News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा करिब १९ प्रतिशतले घटेको छ।
- बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि २० अर्ब १४ करोड रुपैयाँ छुट्याएका छन्, जुन गत आवको तुलनामा ७८.४२ प्रतिशतले बढी हो।
- ग्लोबल आईएमई बैंकले चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेको छ।
२१ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास बैंकहरूका लागि सकारात्मक रहेन । अधिक तरलता र जेनजी आन्दोलनका कारण असुलीमा आएको समस्याले बैंकहरूलाई निराश बनाएको हो ।
चालु आवको असोजसम्ममा वाणिज्य बैंकहरूको नाफा करिब १९ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकहरूको कर्जा असुलीमा सुधार आउन सकेन भने नोक्सानी व्यवस्था ७८ प्रतिशतले बढेपछि बैंकहरूको नाफा घटेको हो ।
नाफा घट्नुमा अधिक तरलताको पनि भूमिका रहेको पूर्व बैंकर पर्शुराम क्षेत्री बताउँछन् । क्षेत्रीका अनुसार बैंकहरूको ब्याज खर्च विगतको तुलनामा बढ्दा नाफा सुधार आउन नसकेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकले १३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.७७ प्रतिशतले थोरै हो । गत आवको पहिलो त्रैमासमा १६ अर्ब १८ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

त्यसै पनि लगानीकर्तामा आत्मबल कमजोर भएको अवस्था छ । जेनजी आन्दोलनले झनै कमजोर बनाएको बताउँदै क्षेत्रीले भने,‘लगानीकर्ताको मनोबल कमजोर हुँदा कर्जाको माग बढ्ने अवस्था भएन, निक्षेप निरन्तर थुप्रिँदा खर्च बढेको छ, बैंकहरूको खर्च बढेपछि त्यसले नाफामा प्रत्यक्ष असर गर्छ ।’
चालु आवको यो अवधिमा बैंकहरूको ब्याज खर्च बढेको उनको भनाइ छ । सर्वसाधारणबाट लिएको निक्षेपलाई २.७५ प्रतिशतमा केन्द्रीय बैंकमा लगानी गर्नु पर्दा विगतको तुलनामा ब्याज खर्च बढेको उनको भनाइ छ ।
त्यसैगरी जेनजी आन्दोलनका कारण बैंकहरूको कर्जा असुलीमा समस्या आएको र कर्जा नोक्सानी व्यवस्था बढाउनु पर्दा नाफा घटेको उनी बताउँछन् । अर्कोतर्फ घरजग्गा कारोबारमा आएको सुस्तताका कारण गैर बैंकिङ सम्पत्ति व्यवस्थापनमा समेत समस्या छ ।
चालु आवको पहिलो त्रैमासमा बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि २० अर्ब १४ करोड रुपैयाँ छुट्ट्याएका छन । यो रकम गत आवको सोही अवधिको तुलनामा ७८.४२ प्रतिशतले धेरै हो ।

गत आवको असोजसम्ममा बैंकहरूले ११ अर्ब २८ करोड रुपैयाँ छुट्याएका थिए । बैंकहरूले नाफाबाट कर्जा नोक्सानीका लागि छुट्याउनु पर्ने हुन्छ । कर्जा असुली भएपछि मात्रै उक्त रकम नाफामा फिर्ता हुन्छ । कोरोना महामारी, आर्थिक मन्दी तथा जेनजी आन्दोलनका कारण बैंकहरूको कर्जा डिफल्ट हुने दर बढेपछि कर्जा नोक्सानी व्यवस्था बापतको रकम उच्च दरमा बढेको हो ।
चालु आवको सो अवधिमा बैंकहरूको खुद नाफा घटेको भएपनि कुल वितरण योग्य नाफा भने बढेको छ । सो अवधिमा बैंकहरूको कुल वितरण योग्य नाफा १४ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा १२ अर्ब ५२ करोड रुपैयाँ थियो । बैंकहरूले विगतको नाफाबाट सेयरधनीलाई वितरण नगरी राखेको रिटेन अर्निङका कारण वितरणयोग्य नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्स बैंकको खुद नाफा ऋणात्मक रहेको छ । अरु बैंकको नाफा धनात्मक भए पनि धेरैजसोको घटेको छ ।
गत आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्थाबाट ५ बैंकले रकम फिर्ता गरेको भएपनि चालु आवमा सबै बैंकहरूले बढाएर कर्जा नोक्सानी व्यवस्था बापतको रकम राखेका छन् (तथ्याङकमा कर्जा नोक्सानी कोलममा राखिएको माइनस चिन्हले फिर्ता भएको रकम जनाउँछ)।
त्यसैगरी चालु आवको पहिलो त्रैमासमा ७ वाणिज्य बैंकको कुल वितरण योग्य नाफा ऋणात्मक छ । चालु आवको सो अवधिमा हिमालयन बैंकको कुल वितरणयोग्य नाफा सबैभन्दा धेरै अर्थात् ७ अर्ब ५४ करोड ऋणात्मक छ । गत आवको सोही अवधिमा बैंकको कुल वितरणयोग्य नाफा ३ अर्ब ४८ करोड रुपैयाँ ऋणात्मक थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा गरेको छ । सो अवधिमा बैंकले एक अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा धेरै हो । गत आवको असोजसम्ममा बैंकले एक अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
त्यसैगरी चालु आवको असोजसम्ममा सभैन्दा धेरै कर्जा नोक्सानी व्यवस्था गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा २ अर्ब ८० करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ ।
चालु आवको पहिलो त्रैमासमा नबिल बैंकको सबैभन्दा धेरै वितरणयोग्य नाफा रहेको छ । सो अवधिमा बैंकको कुल वितरण योग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । दोस्रो स्थानमा भने एभरेष्ट बैंक रहेको छ । एभरेष्टको कुल वितरण योग्य नाफा ५ अर्ब ४९ करोड रुपैयाँ छ ।
प्रतिक्रिया 4