Comments Add Comment

बाँके र बर्दियामा बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी   

२१ कात्तिक, बाँके । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ ।

बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।

बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताए ।

निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका हुन् । अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणमा मङ्गलबार एक माउतेको मृत्य भएको छ । निकुञ्जभित्र गैँडा मचान नजिक पाटेबाघको आक्रमणबाट माउतेको मृत्यु भएको छ । २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रूपमा कार्यरत बर्दिया ठाकुरबाबा नगरपालिका–७ मोहनपुरका ४५ वर्षीय निकुञ्जका माहुते मङ्गरे थारूको मृत्यु भएको हो । हात्तीका लागि घाँस काट्ने क्रममा पाटेबाघले थारूलाई झम्टेको निकुञ्जले जनाएको छ । बाँके र बर्दियामा पछिल्लो समयमा पाटेबाघको आक्रमण बढेको हो ।

विसं २०७६ भदौ ५ गते बिहीबार बर्दिया जिल्ला गेरुवा गाउँपालिका–४ मा पाटेबाघले आक्रमण गर्दा सोही स्थानका ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । उहाँ घरनजिकै खेतमा घाँस काट्दै गर्दा बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको थियो । आपसमा जोडिएका बाँके र बर्दिया निकुञ्जको सीमावर्ती क्षेत्रका स्थानीयवासी अहिले त्रसित छन् ।

यो घटना सेलाउन नपाउँदै बर्दियाकै ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ खानेपानी ट्याङ्की नजिक २०७६ भदौ ८ गते आइतबार बिहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीयवासी ७० वर्षीय पहरिया थारूको मृत्यु भएको थियो । बङ्गुरलाई दाना दिन हिँड्नुभएका थारूलाई बाघले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै गत माघ २१ गते बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा स्थानीयवासी ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । सोही घटनामा बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा सामान्य घाइते भएका थिए । बाघको आक्रमणको घटनाबाट बाँके पनि अछुतो रहेन । बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिमा २०७६ जेठ ३ गते सोमबार साँझ तीन जनालाई पाटेबाघले आक्रमण गरेर घाइते बनायो । घाइतेमध्ये ५० वर्षीय दीपबहादुर श्रीष गम्भीर घाइते भएपछि उनी नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारपछि निको भएर घर फर्किएका थिए ।

बाघको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालय बर्दियाले सबैलाई सजग र सचेत रहन आग्रह गर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गरी हटाउने कार्य गरिरहेको छ । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेका घटना एकपछि अर्को गर्दै दोहोरिन थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ ।

ठाकुरबाबा नगरपालिका बर्दियाका लक्ष्मण थारूले भने, “बाघ र अन्य वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौती थपिएको छ ।” मानव बस्तीमा बाघ तथा वन्यजन्तु प्रवेश गरेर धनजनको नोक्सानी गरिरहँदासमेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो नदिएको उनको भनाइ छ ।

“यसरी मानव बस्तीमै पुगेर वन्यजन्तुले आक्रमण गर्दा सोबाट बच्न प्रतिकार गर्दा निकुञ्जले कानून लगाउँछ, पक्रिन्छ, प्रतिकार नगरौँ आफ्नै ज्यान जोखिममा छ”, उनले आफ्नो पीडा सुनाउँदै भने । नेपालको कानूनअनुसार वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले रु १० लाख उपलब्ध गराउने गरेको छ ।

सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको सङ्ख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुले गर्ने आक्रमण न्यूनीकरणका लागि सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment