन । यही कानूनले गर्दा अहिले टीभी रियालिटी शोहरुमा गाइने गीतका लागि पनि सम्बन्धित स्रष्टालाई रोयल्टी दिन थालिएको छ ।
धेरैको मानसपटलमा ताजा रहेको विवादचाहिँ अर्को चर्चित लोकगीत ‘पछ्यौरी च्यातियो’ को हो । प्रकाश सपुतले गाएको यो गीतको सानो अंशको लय आफ्नो पुरानो देउसी गीतसँग मिलेको दावी पुराना गायक शम्भु राईले गरेका थिए । यद्यपि, संगीत बुझेका धेरैले उनको दाबीलाई साथ दिएनन् । लोकलयहरुमा कसैको कपिराइट नलाग्ने तर्क एकातर्फ थियो भने सानो अंश मिल्नु संयोग मात्र पनि हुन सक्थ्यो । गायक सपुतले त आफूले योभन्दा अगाडि राईको गीत सुन्दै नसुनेको समेत बताएका थिए ।
तर, विवाद झांगिदै गएपछि सपुत लचिलो हुन बाध्य भए । गीतको यूट्यूव भिडियोमा राईलाई पनि क्रेडिट दिने सहमति भयो । तर, अनौपचारिक कुराकानीमा प्रकाश सपुत यो सहमति आफ्नो गल्तीका कारण नभई बाध्यतावस गर्नुपरेको गुनासो गर्छन् । यसमा गायक राइले पनि कुनै आर्थिक सोधभर्नाको दाबी नगरेर लचकता देखाएका थिए ।
अब पछिल्लो विवादबारे चर्चा गराैं । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को निर्माण समूहले कपिराइट उल्लंघन गरेको भन्दै मिडिया हब नामक कम्पनीले प्रहरीमा उजुरी दिएको छ । ‘सक्किगोनी’ का पात्रहरु आफूले निर्माण गरेको भद्रगोलबाट अनाधिकृतरुपमा लगिएको उसको दाबी छ ।
लामो समयदेखि टेलिश्रृंखलाहरु उत्पादन र प्रसारण गर्दै आएको एजेन्सी हो, मिडिया हब । यसले आफ्नो खर्चमा खासगरी हास्यप्रधान टेलिश्रृंखला निर्माण गरेर नेपाल टेलिभिजनको समय खरिद गरी प्रशारण गर्छ । नेपालमा धेरैजसो चर्चित हास्यकलाकार मिडिया हबका टेलिश्रृंखलाबाटै उदाएका र स्थापित भएका हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, केदार घिमिरे ‘माग्ने बुढा’लगायत हास्य कलाकारहरु आज जुन स्थानमा छन्, त्यसमा मिडिया हबले लगाएको गुन उनीहरुले भुल्न सक्दैनन् ।
यद्यपि, मिडिया हबले निर्माण गरेका टेलिश्रृंखलामा कलाकारलाई पैसा नदिएर श्रम शोषण गरेका विवादहरु बारम्बार आउने गरेका छन् । आर्थिक कारणले नै ‘तितो सत्य’ बन्द भयो । यसैगरी, जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल लगायत टेलिश्रृंखला पनि बन्द हुँदै, फेरि चल्दै आएका छन् । एउटा टिमलाई उधारो काम गराउँदै जाने, अनि सो टिमले पैसाका लागि ताकेता गरेपछि त्यसलाई छोड्न वाध्य पारेर नयाँ टिम निर्माण गर्ने मिडिया हबको रणनीति देखिन्छ । धेरै हास्यकलाकारहरुले मिडिया हबसँग लाखौं पैसा लिन बाँकी रहेको बताउने गरेका छन् ।
यही र टेलिश्रृंखला ‘भद्रगोल’ मा पनि लागू भयो । भद्रगोल परिकल्पनादेखि नै यसमा संलग्न अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को टिमसँग आर्थिक व्यवस्थापनलाई लिएर बारम्बार विवाद उत्पन्न भइरह्यो । यही विवादले प्रशारण अवरुद्ध हुने र फेरि सुचारु हुने क्रम पनि चलिरह्यो ।
मिडिया हब र जेपिटी (जिग्री पाँडे टिम) क्रियसन बीच भएको पछिल्लो सम्झौताको म्याद गत असार मसान्तमा सकिएको थियो । तर, विभिन्न विषयमा कुरा नमिल्दा सम्झौता नविकरण हुन सकेन । अन्ततः जिग्री पाँडेको समुह भद्रगोलबाट अलग्गियो ।
भद्रगोलको नाम, परिवेश, पात्र, विषयवस्तु सबै जिग्री र पाँडेको परिकल्पना हो । तर, कानूनीरुपमा भद्रगोलको प्रतिलिपि अधिकार मिडिया हबले आफ्नो नाममा ल्याइसकेको थियो । टेलिश्रृंखला निर्माणमा लगानी रहेको हिसाबले उसले भद्रगोल ब्रान्डमा कपिराइट दावी गर्नुलाई अस्वभाविक लिन पनि मिल्दैन । यसलाई अर्को पक्षले विवादको विषय बनाएन ।
तर, अहिले आएर मिडिया हबले ‘क्यारेक्टर’ हरुमाथि पनि दावी गरेको छ । भद्रगोलका प्रमुख पात्रहरु ‘सक्किगोनी’ मा लगिएको भन्दै उसले प्रहरीमा उजुरी गरेपछि तरंग उब्जिएको छ र कपिराइटबारे बहसको अर्को श्रृंखला प्रारम्भ भएको छ । के चलचित्र/टेलिचलचित्रका क्यारेक्टरमा पनि निर्माता/लगानीकर्ताको कपिराइट लाग्छ ?
लाग्न सक्छ, यदि सम्झौतामा यो विषय उल्लेख नभएको वा प्रष्ट रुपमा लगानीकर्ताको हातमा कपिराइट रहने प्रष्ट उल्लेख भएमा । तर, मिडिया हबले जेपीटी क्रियसनसँग गरेको पछिल्लो सम्झौतामा प्रष्टरुपले भद्रगोलका पात्रहरुको कपिराइट जेपीटी क्रियसनमा निहित रहने उल्लेख छ ।
हेर्नुस सम्झौता पत्र …
पहिलो पक्ष मिडिया हबका तर्फबाट कार्यकारी निर्देशक सोम धिताल र दोस्रो पक्ष जेपीटी क्रियसनका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रको बुँदा नम्बर १३ मा भनिएको छः ‘भद्रगोल’ को कन्टेन्ट र ‘भद्रगोल’ भित्रका सम्पूर्ण पात्रहरुको चरित्रको दोस्रो पक्षमा निहित रहने छ ।
मिडिया हबले क्यारेक्टरमाथि दावी गर्न सक्थ्यो, यदि सम्झौतामा यो बुँदा नभएको भए । यति मात्रै पनि होइन । भद्रगोलका धेरै क्यारेक्टरहरु त्योभन्दा अगाडि प्रशारण हुने हास्य टेलिश्रृंखला ‘सिस्नुपानी झ्याम्मै’ बाट सारिएका हुन् । १८ एपिसोडसम्म प्रशारण भएको सिस्नुपानी.. मा जिग्री, पाँडे, धतुरेलगायतका पात्रहरु थिए, जुन मिडिया हबको उत्पादन होइन । त्यसैले ती क्यारेक्टरहरुमा मिडिया हबको दावी लाग्दैन ।
मिडिया हब र जेपीटी क्रियसनबीच भएको सम्झौताको १६ नम्बर बुँदामा ‘यो सम्झौताको अवधि २०७४ श्रावण १ गतेदेखि २०७६ असार मसान्तसम्म रहने छ’ भनिएको छ । २०७६ असार मसान्तमा सम्झौताको म्याद सकिएपछि दुई पक्षबीच अर्को सम्झौता भएको छैन । त्यसैले प्रहरीका लागि यो ‘स्ट्रेट फरवार्ड’ केस हो ।
मिडिया हबले पक्कै पनि आफ्नो दावी कमजोर रहेको नबुझेको छैन । त्यही भएर उसले कुनै आर्थिक क्षतिपूर्तिको दावी पनि गरेको छैन । उसले दिएको यो उजुरी चाहिँ पुरानो टिमले छोडेपछि भद्रगोलको खस्कँदो लोकप्रियताबाट उत्पन्न निराशाको प्रतिफल हुन सक्ने धेरैको बुझाई छ । सँधै नम्बर १ ट्रेन्डिङमा आउने भद्रगोल पछिल्लो समय खासै चर्चामा छैन । र, नयाँ टिमले बनाएका हरेक एपिसोडमा लाइकभन्दा डिस्लाइक धेरै आइरहेका छन् ।
नेपालमा बौद्धिक सम्पत्तिको विषयमा अझै पनि चेतनाको कमि नै छ । अन्तर्राष्ट्रिस्तरमा हेर्ने हो भने यो विषयलाई निकै गम्भीर मानिन्छ । कपिराइटको मुद्दामा करोडौं मात्र होइन अर्बौं क्षतिपूर्ति तिर्नुपरेका दृष्टान्तहरु छन् । नेपालमा चाहिँ यो एक–अर्काप्रति पूर्वाग्रह साँध्ने र मेख मार्ने विषयजस्तो बन्न पुगेको छ ।
प्रतिक्रिया 4