Comments Add Comment

स्वीकृति नलिई भित्रिएको विदेशी लगानी छानविन गर्न समिति गठन

२० कात्तिक, काठमाडौं । सरकारले स्वीकृति नभई नेपाल भित्र्याइएको विदेशी लगानीबारे छानबिन गर्ने भएको छ । औद्योगिक प्रवर्द्धन बोर्डको बैठकले यसबारे छानबिन गर्न दुई वटा समिति गठन गरेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ ।

नेपालमा नगद भित्र्याइसकेको एक अमेरिकी कम्पनीको लगानी के गर्ने भन्नेबारे सुझाब दिन र त्यस्ता लगानी कति छन् भन्ने खोजी गर्न दुई समिति बनाइएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए । भट्टराई आफै संयोजक रहेको समितिलाई अहिलेसम्म कति त्यस्तो लगानी नेपालमा छ भन्नेबारे खोज्न कार्यदेश दिइएको छ ।

यस्तै मन्त्रालयका औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख सह–सचिव शोभाकान्त पौडेल संयोजक रहने गरी एक अमेरिकी कम्पनीको लगानी अवस्था अध्ययन गर्न आठ सदस्यीय समिति बनाइएको छ ।

अमेरिकी कम्पनी एमएस निभ इन्भेस्टमेन्टले स्वीकृति नलिई भित्र्याएको १ लाख अमेरिकी डलर स्वीकार गर्ने कि नगर्ने छानविनसहितको राय पौडेलको समितिले बोर्डमा बुझाउनु पर्नेछ । सन् २०१४ मा नै लगानी ल्याएको उक्त कम्पनीले गत वर्ष मात्रै लगानी स्वीकृति गराएको थियो ।

कानुनत स्वीकृतिबेगर लगानी ल्याउन पाउने प्रावधान नरहेकाले छानबिनको प्रक्रिया थालिएको प्रवक्ता भट्टराईले बताए ।

‘विदेशी लगानी व्यवस्थित गर्न बनेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ तथा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्त्रण ऐन २०७५ अनुकुल नदेखिएकोले खोजी थालिएको हो,’ सहसचिव भट्टराईले भने ।

एक महिना अनुसन्धान समयअवधि तोकिएको समितिले अनौपचारिक छलफल थालिसकेको सहसचिव दिनेश भट्टराईले जानकारी दिए । लगानी स्वीकृत गराउँदा लगानी गर्न चाहेको क्षेत्र परिवर्तनका माग पनि लगानीकर्ताबाट आएका कारण यो विषय कसरी सल्टाउने भन्नेबारे पनि अध्ययन हुने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment