Comments Add Comment

डि जोङ बने पुरुष भलिबलको मुख्य प्रशिक्षक

१३ कात्तिक, काठमाडौं । नेदरल्यान्ड्सका लेस्ले डि जोङले नेपाली पुरुष भलिबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले डच प्रशिक्षक डि जोङ नेपाली टिम सम्हाल्न यसै साता आउने बताए । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लागि मुख्य नजर गर्दै करिब एक महिनाको लागि डि जोङले नेपाली पुरुष भलिबल टिम सम्हाल्ने छन् ।

डि जोङलाई नेपाली भलिबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई सिफारिस गरेको थियो । राखेपले पनि स्वीकृति दिएपछि एक महिनाको लागि उनलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको संघले जानकारी दिएको छ ।

महासचिव चन्दले भने, ‘२०१८ मा जाकार्तामा भएको एसियन गेम्समा जानु भन्दा अगाडि ४५ दिन उहाँले नेपाली टिमलाई अभ्यास गराउनुभएको थियो । उहाँको प्रशिक्षणमा हाम्रो टिमले एसियन गेम्समा १५ औं स्थान हासिल गरेको थियो । उहाँ अनुभवी प्रशिक्षक हुनुहुन्छ । त्यसैले हामीले फेरि पनि नियुक्त गरेका हौं ।’

नेपाली टिमले नोभम्बर ९ तारिखदेखि बेंग्लोरमा भारतीय टिमसँगै अभ्यास गर्ने छ । त्यस्तै, भारतसँग नेपालले तीन खेलको मैत्रीपूर्ण अभ्यास खेल पनि खेल्ने छ । अभ्यास खेलको लागि भारतीय भलिबल संघले नेपाल भलिबल संघलाई पत्रचार गरिसकेको महासचिव चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment