Comments Add Comment

बुढीगण्डकीमा २७ अर्ब मुआब्जा वितरण, मुख्य बजार क्षेत्र नै बाँकी

२४ कात्तिक, गोरखा । बुढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रको जग्गा खरिदमा सरकारले हालसम्म २६ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ ।

आयोजना प्रभावित गोरखा र धादिङ जिल्लाका १३ हजार ३८५ जना जग्गाधनीलाई मुआब्जा रकम वितरण गरेको बुढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले जनाएको छ ।

सवैभन्दा बढी मुआब्जा रकम आर्थिक बर्ष २०७५/७६ मा वितरण भएको इकाइ प्रमुख कृष्ण कार्कीले बताए । त्यो बर्ष ११ अर्व ३१ करोड, २०७४/७५ मा १० अर्ब ८४ करोड २२ लाख, २०७३/७४ मा ४ अर्ब ३५ करोड मुआब्जा वितरण भएको छ ।

चालु आर्थिक बर्षको अहिलेसम्म ३४ करोड रुपैयाँ मुआब्जा वितरण भएको छ ।

मुख्य बजार क्षेत्र बाँकी नै

आयोजनाको डुवान क्षेत्रमा पर्ने मुख्य बजार क्षेत्र आरुघाट र आर्खेत र खहरेको मुआब्जा हालसम्म वितरण भएको छैन । डुवान क्षेत्रका अन्य धेरै जग्गाको मुआब्जा वितरण भएको ३ वर्ष भन्दा बढी भइसक्दा पनि मुख्य बजार क्षेत्रको मुआब्जा निर्धारण नै भएको छैन ।

बजार क्षेत्रका वासिन्दाले मुआब्जा निर्धारणको माग राखेर पटक पटक आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको छ ।

आयोजनाको डुवान क्षेत्रमा पर्ने १३ हजार ७१२ घरगोठको संरचना र ४५ हजार ९ सय ७० फलफूल तथा बोटविरुवाको तथ्याङ्क संकलन भएको छ । आरुघाट, आर्खेत र खहरे बजारको भने तथ्याङ्क संकलन भएको छछैन ।

घर गोठ लगायतका अन्य संरचनाको ह्रासकट्टी नगर्ने र लालपूर्जा नभएको तर फिल्ड वुक कायम भएकालाई मुआब्जा दिने निर्णय गरी मन्त्रालय पठाएको कार्कीले बताए । यस विषयमा उर्जा मन्त्रालयबाट आधिकारिक निर्णय आएको छैन ।

१२ सय मेगावाट क्षमताको जलासययुक्त आयोजनाबाट गोरखा र धादिङको साविकका २७ गाविसका वासिन्दा प्रभावित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment