Comments Add Comment

प्रसव पीडामा रहेकी महिलाको नगरप्रमुखले गरे उद्धार   

११ कात्तिक, बाजुरा । सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी एक महिलाको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–७ की कल्धरी विकको नगरप्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरिएको हो ।

सात महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो । जिल्ला अस्पताल बाजुरामा पुगाइएकी उनलाई जिल्ला अस्पताल मार्तडीमा उपचार हुन नसकेपछि नगर प्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरी एम्बुलेन्समार्फत अछाममा रहेको बयालपाटा अस्पतालमा पठाइएको छ ।

विकका श्रीमान् नर विक रोजगारीको सिलसिलामा भारत गएका र घरमा आफन्तजन कोही नहुँदा बयालपाटा अस्पताल पुर्‍याइएपछि हाल महिला र बच्चाको अवस्था सामान्य रहेको आफन्त डबल विकले बताउनुभयो । बच्चा जन्मिनका लागि ४० हप्ता अर्थात् २८० दिन पुग्नुपर्ने भए पनि २९ हप्ता तीन दिनको अवधिमा नै महिलालाई सुत्केरी पीडा भएपछि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो ।

जिल्ला अस्पतालमा ‘सिजेरियन सेक्सन’मा चिकित्सक नभएको र शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने भएकाले बयालपाटा अस्पतालमा ‘रिफर’ गर्नुपरेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख चिकित्सक रोहित गिरीले जानकारी दिए ।

हप्तामा तीनदेखि चार जना यस्तै प्रकृतिका बिरामीहरु जिल्ला अस्पताल बाजुरामा आउने गरेको गिरीले जानकारी दिए । विगत केही वर्षयता निकसाइमन इन्स्टिच्युट (एनएसआई) बाट दुई जना डाक्टर हुँदा केही सहज भएको थियो । हाल एक जना डाक्टर टीका राईको सरुवा भएको छ भने एक जना तिहार बिदामा हुँदा जिल्लामा शल्यक्रिया गर्न पनि निकै अप्ठेरो भएको छ ।

‘विगतमा सुत्केरी महिलाको शल्यक्रिया गर्दा केही समस्या पनि नआएका हैनन्, काम गर्दागर्दै स्थानीयवासीबाट साथ पाइएन । अहिले त हामीसँग जनशक्ति पनि छैन जोखिम मोल्न सकेनौं म आफैं गएर बिरामीलाई गाडीमा राखेर राति नै ‘रिफर’ गरेको छु”, डाक्टर रोहितले भने ।

प्रसव पीडामा छट्पटाइरहेकी विकलाई सहयोग गरी आमा र बच्चा दुवैको ज्यान बचाउन सकिएकामा नगरप्रमुख बडुवालले खुशी व्यक्त गरे । जिल्ला अस्पतालमा यस्ता घटनाहरु बारम्बार आइरहे पनि अस्पतालको क्षमता विस्तार गरी आवश्यक सेवासुविधा पुर्‍याउन आवश्यक व्यवस्थापनका लागि सम्बद्ध निकायमा आफू लागिपरेको नगरप्रमुख बढुवालले बताए । केही महीनायता सुत्केरी व्यथाकै कारण बाजुरामा दुई महिलाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment