+
+
Shares

‘सित्तैमा बीमा हुँदैन, गलत प्रचार गर्नेलाई कारबाही हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते १७:५१

२२ कात्तिक, काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सित्तैमा कुनै पनि बीमा नहुने बताएका छन् । बीमा कम्पनीहरुको नियमनकारी निकायका कार्यकारी निर्देश पौडेलले केही कम्पनीहरुले सित्तैमा बीमा भनेर स्किम बाँड्ने गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन् ।

काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुन लागेको बैंक, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनीबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ स्किम ल्याएको भन्दै गलत प्रचार नगर्न बीमा कम्पनीहरुलाई निर्देशनसमेत दिएका छन् ।

कुनै कम्पनीले निःशुल्क बीमा भन्दै प्रचार गरे कारबाही हुने कार्यकारी निर्देशक पौडेलले चेतावनी दिए । ‘निःशुल्क बीमा भनेर प्रचार गर्ने गरेको सुनेका छौं, नि:शुल्क बीमा हुँदैन भ्रममा नपर्नु होला, उनले भने, ‘बीमा गर्नका लागि प्रिमियम शुल्क तिर्नै पर्छ, निशुल्क बीमा भनेर अन्य विधिबाट कसैले रकम लिए कारबाही हुन्छ ।’

पौडेलले पछिल्लो समय बीमामा नागरिकको पहुँच बढेको समेत बताए । बीमाबारे पछिल्लो समय जनचेतना समेत बढेकाले बीमामा आकर्षण देखिएको उनले बताए । पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगार म्यादी बीमा समेत जोड्दा २५ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेको पौडेलले बताए ।

बीमामा नागरिकको पहुँच बढाउनका लागि स्थानीय तहमा बीमा कार्यक्रमसमेत समितिले सञ्चालन गरिरहेको उनले बताए । उनका अनुसार भोलि शनिबारदेखि घुम्ति बीमा कार्यक्रमसमेत सुरू हुँदैछ ।

‘जहाँ पुग्यो त्यहीँ बीमा गर्ने उद्देश्यले घुम्ति बीमा कार्यक्रम पनि सञ्चालन हुँदैछ,’ उनले भने, ‘भोलि नै प्रदेश २ को जनकपुरमा घुम्ति बीमा कार्यक्रम सञ्चालन हुँदैछ, त्यसका लागि काठमाडौंमा टिम गइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?