Comments Add Comment

रामेछापमा प्रभावकारी बन्न सकेन स्वास्थ्य बीमा कार्यक्रम

 

२१ कात्तिक, रामेछाप । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम रामेछापमा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । जिल्लमा २ वर्षमा ८ हजार घर परिवार पनि स्वास्थ्य बीमाको पहुँचमा पुगेका छैनन् ।

रामेछाप जिल्लामा हाल सम्म ७ हजार ६ सय २५ परिवारले मात्र स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड रामेछापका प्रमुख यज्ञराज ढुंगेलले बताए । जिल्लामा ५० हजार भन्दा बढी घर परिवार छन् ।

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वाथ्य विकास समिति मार्फत स्वास्थ्य बीमाको योजना ल्याएको थियो । कार्यक्रम अन्तर्गत एक परिवारका ५ जना सदस्यसम्मको लागि वार्षिक ३ हजार ५ सय रुपैयाँको बीमा शुल्क तिर्दा बीमा कार्यक्रम लागू भएको स्वास्थ्य संस्थाबाट १ लाख रुपैयाँसम्म निशुल्क उचार हुने गर्दछ । त्यो भन्दा बढी परिवार हुनेले प्रति सदस्य थप ७ सय रुपैयाँ शुल्क तिर्नु पर्दछ ।

बीमा कार्यक्रम लागू भएको २२ महिनामा रामेछाप जिल्लाका ७ हजार ६ सय २५ परिवारका २३ हजार ९८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जसमा १२ हजार २ सय २ जना पुरुष र १० हजार ८ सय ९६ जना महिला रहेको ढुंगेलले बताए । ढुंगेलका अनुसार सबैभन्दा धेरै मन्थली नगरपालिकामा बीमा भएको छ । मन्थली नगपालिकाका ७ हजार ६ सय ९९ जनाले बीमा गर्दा रामेछाप नगरपालिकाका १ हजार ७ सय १९ जनाले मात्रै स्वास्थ्य बीमा गराएका छन् ।

यसैगरी लिखु तामाकोशी गाउँपलिकाका १ हजार ७ सय ८२ ,गोकुलगंगा गाउँपालिकाका २ हजार १ सय ९९ , उमाकुण्ड गाउँपालिकाका १ हजार ९ सय १८ जना नागरिकले आफ्नो स्वास्थ्य बीमा गराएका छन् । त्यस्तै खाँडादेवी गाउँपालिकाका १ हजार ४ सय ९९, दोरम्वा गाउँपालिकाका २ हजार ५ सय ३६ र सुनापति गाउँपालिकाका ३ हजार ७ सय ४६ जनाले स्वास्थ्य बीमा गराएको   ढुंगेलले बताए ।

हालसम्म जिल्लाका २ हजार ४५ जना ७० वर्ष कटेका जेष्ठ नागरिकले स्वास्थ्य बीमा गराएको उनको भनाइ छ । जेष्ठ नागरिकलाई स्वास्थ्य बीमा गर्दा कुनै शुल्क लाग्दैन । तर जेष्ठ नागरिकहरुको समेत उल्लेख्य बीमा हुन सकेको छैन । जेष्ठ नगारिकको बीमा शुल्क सरकारले नै व्यहोर्दछ । बीमाका अभिकर्ताहरुले चासो नदिँदा बीमा कार्यक्रम प्रभकारी हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment