Comments Add Comment

को हुन् देवताका डाक्टर धन्वन्तरि ?

आज धन्वन्तरि जयन्ती

धन्वन्तरि पूर्वीय चिकित्सा जगतका एक सूत्राधार र हिन्दू धर्ममा देव पद प्राप्त एक चिकित्सक हुन् । उनलाई भगवान विष्णुको अवतार मानिन्छ । धन्वन्तरि राक्षसको बिगबिगी भएको बेलामा भगवानलाई उपचारको लागि जन्मिएका थिए । देव-असुर संग्राममा राक्षसबाट पीडित भएका देवतालाई जोगाउनको लागि उदाएका एक चिकित्सक हुन्, धन्वन्तरि । उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा राखेर पूजा गर्ने गरिन्छ ।

भगवान धन्वन्तरिको विषयमा महाभारत, विष्णु पुराण, अग्नि पुराण, श्रीमद्भागवत महापुराण आदिमा उल्लेख गरिएको छ । साथमा उनको जीवनीसँग देवता र राक्षसको युद्धसम्बन्धी कथा समेत जोडिने गरेको छ ।

ऐतिहासिक मान्यता अनुसार देवता र राक्षसहरुका एकै जना पिता थिए, कश्यप ऋषि । तीन लोकको अधिपति को बन्ने ? भन्ने विषयमा यी दुबै पक्षबीच सधैंभरी युद्ध चलिरहन्थ्यो । वंशबृद्धि भएको कारणले उनीहरुबीच टाढाको सम्बन्धको भान हुन सुरु भईसकेको थियो । त्यसैले स्वर्गको शासन सम्हालिरहेका इन्द्रादि देवताहरुलाई असुरहरुले सधैंभरी दुःख दिइरहन्थे ।

त्यतिबेला अधिकांश देवताहरु सात्विक र शाकाहार खाना खाने गर्दथे भने असुरहरु मांसाहार थिए । मांसाहार भएकै कारण हृष्टपुष्ट असुरहरुको तुलनामा देवताहरु कमजोर थिए ।

असुरका आचार्य (गुरु) शुक्राचार्य सञ्जीवनी विद्याका पारङ्गत थिए । शुक्राचार्यले राक्षसहरुलाई सञ्जीवनी विद्याको कारणले स्वस्थ तथा दिव्य शस्त्रका ज्ञाता समेत बनाएका थिए । त्यतिमात्रै नभएर युद्धमा देवताहरुले जति धेरै उनीहरुलाई आक्रमण गरेर बध गर्दैजान्थे त्यत्तिकै मात्रामा मरेकाहरु जन्मिँदै जान्थे ।

शुक्राचार्यको त्यो क्षमताका कारण देवताहरु हारको मुखमा पुगिसकेका थिए । देवताहरुका सेना एकातर्फ सकिने क्रममा रहेको र असुरका सेनाहरु मरेका पनि ब्युँतिने क्रममा रहेको समयमा देवताहरुलाई पराजयबाट जोगाउन र घाइते देवताहरुको उपचारको लागि धन्वन्तरीको जन्म भएको हो ।

आयुर्वेद र धन्वन्तरिको सम्बन्ध

आयुर्वेद एक प्रकारको उपवेद हो । यसको उत्पत्ति ब्रहृमाले गरेका थिए भन्ने मान्यता छ । यो शास्त्रलाई रामायण र महाभारतभन्दा पनि पुरानो ग्रन्थको रुपमा मान्ने गरिन्छ । यो शास्त्रको व्याख्या र विस्तार गर्ने श्रेय धन्वन्तरीलाई जान्छ । कात्तिक कृष्ण त्रयोदशीका दिन जन्मिएका धन्वन्तरीको जन्मदिन विभिन्न पूजाआजा गरी मनाउने गरिन्छ । सोही दिन भगवान विष्णुको पनि पूजा गर्ने चलन छ । सम्पूर्ण विश्वबासीहरु दीर्घायु र निरोगी हुन् भन्ने कामना गर्दै उनको पूजा गर्ने गरिएको छ ।

शास्त्र र पुराणमा धन्वन्तरि

धन्वन्तरि आयुर्वेदका प्रणेता हुन् भन्ने कुरा विभिन्न धर्मशास्त्र एवं पुराणहरुमा उल्लेख गरेको पाईन्छ । गरुण पुराण र मार्कण्डेय पुराणमा उनको विषयमा यस्तो चर्चा गरिएको छ ।

पुरादेवऽसुरायुद्धेहताश्चशतशोसुराः।

हेन्यामान्यास्ततो देवाः शतशोऽथसहस्त्रशः।

अर्थात्, प्राचीनकालमा देवता र असुरहरुको युद्धमा धेरै हताहत भएपछि सयौं असुरहरुले पुनर्जीवन प्राप्त गरे । यसरी हजारौं देवताहरुको बध हुन थालेपछि धन्वन्तरिको जन्म भएको कुरा ती पुराणहरुमा उल्लेख गरिएको छ । श्रीमद्भागवत पुराणले उनलाई भगवान विष्णुका अवतार उल्लेख गरिएको छ । विष्णु पुराणले धन्वन्तरि दीर्घतथाका पुत्र रहेको बताएको छ । ती धन्वन्तरि जरायु बिकारहरुद्वारा रहित देह तथा इन्द्रियवाला तथा सबै जन्ममा सर्वशास्त्र ज्ञाता मानिन्थे । भगवान नारायणले उनलाई पूर्व जन्ममा यो वरदान दिएका थिए कि ‘काशिराजको वंशमा उत्पन्न भएर आयुर्वेदको आठ भाग लोकमा प्रसिद्ध गराउने सके ।’

गरुड तथा मार्कण्डेय पुराणमा गालव ऋषिको एउटा कथा उल्लेख गरिएको छ । वनमा एक समय उनी त्यसै भडि्कएर हिँडिरहेका थिए । उनी थकाई र प्यासले एकदमै व्याकुल थिए । उस समय जंगलमा बाहिर जाने बित्तिकै उनले एक कन्या देखे, जो एक घडामा जल लिएर बाहिर जाँदै थिईन् । ती कन्याले उनको प्यास पेट्नको लागि ती ऋषिलाई पुरै घडा पानी पिउन दिइन् । जसबाट प्रसन्न भएर गालव ऋषिले आशीर्वाद दिए कि ‘तिमी योग्य पुत्रकी माता बन्ने छ्यौ ।’

तर, उनले जब ती कुमारी वीरभद्रा नामक वेश्या हुन् भन्ने थाहा पाए, तब ती वेश्यालाई आश्रममा लिएर गए । त्यहाँ उनले कुशको पुष्पाकृति बनाएर उनलाई अभिमन्त्रित गरी प्रतिष्ठित गराईदिए । तिनै आमाबाट धन्वन्तरिको जन्म भयो । वेद मन्त्रहरुद्वारा अभिमन्त्रित भएको कारणले उनी वैद्य कहलाएका हुन् भन्ने धर्मशास्त्रहरुमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment