१३ असोज, गोरखा । पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि शहीद लखन गाउँपालिका ३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ ।
सहिदलखन गाउँपालिका–३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेशन(चेरेस) जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि तीनवटा टोलका स्थानीय र तीर्थयात्री मर्कामा परेका वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिए।
पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्ग जान समस्या भएको छ । त्यहाँबाट कुरिनटार र मुग्लिनका विद्यालय, कलेज जाने ५० जनाभन्दा धेरै विद्यार्थीहरुलाई पनि समस्या भएको छ । त्यहाँका किसानले उत्पादन गरेको तरकारी बेच्न बजार जान र बजारबाट अत्यावश्यक सामान किन्न जान पनि समस्या भएको छ ।
उनले भने, ‘यहाँ पुल नभएपछि अर्को पुल तर्न डेढदेखि दुई घण्टा घुमेर ठेउवाटार पुग्नुपर्छ ।’
यसअघि केवलकार चढ्न नसक्ने वा नचाहने मनकामनाका तीर्थयात्री सो पुल तरेर सिलिङटार पुग्ने र त्यहाँबाट बस, जिप चढेर मन्दिर पुग्ने गर्थे । ‘पुल नभएपछि भक्तजनलाई पनि समस्या भएको छ’, वडाध्यक्ष पाण्डेले भने, ‘यसपटक त यस्तरी बिग्रियो कि, पुलको जिप राख्ने ठाउँसमेत छैन।’ दुई बर्षअघि पनि सो पुललाई बाढीले क्षति गरेको थियो ।
प्रतिक्रिया 4