Comments Add Comment

रामेछापमा मासिदै प्राचीन पोखरीहरु

१९ कात्तिक, रामेछाप । मानवीय अतिक्रमणका कारण रामेछापका प्राचीन पोखरीहरु मासिदै गएका छन् । जमिनलाई चिस्यानयुक्त बनाइ पानीका मूल जोगाउन सहयोग पुर्‍याउने यस्ता पोखरीहरु अतिक्रमणका कारण मासिदै गएका हुन् ।

वर्षामा परेको पानी जम्मा गरी वरिपरिको जमिनलाई चिस्यानयुक्त बनएर पानीका मूलहरु समेत जोगाउने यस्ता पोखरीहरु मासिएका छन् । वर्षामा परेको पानी जम्मा हुने यस्तो पोखरीहरुमा भैंसी आहाल बस्ने तथा गाईबस्तुले पानी खाने गरेको रामेछाप नगरपालिका–८ बाबियाखर्कका दामोदर घिमिरे बताउँछन् ।

‘हाम्रो घरमुनि छेत्रेपोखरी भन्ने पोखरी थियो । वर्षामा परेको पानी जम्म हुने सो पोखरीमा चैतमा पनि पानी हुन्थ्यो । दिनभरी भैंसीहरु पोखरीमा आहाल बस्थे । जंगल चर्न जाने गाई गोरुले बिहान बेलुका सोही पोखरीमा पानी खान्थे’,उनले विगत सम्झिए ।

अहिले छत्रेपोखरीमा हिउँदमा हैन वर्षामा पनि पानी जम्दैन । सडक खन्दा थुपारिएको माटो बगाएर पोखरीमा पुर्‍याइ पोखरी पुरिएको छ । यसै गरी सोही गाउँको ठूला पोखरी, माझकुवा पोखरी र बारसल्ले धारोको पोखरी पनि अहिले मासिएका छन् । पोखरीमा पानी छैन् । पोखरी मासिएसँगै त्यस आसपासका पानीका मुहानहरु पनि सुकेका छन् ।

रामेछापको ऐतिहासिक दोरम्बाको काली पोखरी मासेर पोखरीलाई खेल मैदान बनाइएको छ । दोरम्बाको शीरमा २ वटा ठूला ठूला पोखरी थिए । तिनै २ वटा पोखरी भएकै कारण संस्कृत भाषाको ‘दो अम्ब’ बाट अपभ्रम्स हुँदै दोरम्बा नाम रहेको स्थानीय बताउँछन् । काली पोखरीमा पहिला निलो पानी जम्ने गरेको स्थानीय मिनबहादुर घिसिङ बताउँछन् । ‘खेल मैदान बनाउने भनेर पोखरी मासियो । न पोखरी रह्यो, न खेल मैदान बन्यो’ उनी भन्छन् ।

पोखरीकै नामले परिचित फुलासी पोखरीको पोखरी पनि अतिक्रमणमा परेको छ । स्थानीय र विद्यालय भवन बनाउने क्रममा भएको अतिक्रमणको कारण पोखरीको आकार साँघुरिदै गएको छ । पोखरीमा पानी पनि जम्न छाडेको छ । अब पोखरी नाममा मात्र सिमित हुने अवस्थामा पुगेको छ ।

उता तत्कालीन नेकपा माओवादीले रामेछापको जिल्ला जनसरकार घोषणा गरेको कखुरे आहालको आहल पनि सडकको माटो गएर आधा भन्दा बढी पुरिएको छ । केही वर्षमा सो आहाल पनि पुरिएर नाममा मात्र सिमित हुने अवस्था आएको छ ।

पोखरी तथा आहालहरु मासिदै जाँदा पानीका साना मुहान पनि सुक्दै गएका भूगोलविद देवशंकर पौडेल बताउँछन् । ‘पोखरी तथा आहालहरुले जमिनमा पानीको रिचार्जको काम गर्दछन् । आहल नै मासिएपछि कहाँबाट जमिन रिचार्ज हुनु र मूलमा पानी आउनु । ढलान गरेर कुलो बनाउने, पोखरी पनि प्लास्टिक राखेर बनाउने । जमिनले पानीनै सोस्न नपाएपछि कहाँबाट मुल फुट्छन्’, उनले भने ।

पछिल्लो समय सडक खन्दा फालिने माटोको कारण पनि धेरै पोखरीहरु मासिएका छन् । कतिपय पोखरीहरु खेल मैदान बनाउने भन्दै डोजर लगाएर पुर्ने र सम्याउने गरिएको छ ।

पोखरी तथा आहालहरु मासिएका कारण पानीका मुहान सुकेको भन्दै खाँडादेवी गाउँपालिकाले सुक्खा क्षेत्रमा वर्षाको पानी संकलन गर्ने रिचार्जेवल पोखरी निर्माण गर्ने नीति लिएको छ । सो पालिकाको वडा नं ५ पकरबासमा गतवर्ष १२ वटा रिचार्जेवल आहालहरु बनाईको वडाध्यक्ष तुलशीदास श्रेष्ठले बताए । यसै गरि वडा नं ४ मा पनि २ वटा पोखरीहरु बनाइएको वडाध्यक्ष धनबहादुर मानन्धरले बताए । यस्तो पोखरीहरु बनाउने कामलाई निरन्तरता दिने उनीहरु बनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment