Comments Add Comment

यात्रुसँग बढी भाडा लिने एक पक्राउ

२० कात्तिक, वीरगञ्ज । प्रहरीले बारा-पर्सामा चाडवाडको बहानामा बढी भाडा लिने टाटासुमोलाई धमाधम कारबाही सुरु गरेको छ । बुधबारसम्म बारा पर्सामा ९ वटा टाटासुमो कारबाहीमा परिसकेका छन् ।

बारा प्रहरीले बुधबार बाराको कलैया उपमहानगरपालिका–१ भरतचोकबाट एउटा टाटासुमो नियन्त्रणमा लिएको हो । कलैयाबाट–काठमाण्डौ प्रति यात्रु ६ सय रुपैयाँ भाडा लिनुपर्नेमा १ हजार भाडा उठाइएको थियो ।

त्यसैको विरुद्धमा करैयामाई गाउँपालिका–८ बस्ने केशव यादवले प्रहरीमा उजुरी गरेका थिए । उजुरी लगत्तै जिल्ला प्रहरी कार्यालय बाराबाट गएको टोलीले बढी भाडा कलैया–१७ ब्रहमपुरीका ४९ बर्षीय विरेन्द्र हजरालाई प्रहरीले पक्राउ ग र्‍यो । हजाराविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय बाराबाट दिन ७ को म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

चाडवाडको मौका छोपी वीरगञ्ज–काठमाडौं चल्ने कतिपय टाटा सुमोले पनि बढी भाडा लिँदै आएका छन् । केही टाटासुमो कम्पनीहरुले चाडवाडमा गाडी छैन भन्ने र बढी भाडा दिनेलाई मिलाईदिने गरेका थिए ।  उनीहरुले यात्रुलाई ‘रिजर्भ हो ’ भनी भन्न लगाउने गरेको पाइएको थियो ।

टिकटमा ५ सय ५० नै लेख्ने तर पैसा पैसा लिँदा एउटै यात्रुसँग ५ सयदेखि १२ सयसम्म लिएको पाईएको उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेल बताउँछन् । ट्राफिक प्रहरीसँगको समन्वयमा कतिपय यात्रुको भाडा फिर्ता गराई लाइसेन्स र ब्लुबुक राखेर काठमाडौं पठाइएको उनको भनाइ छ ।

चाडवाड कै बीचमा बढी भाडा असुल्ने ८ वटा टाटा सुमो नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

तोकेको रेट भन्दा बढी भाडा लिएको गुनासो र उजुरीको आधारमा टाटा सुमो नियन्त्रणमा लिइएको हो । ‘ चाडवाडकै बीचमा ४५ जना यात्रुसँग बढी लिएको २२ हजार ५ सय रुपैयाँ फिर्ता दिन लगाएका छौं,’ ट्राफिक प्रहरी निरीक्षक सिंहले भने, ‘ राजीखुशी जति पनि तिरेर जाँदा त हामीलाई पनि थाहा हुन्न, गुनासो आएपछि कानूनी कारबाही गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment