
१९ कात्तिक, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सांसदहरुको ‘कोरम’ नपुगेर स्थगित भएको छ । मन्त्री लालबाबु पण्डित आधा घण्टा कुरेर समितिको बैठक कक्षबाट बाहिरिए ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न मंगलबार बिहान ११ बजे बैठक बोलाइएको थियो । तर, कर्मचारीहरु समयमै आउने, तर सांसदहरु समयमा नआउने सधैंको जस्तो समस्या मंगलबारको बैठकमा पनि देखियो ।
बैठक बस्न नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव यादव कोइरालासहितका सांसदहरु फर्किएका छन् । बैठक कक्षबाट बाहिरिँदै मन्त्रालयका सचिव कोइरालाले भने, ‘माननीयहरु आउनु भएन, दुर्भाग्य हामी निस्कनु पर्यो ।’
चाडपर्वको लामो बिदापछि बोलाइएको समितिको बैठकमा मन्त्री र सांसदहरुले करिब आधा घण्टासम्म कुरेका थिए ।
राज्य व्यवस्था तथा सुशासन समिति २५ सदस्यीय छ । बैठक बस्न कम्तिमा ५१ प्रतिशत सदस्यहरुको उपस्थित हुनुपर्छ ।
बैठकमा समिति सभापति शशी श्रेष्ठ, पम्फा भुसाल, जनार्दन शर्मा, अमरेस कुमार सिंह, डिला संग्रौलामात्र उपस्थित थिए । सांसदद्वय नवराज सिलवाल र प्रेम सुवाल भने बैठक स्थगित भइसकेपछि आइपुगेका थिए ।
मंगलबार नै बोलाइएको अर्थ समितिको बैठक पनि कोरम नपुगेर स्थगित भएको छ ।
प्रतिक्रिया 4