Comments Add Comment

नेवार समुदायले किजा पूजा मनाउँदै, सरकारले दियो सार्वजनिक विदा

१३ कात्तिक, काठमाडौं । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने उनीहरुको भनाइ छ ।

कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् ।

किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै सो दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ ।

नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले मंगलबार नै म्हः पूजा गरे । कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment