Comments Add Comment

आलमलाई जन्मकैदको मागदाबीसहित आज मुद्दा दर्ता हुँदै

साक्षी बसे तत्कालीन प्रहरी महानिरीक्षक राणा

१८ कात्तिक, रौतहट । कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुँदै छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ । उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

दुई विकल्प

पीडित परिवारले आलमलाई तत्कालीन मुलुकी ऐनअनुसार सर्वस्वसहित जन्मकैदको माग गरेका थिए । तर, २०७४ सालमा आएको नयाँ मुलुकी अपराध संहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन । त्यसैले प्रहरीले आलमलाई आजीवन काराबासको सजायँ मागदाबीसहित सरकारी वकिलको कार्यालयमा राय पेस गरेको छ ।

मुलुकी अपराध संहिता लागू हुनुभन्दा अगाडिको घटना भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदको मागदावीको विकल्प पनि दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्तासमेत रहेका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको हत्या कसुरमा आलमलाई २५ वर्ष जेल, बम विष्फोटमा घाइते भएर बाँचेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसुरअन्तर्गत १० वर्ष जेल र विष्फोटक पदार्थ बनाएको कसुरमा पनि १० वर्ष जेल सजाय दिन प्रहरीले माग दाबी गरेको जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले बतायो । प्रहरीको मागदाबीअनुसार अदालतले फैसला गरेमा आलमलाई ४५ वर्षसम्म जेल सजायँ हुनसक्छ ।

साक्षी बसे तत्कालीन प्रहरी महानिरीक्षक राणा

प्रहरीको अनुसन्धान रिपोर्टमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई साक्षीका रुपमा पेश गरिएको छ । प्रहरीलाई उनले गरिदिएको कागजमा आफूलाई घटनाबारे जानकारी भएको र तत्कालै कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको उल्लेख छ ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहित अन्य १० जनाविरुद्ध पनि मुद्दा चलाउन लागेको छ । मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहविरुद्ध मुद्दा चलाउन लागिएको हो ।

बम विष्फोटमा घाइते भएकाहरुलाई जलाइएको इँटाभट्टाका मालिक मुक्ति साहलाई मतियारको रुपमा मुद्दा चलाइँदै छ । प्रमाण नष्ट गर्ने उद्देश्यले इँटा भट्टा मासेर हाल धान खेत बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment