Comments Add Comment

‘दुई नम्बरी ट्याग’ हटाउन उपेन्द्र यादवको सुझाव

मुख्यमन्त्रीले भने–चाँडै मधेश नाम घोषणा हुन्छ

७ कात्तिक, जनकपुरधाम । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश २ मा लागेको ‘दुई नम्बरी ट्याग’ लाई चाँडो हटाउन सुझाव दिएका छन् ।

प्रदेश २ सरकारले बिहीबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले प्रदेशलाई ‘दुई नम्बरी ट्याग’ बाट चाँडो मुक्त गर्नुपर्ने बताए । यसका लागि यथासम्भव चाँडो प्रदेशको नामाकरण गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशसभामा प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव पेश भएको झण्डै तीन महिना बित्न लाग्दा पनि प्रदेश सरकारले यसतर्फ चासो दिएको छैन् । कार्यक्रममा यादवले प्रदेशको नामाकरण गर्दै समृद्वितर्फ अगाडि बढाउनुपर्ने बताए ।

उनले उपभोक्ता समिति मार्फत् काम गराउनुभन्दा अधिकभन्दा अधिक जनतालाई सहभागी गराएर विकासीय काम गराउन सुझाव दिए । ‘यसो गर्दा विकास द्रूत गतिमा हुन्छ । र, सबैले अपनत्व महसुस गर्छन’ उनले भने, “यो प्रदेशलाई समृद्व बनाएर अरु प्रदेशलाई देखाउनु जरुरी छ ।”

चीनका राष्ट्रपति सी चीनफिङ नेपाल भ्रमणमा आउँदा आफ्ना देशको विकासको बारेमा सुनाएको कुरा दोहोर्‍याउँदै यादवले भने, “जसरी चीनमा बनाइएको योजना पूर्ण रुपमा कार्यान्वयन गरिन्छ, त्यसरी नै गर्नुस् । र, अगाडि बढ्नुस् ।”

मुख्यमन्त्रीले भने–चाँडै मधेश घोषणा हुन्छ

कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण चाँडै गरिने बताए । उनले प्रदेश सभामा प्रस्ताव गइसकेको बताउँदै प्रदेशको नाम अविलम्ब घोषणा हुने बताए । मुख्यमन्त्रीले प्रदेशको नाम ‘मधेश’ नै घोषणा हुने सुनाए ।

प्रदेशसभामा सत्तासिन समाजवादी र राजपाले प्रदेशको नाम मधेश, नेकपाले जानकी र नेपाली कांग्रेसले मिथिला–भोजपुरा हुनुपर्ने भन्दै प्रस्ताव पेश गरेको छ । यद्यपी नामाकरणका लागि चाहिने दुई तिहाई कुनै पनि दलसँग छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment