Comments Add Comment

‘भुक्तानी प्रणालीको चुस्ततामा नेपाल धेरै अगाडि बढिसक्यो’

नेपालमा कुनै बेला चेक क्लियरिङ (एक बैंकको चेक अर्को बैंकको खातामा जम्मा) हुन महिना दिनसम्म कुर्नुपर्ने बाध्यता थियो । चेक क्लियरिङ गर्ने काम नेपाल राष्ट्र बैंककै एउटा युनिटभित्र हुने गर्थ्यो ।

१० वर्षअघि नेपाल क्लियरिङ हाउस लिमिटेड स्थापना गरियो । यसको डिजिटल प्रणालीले चेक क्लियरिङ एकै दिनमा हुनसक्ने बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीको संयुक्त लगानीमा स्थापित यस कम्पनीमा राष्ट्र बैंकको समेत लगानी रहेको छ । चेक क्लियरिङ गर्ने मूख्य उद्देश्य लिएको यस कम्पनीले अहिले भुक्तानी सम्बन्धी अन्य कामहरु पनि सुरु गरेको छ ।

कम्पनीको नेतृत्व निलेशमानसिंह प्रधानले गरिरहेका छन् । स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा नेतृत्व गरिरहेका प्रधानको कम्पनीमा अहिले दोस्रो कार्यकाल हो । काठमाडौं विश्वविद्यालयबाट बीई र इण्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट एमबीए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्षभन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव छ ।

ग्राहकसँग प्रत्यक्ष रुपमा धेरै नजोडिए पनि ग्राहकको सेवामा महत्वपूर्ण भूमिका रहेको नेपाल क्लियरिङ हाउसले के गर्छ त ?

प्रस्तुत छ, सीईओ प्रधानसँग अनलाइनखबरका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

नेपाल क्लियरिङ हाउसको पछिल्लो काम-कारबाही कसरी अघि बढिरहेको छ ?

नेपाल क्लियरिङ हाउस सुरु हुँदा चेक क्लियरिङको काम मात्र थियो । अहिले नेपालको राष्ट्रिय भुक्तानी प्रणालीहरु विस्तार गर्ने कामहरु भइरहेका छन् । केही नयाँ कामहरु शुरुआत गरिसकेका छौं भने केहि कामका लागि पूर्वाधार बनाउने काम गरिरहेका छौं ।

नेपाल राष्ट्र बैंकले विभिन्न प्रकारका भुक्तानी प्रणालीहरु अबलम्बन गरेको छ । यी प्रणाली कार्यान्वयनमा सहयोगी भूमिका निभाउँदै नेपाल क्लियरिङ हाउसले इलेक्ट्रोनिक चेक क्लियरिङ सिस्टम (एनसीएचएल इसीसी), अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली(एनसीएचएल आईपीएस), कनेक्ट आईपीएस पेमेन्ट सिस्टम सञ्चालन गरेको छ ।

एनसीएचएल आइपीएस गत तीन वर्षदेखि सञ्चालनमा छ । यसमा चेकविना नै निर्देशनका आधारमा कुनै एक बैंकको खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्ने सुविधा रहेको छ । साथै करिब एक वर्ष अघिबाट सञ्चालनमा आएको रियल टाइम पेमेन्ट गर्न सकिने सुविधा कनेक्ट आईपीएसमा रहेको छ । यसमा सोझै बैंक खाताबाट विभिन्न भुक्तानी तथा फन्ड ट्रान्सफर बैंकका ग्राहकले मोबाइल, कम्प्युटरजस्ता ग्याजेटको माध्यमबाट गर्न सकिने व्यवस्था रहेको छ ।

यस्तै अन्य प्रणालीहरुमा नेशनल पेमेन्ट इन्टर्फेस र राष्ट्र बैंकले ल्याएको आरटीजीएस (रियल टाइम ग्रोस सेटलमेन्ट) सिस्टम इन्टिग्रेसनमा भूमिका खेल्दै छौं ।

क्लियरिङ हाउसको आवश्यकता किन पर्छ ?

चेक, भुक्तानी आदेश, कार्ड लगायत विभिन्न प्रकारका वित्तीय उपकरणहरुवाट भुक्तानी, क्लियरिङ तथा राफसाफ गर्न आवश्यक भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने क्लियरिङ हाउसको काम हो ।

दक्षिण एशियाली देशहरुमध्ये नेपालमा निकै पछि २००८ मा क्लियरिङ हाउस स्थापना भयो । त्यसअघि क्लियरिङ हाउसको काम राष्ट्र बैंककै एउटा निकायले गर्ने गरेको थियो । केन्द्रीय बैंकले गर्दै आएकोे सिमित क्लियरिङको काम मात्रै नभएर अन्य भुक्तानीको कामहरु गर्नका लागि क्लियरिङ हाउसको कल्पना गरियो । त्यसपछि नेपाल राष्ट्र बैंकसमेतको लगानीमा बैंक तथा वित्तीय संस्थाहरुको सक्रियतामा नेपालमा यसको स्थापना गरिएको हो ।

नयाँ किसिमका भुक्तानी सम्बन्धी काम गर्न कत्तिको अप्ठेरो महशुस गर्नु भएको छ ?

हामी प्रविधिमा अहिले क्रमशः अघि बढ्दै गइरहेका छौं । चेक क्लियरिङबाट सुरु भएको हाम्रो यात्रा अहिले भुक्तानीका विविध पूर्वाधारहरु स्थापना र सञ्चालन गर्दै क्रमिक रुपमा अघि बढिरहेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक-वित्तीय संस्थाहरु लगायत विभिन्न निकायको सहयोग र समन्वयले गर्दा क्लियरिङ हाउसले ल्याएका भुक्तानी प्रणालीहरु सहजै कार्यान्वयन हुदै आएका छन् ।

क्लियरिङ गर्ने संस्था एउटा मात्रै भए पनि भुक्तानी प्रदायक संस्थाहरु नेपालमा अरु पनि धेरै छन्, यस्तो अवस्थामा कत्तिको चुनौती महसुस गर्नु भएको छ ?

नेपाल क्लियरिङ हाउस अलि फरक ढंगको संस्था हो । यसको उद्देश्य र सञ्चालनको तरिका फरक छ । राष्ट्रिय भुक्तानी प्रणालीका पूर्वाधारहरुको स्थापना, सञ्चालन र विस्तार गरी भुक्तानी क्षेत्रको विकास गर्ने प्रमुख उद्देश्य यस क्लियरिङ् हाउसको रहेको छ । सोही बमोजिम एनसीएचएलले भुक्तानीका लागि विभिन्न पेमेन्ट सिस्टमहरु लागू गर्दै बैंक-वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ ।

अहिले विभिन्न फिनटेक कम्पनीहरु मार्फत पनि भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी राष्ट्र बैंकले अनुमति दिने गर्छ । एनसीएचएलले बैंक वित्तीय संस्थाहरुसँगै त्यस्ता भुक्तानी प्रदायक संस्थाहरु (पीएसपी) र भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)हरुसँग समेत समझदारी र सहकार्य गर्दै अगाडि बढेको अवस्था छ । त्यसैले चुनौती भन्दा पनि इकोसिस्टम वृद्धिमा थप पहल गर्ने अवसर प्राप्त भएको छ ।

हाल राष्ट्र बैंकबाट स्वीकृती/एलओआई पाइसकेका गैरबैंक सेवा प्रदायकहरु (पीएसपी/पीएसओ)लगायतलाई हाम्रो भुक्तानी पूर्वाधारमा प्राविधिक सदस्यको रुपमा आवद्ध गर्दै गएका छौं । उहाँहरुले छुट्ट्रै पूर्वाधार निर्माण नगरी हाल प्रदान गरिरएका पूर्वाधारहरुलाई जोडी सजिलै कार्य सञ्चालन गर्न सक्छन् भने ग्राहक र सेवा विस्तारमा ती संस्थाहरु लागेका छन् । राष्ट्रिय स्तरको क्लियरिङ हाउसले गर्ने कार्य पनि यही हो जस्तो लाग्छ ।

तर ग्राहकहरुले भुक्तानी सेवाहरु लिने बेलामा राष्ट्र बैंकबाट लाइसेन्स पाइनसकेका वा अन्य कानुनी हिसाबबाट मान्यता नभएका संस्थाहरुबाट समेत सेवा लिँदा एनसीएचएल जस्ता संस्थाहरुलाई भने अलि समस्या रहेको छ ।

ग्राहकको नजरबाट हेर्ने हो भने यो कम्पनी स्थापना भएपछि चेक क्लियरिङमा कत्तिको सहजता भएको छ ?

हामीले नेपालमा सञ्चालन गर्दै गरेको चेक क्लियरिङलाई एनसीएचएल ईसीसी (इलेक्टि्रोनिक चेक क्लियरिङ) भन्छौं । यसमा टी प्लस जिरो सेटलमेन्टमा कारोबार राफसाफ हुन्छ । टी प्लस जिरो भनेको आज चेक क्लियरिङमा हाले आजै भुक्तानी प्राप्त हुने हो । टी प्लस जिरोमा सेटलमेन्ट गर्ने कम मात्रै मुलुकहरु मध्येमा हामी पर्छौ । यस अर्थमा हामी निकै अगाडि बढिसक्यौं । एनसीएचएल आईपीएस पनि टी प्लस जिरोसहितको सिस्टम हो भने कनेक्ट आईपीएस रियल टाइममा कारोबार गरिने प्रणाली हो । चेक वा आईपीएस जस्ता प्रणालीहरु आज पनि विभिन्न देशहरुमा टी प्लस वान/टी प्लस टू भइरहेको छ ।

क्लियरिङ हाउसले काम सुरु गर्नुअघि टी प्सल टू/टी प्लस ३ लाग्ने गरेको थियो । अझ काठमाडौं उपत्यका बाहिरको चेक क्लियरिङ हुन हप्तौसम्म लाग्ने गरेको थियो । यसै अर्थमा कारोबारको राफसाफ छिटो र सहज ढङ्गबाट हुने भएकोले ग्राहकहरुको नजरमा क्लियरिङका सेवाबाट निकै सहजता आएको छ ।

कारोबारको परिमाण र रकम चाहिँ कति बढिरहेको छ ?

पहिलो वर्षमा दैनिक औसतमा ८ देखि १० हजार ट्रान्जेक्सन बराबर १० अर्बको कारोबार हुने गरेको थियो । अहिले चेक क्लियरिङमा दैनिक औसत ५० हजारभन्दा बढी ट्राक्जेक्सनको ३० अर्ब रुपैयाँको कारोबार हुने गरेको छ । चेकमा अहिलेसम्म हामीले सबैभन्दा धेरै १०२ अर्बको कारोबार एक दिनमा क्लियरिङ तथा राफसाफ गरेको अनुभव छ ।

एनसीएचएल आईपीएसमा दैनिक ६/७ अर्बको कारोबार र कनेक्ट आईपीएस इपेमेन्ट सिस्टममा दैनिक ३० करोडको कारोबार हुँदै आएको छ । प्रत्येक वर्ष कारोबार संख्याको करीेब ५० प्रतिशत वृद्धि देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा एनसीएचएलको सिस्टमहरुबाट जम्मा १.६८ करोड कारोबार संख्यासहित ९२ खर्ब बराबरको कारोबार (ने.रु. कारोबारको मात्र) गर्न सफल भएको छ ।

हाल राष्ट्र बैंकले स्वीकृती दिएबमोजिम प्रति कारोबार रकम सीमा इलेक्ट्रोनिक चेक क्लियरिङमा ३० करोड रुपैयाँसम्म, आईपीएसको हकमा २० करोड र फन्डिङसम्बन्धी हो भने ५० करोड रुपैयाँसम्म र कनेक्ट आईपीएसको हकमा भने कुनै एक प्रयोगकर्ताले एक बैंकबाट दैनिक १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म कारोबार गर्न सक्छन् ।

प्रविधिको विकाससँगै विभिन्न भुक्तानी प्रणालीहरु बिस्तार हुँदा बैंक तथा वित्तीय संस्थाहरु र ग्राहकहरुले एनसीएचएलको प्रणालीहरुप्रति देखाएको विश्वासले कारोबारको संख्या र रकम राम्रै बढेको छ ।

कनेक्ट आइपीएस इपेमेन्टका मूख्य विशेषताहरु केके हुन् ?

पछिल्लो चरणमा हामीले कनेक्ट आइपीएस भनेर ल्याएका छौं । यो बैंकका ग्राहक आफैले मोवाइल, इन्टरनेट लगायतबाट आफ्नो बैंक खातामार्फत कारोबार गर्न सक्ने इपेमेन्ट सिस्टम हो ।

कनेक्ट आइपीएसले बैंक खाताबाट गरिने करोबारलाई थप सहज बनाएको छ । यो बैंक खाता भएका व्यक्तिहरुका लागि इलेक्ट्रोनिक भुक्तानी गर्ने एक सजिलो प्ल्याटफर्म हो, जसमा एउटै युजर आईडीमा एक भन्दा बढी बैंक खाता लिंक र भेरीफाई गरी भुक्तानी गर्न सकिन्छ । यस प्रणालिमा आबद्ध हुन बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्टिप्स डटकममा लग ईन गरी युजर आइडी बनाई आˆनो बैंक खाता लिंक गर्नुपर्ने हुन्छ ।

कनेक्ट आइपीएस इपेमेन्टमा के कस्ता सुविधाहरु रहेका छन् ?

कनेक्ट आइपीएसको माध्यमबाट ग्राहकहरूले अनलाइन फण्ड ट्रान्सफर, ई-कमर्शको भुक्तानी, क्रेडिट कार्ड/बिल भुक्तानी लगायत सरकारको राजस्व भुक्तानी गर्न सक्छन् । यस्तै, लोकसेवा आयोग आवेदन शुल्क, कम्पनी रजिष्ट्रार कार्यालयको कर, नागरिक लगानी कोषको शुल्क, सामाजिक सुरक्षा कोषको भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी र अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सक्छन् । ग्राहकको सुविधालाई ध्यानमा राखी हाल केही समयको लागी कनेक्ट आइपीएस युजरबीच फण्ड ट्रान्सफर नि:शुल्क गरिएको छ ।

साइबर सेक्युरिटी कत्तिको बलियो छ ? सुरक्षा चुनौती कत्तिको छ ?

सन्चालनमा रहेका ईसीसी र आईपीएस प्रणालीहरु एनसीएचएल तथा बैंक वित्तीय संस्थाहरुका आफ्नै नेटवर्कमा सञ्चालित हुने भएकाले सुरक्षा सम्बन्धी खतरा न्यून रहेको छ । कनेक्ट आईपीएसमा हामीले साइबर सेक्युरिटी सम्बन्धी विशेष ध्यान दिएका छौं । हामीले प्रयोग गर्ने प्रविधिहरु अन्तर्राष्ट्रियस्तरका रहेका र साइबर सुरक्षासम्बन्धी जोखिम न्यूनिकरण गर्न पूर्वाधारमा लगानी गरेका छौ । इपेमेन्टमा प्रयोगकर्ताहरुलाई भने थप सजग र सतर्क गराउन जरुरी रहेको छ ।

यसका लागि प्रविधिको प्रयोगसँगै जोडिएको जोखिमलाई न्यूनिकरण गर्ने र प्रयोगकर्तालाई यस सम्बन्धी उचित जानकारी गराउनु पर्ने आवश्यकता महसुस गरी यसमा लागी परेका छाैं ।

भावी योजनाहरु के छन् ?

भुक्तानी प्रणालीहरु सुरु गरिसकेपछि यसलाई प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाले तिनका ग्राहकहरुका साथै अन्य संयत्रलाई सहजीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनु पर्ने हुन्छ । भुक्तानी प्रणालीका पूर्वाधारहरुमा बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न सेवा प्रदायकहरु जोडी इकोसिस्टम वृद्धि गर्ने कार्यलाई निरन्तरता दिने योजना एनसीएचलको रहेको छ ।

साथै हाल सञ्चालनमा रहेका भुक्तानी प्रणालीहरुलाई थप सुदृढ गर्दै लाने तथा आवश्यक अन्य भुक्तानी प्रणाली निर्माण गर्न रिइन्भेस्टमेन्ट कन्सेप्टमा पुनःलगानी गरेर पूर्वाधारमा नै फोकस गर्ने हाम्रो कार्ययोजना रहेको छ । हामी राष्ट्रिय भुक्तानी प्रणालीका पूर्वाधारहरुमा पूनर्लगानी सहित इकोसिस्टम विकासमा केन्द्रित छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment