Comments Add Comment

‘अकुपाई टुँडिखेल अभियान’ मा राजनीति रंग देखियो : मेयर शाक्य

२१ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘अकुपाई टुँडिखेल अभियान’ मा राजनीतिक गन्ध आएको बताएका छन् । बिहीबार काष्ठमाण्डप सामूदायिक अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रम बोल्दै उनले अभियान राम्रै भए पनि राजनीतिक रंग दिन नहुने  बताए ।

‘टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा महानगरपालिका सकारात्मक छ, तर, अभियानको बाहनामा केहीले राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी गरे भने त्यो राम्रो होइन’ उनले भने ।

टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राख्ने दायित्व महानगरपालिकाको पनि भएको भन्दै उनले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले पनि सक्दो प्रयास गर्ने बताए ।

बिहीबारमात्रै खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै ‘अकुपाई टुँडिखेल अभियान’ घोषणा गरिएको थियो । यस अयिानमा नेपाली काँग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान समेत सहभागी छन् ।

पूर्वमन्त्री प्रधानप्रति संकेत गर्दै मेयशर शाक्यले भने  ‘आफू रक्षामन्त्री रहेका बेला सेनालाई संरचना निर्माण गर्न अनुमति दिने अनि अहिले सरकारमा नभएको मौका छोपेर टुँडिखेल मिचियो भन्दै हल्ला गर्ने कुरा राजनीतिक पूर्वाग्रहबाहेक केही पनि होइन ।’

दरबार हाइस्कुल, धरहरा र विर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको र ती संरचनाका निर्माण पूरा हुनेवित्तिकै खुलामञ्च खाली हुने उनले दावी गरे ।

उनले आफू काठमाडौँ महानगरको स्थायी बासिन्दा भएको भन्दै मेयरको पद अस्थायी भएकाले महानगरवासीको हितलाई सर्वोपरी ध्यानमा राखेर काम गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

मेयर शाक्यले शंखधर उद्यानमा शंखधरको शालिक निर्माण गर्ने प्रक्रियालाई महानगपालिकाले अघि बढाएको जानकारी समेत दिएका छन् । यस अघि बिहीबार नै शंखधर दिवसको अवसरमा अ महानगरको वडा नम्बर– १५ स्थित लखतिर्थमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘शंखधर उद्यानमा राष्ट्रिय विभूति शंखधरको शालिक निर्माणका लागि महानगरपालिकाले बजेट छुट्याएको छ,’ उनले भने, ‘शंखधरको शालिक निर्माणमा उनको तस्वीरमा एकरुपता कायम होस् भनी त्यो तयारीमा पनि महानगरपालिका जुटेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment