 
																			२४ कात्तिक, पोखरा । लस्करै छन् साना घरटहरा । खाल्डीखुल्डी र धुलाम्मे छ सडक । उतिसाह्रो मान्छेहरुको चहलपहल छैन । नजिकै बसपार्कमा रहेका गाडीहरुको हर्नको आवाज बेलाबेला आइरहन्छ । पोखरा पृथ्वीचोक हुँदै चाइनिज पुलदेखि दक्षिण लागेपछि आउने सुकुम्वासी बस्ती हो यो ।
पुलको मुखैबाट ओरालो लागेर थोरै अगाडि बढेपछि सुकुम्वासी वस्तीकै बीचमा केही मान्छेहरु देखिए । उनीहरु चुनाव प्रचार टोलीलाई पर्खिरहेका रहेछन् । त्यहाँबाट पनि अलि अगाडि बढेपछि पोखरा बसपार्कको सुकुम्वासी बस्ती हुँदै उत्तरतर्फ आउँदै गरेको एउटा समूह भेटियो ।
चार तारे झण्डा, रुख चुनाव चिह्न बोकेको समूहमा निधारमा अबीर, गलामा माला लगाएर नमस्कार गर्दै हिँडिरहेका व्यक्ति देख्नासाथ थाहा भयो, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल घरदैलोमा आएका रहेछन् । अग्लो कद, शीरमा ढाका टोपी, दौरा सुरुवाल र कालो स्पोर्टस् जुत्ता लगाएका उनी आफैंले भन्दै थिए, ‘नमस्कार म खेमराज पौडेल, नेपाली कांग्रेसको उम्मेदवार । म त भोट माग्न आएको हजुर । यसपटक जे भए पनि रुखमा भोट हाल्नु होला ।’

कास्की २ मा हुने उपचुनावका लागि कांग्रेस लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर घरदैलो थालेको थियो । घरदैलो पोखरा बसपार्कको सुकुम्वासी बस्ती पुगेको थियो । उम्मेदवार खेमराज घरि नमस्कार गर्दै त घरि अंगालो मार्दै र घरि हात मिलाउँदै भोट माग्दै थिए ।
उनलाई सुकुम्वासी बस्तीका मतदाता चिनाउन व्यस्त थिए रामराज लामिछाने । कांग्रेसबाट विजयी वडा नम्बर ९ का वडाध्यक्ष । यो बस्ती त्यही वडामा पर्छ र लामिछाने अधिकांश मतदातालाई चिन्छन् ।
दलबलसहित खेमराज नमस्कार गर्दै एक महिला छेउ पुग्छन् र भन्छन्, ‘ल पहिलेको चुनावमा जेजस्तो भए पनि यसपटक मलाई जिताउनुस् । म तपाईंहरुको समस्या पूरा गर्छु ।’ महिला नमस्कार फर्काउँदै मुसुक्क हाँस्छिन् र भन्छिन्, ‘भोट त हालौंला । बरु यस्तो धुलो बाटो छ, हामीलाई त सधैं यस्तो हो, हजुरहरुलाई गाह्रो होला ।’ वडाध्यक्ष लामिछानेले सुकुम्वासी बस्तीको यो बाटो पिच गर्न बजेट विनियोजन भएर प्रक्रिया अगाडि बढिसकेको बताए ।
रामराजको भनाइसँगै खेमराजले थप्छन्, ‘यसअघि पटकपटक चुनाव जितेर पनि बाटो पिच हुन सकेन । अब हामीले पूरा गर्छौं ।’
सुकुम्वासी बस्तीका केही घरका ढोकामा चुकुल लगाइएका छन् । केही खुला । प्राय साना पसलहरु भने खुलेका छन् । ‘सुकुम्वासी बस्ती हो हजुर । धेरै जना काममा जान्छन्,’ रामराजले नै घर बन्द हुनुको राज खोले ।
खुलेका पसल र ढोका नलगाइएका घरहरुबाट मान्छेहरुका नजर चुनावी अभियानमा आइरहेका टोलीतिरै थियो ।
उनीहरुलाई चिनाउँदै हिँडिरेहका छन्, अर्का एक अगुवा । उनी रहेछन् कांग्रेस कर्यकर्ता त्यही बस्तीमा पर्ने पार्वती टोल विकास संस्थाका अध्यक्ष भीम कुँवर । कुँवरले मतदाता चिनाउँदै गए, खेमराजले भोट माग्दै भने, ‘सधैंभरि एउटै पार्टीलाई भोट हालेर होइन, यसपटक मलाई अवसर दिनुस् ।’
टोलका नेता कुँवरले मतदातालाई विश्वासमा पार्न थप्दै थिए, ‘उहाँजत्तिको निष्ठावान र क्षमतावान व्यक्तिलाई यसपटक भोट हालिदिनुस् ।’ आफूले जिते अहिलेको सरकारजस्तो जनताको आवाज नै नसुनेझैं गरेर नबस्ने भन्दै खेमराजले मतदातालाई फकाउने कोशिस गरे ।
एउटा घरको आगनमा दुई महिला र एक पुरुष बसिरहेका थिए । खेमराजले मत माग्दै सुकुम्वासीका समस्या पूरा गर्न नेतृत्व लिने आश्वासन बाँडे । तर खिनकुमारी भण्डारीले प्रत्येक पटक भोट माग्न आउँदा नेताले आश्वासन दिने र त्यसपछि हराउने गरेको भन्दै तितो पोखिन् । ‘३० वर्ष भयो यहाँ बस्न थालेको । तर, कतिबेला के हुने हो, ठेगान छैन । पानीको धारा जोड्न निवेदन दिएको २ वर्ष भइसक्यो, जोडिँदैन । यस्तै त रहेछ ।’ खेमराजले आफू पहिलो पटक चुनाव उठेको बताउँदै हिजोका नेताले जस्तो गल्ती नदोहोर्याउने बताए ।

टोली अगाडि बढ्यो । एक कार्यकर्ताले अर्को घर देखाउँदै खेमराजलाई भने , ‘त्यो घरका हाम्रो पार्टीका त होइनन् तर पनि जाऔं ।’ खेमराज त्यतै मोडिए र भने, ‘यसअघि यही क्षेत्रबाट चुनाव जित्नुभएका नेताको दुःखद् घटनामा ज्यान गयो, हामी बिक्षिप्त छौं । तर, यो चुनावमा म आएको छु । एउटै व्यक्ति र परिवारभन्दा माथि उठेर हेर्नुस् । गरेर देखाउँछु ।’
पार्वती टोल, शुभकामना टोल, कृष्ण टोल हुँदै बसपार्क टोलतिर नेपाली कांग्रेसका पाका उम्मेदवार खेमराजको समूह अघि बढ्यो । सुकुम्वासी बस्तीमा घरदैलो गर्दै खेमराजले चुनाव जित्ने आत्मविश्वास देखाए । उनले कतै कार्यकर्तालाई भन्दै थिए, ‘होला हिजो कांग्रेस सरकारमा हुँदा सबै राम्रो भएन होला । तर म सच्चा मनले जनताको सेवक हुन आएको हुँ, एक पटक मौका दिनुहोस् ।’
हिजो पनि आफूले सुकुम्वासीका समस्या सुल्झाउन खोजेको तर त्यो अवसर नमिलेको खेमराजले बताए । ‘हिजो म सुकुम्वासी आयोगको अध्यक्ष हुँदा केही सेतो पूर्जा त उपलब्ध गराएकै हुँ । सबै समस्या सुल्झाउँछु भनेकै थिएँ । तर, अवधि नै सकियो’, मतदातालाई उनले भनेका छन् ।
घरबाट बाहिर निस्केर विष्णुमाया गुरुङले खेमराजलाई आशिर्वाद दिइन्, ‘ल जसरी पनि जित्नुपर्छ है त ।’

पञ्चायत सुरु हुनुभन्दा अघिल्लो सालदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका खेमराज २०५५ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सुकुम्बासी आयोगको अध्यक्ष बनेका थिए ।
पोखरा बसपार्क र सुकुम्वासी बस्ती एक अर्कामा जोडिएको समस्या हो । सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी बसपार्क बनाउन सकिँदैन । २०३२ सालमै बसपार्क निर्माण गर्न अधिग्रहण गरिएको जग्गामा अहिले ५ सयका हाराहारीमा सुकुम्वासीका घर बन्दा जग्गा २ सय ५ रोपनीबाट ८१ रोपनीमा खुम्चिएको छ ।
जग्गा अधिग्रहण र संरक्षणको जिम्मा पाएको नगर उपत्यका विकास समितिका विभिन्न अध्यक्षहरुको नाम लिँदै उनले केही प्रयास भएपनि राजनीतिक दलको उपल्लो तहबाट पहल नहुँदा समस्या यथावत रहेको बताए । बसपार्क र सुकुम्वासी क्षेत्रमा पुगेर खेमराजले आश्वासन दिँदै हिँडिरहेका थिए । खेमराजसँगै भोट माग्न हिँड्ने कार्यकर्ताले पनि दोहोर्याइरहन्थे, ‘उहाँ पहिले आयोगको अध्यक्ष पनि हुनुहुन्थ्यो । जिल्ला सभापति पनि भइसक्नुभएको हो ।’
कांग्रेसले वडा नम्बर ४ को नालामुखमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियान थालेको थियो । खेमराजको चुनावी प्रचार टोलीले वडा नम्बर ८ र ९ सम्मका ठाउँ ठाउँमा घरदैलो गरेको थियो । आइतबारबाट सुरु भएको घरदैलो अभियान सुकुम्वासी बस्तीमा पुग्दा कास्की कांग्रेसका शीर्ष नेताहरु थिएनन् । न त अधिकांश उम्मेदवारका आकांक्षी नै थिए । घरदैलोमा खेमराजले पटकपटक दोहोर्याउँदै भनिरहे, ‘एक पटक अवसर दिनुहोस् ।’
सबैभन्दा बढी सुकुम्वासी बस्तीमा पैसाको चलखेल हुने गरेको बताउँदै केही कार्यकर्ताले अरु पार्टीका आएर पैसा दिए नलिएर विवेक प्रयोग गर्न आग्रह पनि गरे । कांग्रेस एक कार्यकर्ता भन्दै थिए, ‘यी वडामा त पहिले पनि हाम्रै बहुमत छ । यसपटक अझै बढाउन सक्छौं । अरु वडामा पनि खेमराज बाप्रति धेरैको सहानुभूति छ । न लाभको पदमा पुगे न कसैलाई पिराए । अवसर नै कहाँ पाए र ?’
बाटैमा शिक्षण पेशाबाट निवृत्त खेमराजका एक चेला भेटिए । ‘ल गुरु खुसी लाग्यो, चुनाव जित्नु होला शुभकामना,’ चेलाले भने । खेमराजले उत्तर फर्काए, ‘तपाईंहरुले भोट हाले न जित्ने हो ।’

त्यसपछि कांग्रेसको घरदैलो टोली चिया पसलतिर लाग्यो । उम्मेदवार खेमराजले पहिलो दिन नै धेरै नहिडौं भन्ने प्रस्ताव राखे । कार्यकर्ताले अनुहारमा लागेको अबीर पुछ्न पेपर दिए । पेपर समाउँदै उनले भने, ‘छाडिदिनुस् । जनताले माया गरेर लगाइदिएका हुन्, सहनुपर्छ । पहिलो पटक चुनाव लडिएको छ ।’
खेमराजले ६० वर्ष नेपाली कांग्रेसको राजनीतिमा बिताए । ७५ वर्षमा कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा टिकट पाए । आइतबार घरदैलो अभियान सुरु गर्दा खेमराज जोसिला देखिए । ‘मान्छे उमेरले होइन, चिन्तन, व्यवहार र सक्रियताले युवा हुने हो,’ कांग्रेस उम्मेदवार खेमराजले मतदातालाई भन्दै थिए, ‘यसअघि जसलाई हेर्नुभयो राम्रै भयो, यसपटक मलाई हेर्नुस् ।’
उनले अरु पार्टी र उम्मेदवारको नाम लिएर आलोचना गरेनन् । बरु कसैको नाम नलिई एउटा परिवारका व्यक्तिलाई भोट दिने नगर्न आग्रह गरे । यो भनाइको नेकपा उम्मेदवार विद्या भट्टराईतिर लक्षित थियो ।
खेमराजले मतादातालाई फकाउँदै सुखदु:ख जोडिने प्रतिवद्धता गरे । खेमराजको भोट माग्ने अर्को तरिका छ, ‘म आम चुनाव लड्दै छैन । यो उपचुनाव हो । त्यसैले यसपटक मलाई जिताउनुस्, अर्को पटकसम्म आफैं देख्नुहुन्छ, म के गर्छु ।’ उपचुनाव भएकाले धेरै ठूला आश्वासन नबाँड्ने बरु स्थानीय समस्या र मुद्धालाई नेतृत्व गर्ने काम आफूले गर्ने खेमराजले बताए ।
उनले अघि भने, ‘कम्युनिस्ट सरकारले जनताको मन जित्ने गरी काम गर्न नसक्नु नै मेरो जितको आधार हो ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईको घरदैलो सोमबारदेखि वडा नम्बर ४ बाटै हुँदैछ । समाजवादी, साझा, विवेकशील नेपाली दल लगायतका पार्टी पनि प्रचार प्रसारमा जुटेका छन् ।
तस्वीरहरुः युनिश गुरुङ/अनलाइनखबर
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4