Comments Add Comment

छापामा आज : बढ्यो निर्यात, घट्दै व्यापार घाटा

भेटघाट रोकेर आराम गर्दै प्रधानमन्त्री

१६ कात्तिक, काठमाडौं । थुनछेक बहसका क्रममा महराले दिएको बयान, प्रधानमन्त्रीको स्वास्थ्य, छठको रौनक, रौतहट बम विस्फोट प्रकरणबारे प्रहरीले निकालेको निष्कर्ष, व्यापार घाटामा देखिएको सुधारलगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । साथमा शनिबारीय सामग्रीहरू त छँदैछन् ।

छठका लागि सजाइएको वीरगञ्जको एक पोखरीको तस्वीर छापेको कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार मृर्गौलाको डायलासिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री ओली नियमित भेटघाट रोकेर आराम गरिरहेका छन् । चिकित्सकहरूले आराम जरुरत रहेको सुझाएपछि प्रधानमन्त्री ओलीले भेटघाट रोकेर आराम गरेका हुन् ।

चालू आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा निरन्तर घटेको अर्को खबरलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा कम भएको समाचारमा उल्लेख छ ।

भन्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ । व्यापार घाटा १०.०२२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको र निर्यात घटेको छ ।

अन्नपूर्णले छठसँग सम्बन्धित सामग्रीलाई आज विशेष प्राथमिकताका साथ छापेको छ । यसबाहेक बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले थुनछेक बहसका क्रममा दिएको बयानलाई पनि अन्नपूर्णले समेटेको छ । अन्नपूर्णका अनुसार, बयानका क्रममा महराले ओहदाको मर्यादा राखेको बताएका छन् । आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको जिकिर पनि उनले गरेका छन् ।

नागरिकले नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको लेखेको छ । प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएका प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाइ जन्मकैद सजाय माग दाबी गरिएको समाचारमा उल्लेख छ ।

राजधानीले वित्तीय पहुँचमा वृद्धि भएको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रले पोषणयुक्त खाना खुवाउन राष्ट्रपतिले गरेको आग्रहलाई मुख्य समाचार बनाएर छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका मुखपृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment