Comments Add Comment

केसीलाई लिन डडेल्धुरा पुगेको हेलिकप्टर रित्तै फर्कियो

२५ कात्तिक, काठमाडौं । डडेल्धुरामा अनसन बसेका डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेपछि उनलाई  लिन गएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले केसीलाई काठमाडौं पठाउन सोमबार विहान गृह मन्त्रालयसँग हेलिकप्टर माग गरेपछि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको थियो ।

तर डा. केसीले काठमाडौं जान अस्वीकार गरेपछि फेरि मन्त्रालयलाई अनुरोध गरेर हेलिकप्टर फिर्ता गराएको प्रमुख जिल्ला अधिकारी पौडेलले अनलाइनखबरलाई बताए ।

‘डा. केसीको स्वास्थ्य अवस्था नाजुग भएको र मेडिकल सुपरिटेण्डेन्टले पनि सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने भनिसकेपछि हेलिकप्टर मगाएको हो’ उनले भने ‘तर उहाँले काठमाडौं जान मान्नुभएन, सहयोगीहरुले पनि उहाँको इच्छाविपरीत केही गर्न नसक्ने बताएपछि किन कन्फ्रन्टेसन निम्त्याउने भनेर हेलिकप्टर फिर्ता पठाइएको छ ।’

केसीलाई लिन सेनाको हेलिकप्टर पुगेपछि सोमबार विहान डडेल्धुरामा डा. केसीका समर्थक र प्रहरीबीच तनाव सिर्जना भएको थियो । लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक राखेका थिए ।

बैठकमा डा. केसीका समर्थकले उनको सहमतिविपरीत कुनै निर्णय गर्न नसक्ने बताएका थिए । ‘विवाद गरेर जबर्जस्ती लैजानु भन्दा सहमतिकै प्रयास गरौं भन्ने राय आयो, त्यसैले पठाउन सकिएन’  उनले भने । डा. केसीलाई उपचार हुन सक्ने ठाउँ लैजानका लागि फेरि सर्वपक्षीय छलफल गर्ने पौडेलले बताए ।

अस्पताल प्रमुखसँग डा. केसीको असन्तुष्टि

अस्पतालले आफूलाई नसोधेरै विज्ञप्ति प्रकाशन गरेकोप्रति डा केसीले आपत्ति जनाएका छन् । उनले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जितेन्द्र कँडेलसंग असन्तुष्टि पोख्दै भने ‘म यहाँबाट जाँदै जान्न । म आफ्नो उपचारको लागि आएको होइन, जनताको अधिकारको लागि अनसन बसेको हुँ, जनताको अधिकार सुनिश्चित नभएसम्म जाँदैन ।’

डा. केसीले आक्रोशित हुँदै ‘ओलीको गुण्डागर्दी नचल्ने’ बताए । उनले जबरजस्ती गर्न नपाइने भन्दै गुण्डागर्दी बन्द गर्न सरकारलाई आग्रह गरे । उनले भने ‘मैले राखेका मागहरु पूरा गरोस् न सरकारले, म अनसन तोडेर आफैं काठमाडौं जान्छु, मलाई कसैले लैजानै पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment