+
+
Shares

वीरगञ्ज गोलीकाण्ड : राजकुमार निर्दोष भएको परिवारको दावी

प्रहरी भन्छ : परिवारको दावी निराधार

सुरेश बिडारी सुरेश बिडारी
२०७६ कात्तिक २५ गते १५:५८

२५ कात्तिक, वीरगञ्ज । वीरगञ्ज गोली काण्डमा अपहरणकारी भनी प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानेको गोली लाग्ने युवकका अभिभावकले आरोप लगाएका छन् ।

कात्तिक २० गते गोली हानेर नियन्त्रणमा लिएका पर्साको पोखरीया नगरपालिका वडा नं ९ सेमरवारीका २० बर्षका राजकुमार दास निर्दोष रहेको दाबी अभिभावकले गरेका हुन् । दाहिने खुट्टामा गोली लागेर घाइते भएका दासको नारायणी अस्पतालमा कडा सुरक्षाकाबीच उपचार भइरहेको छ ।

राजकुमारका बुवा भिखारी दास र आमा राजन्ती देवीले सोमबार पत्रकार सम्मेलन गर्दै अपहरणको नाटक गरेर छोरालाई फसाइएको दाबी गरे । उनीहरुले काभ्रेको बनेपाबाट अपहरणमा परेको भनिएको पोखरीया– ६ सिर्सिया बस्ने अम्जत खानको छोरा अफरोज खान, पोखरीया–९ सेमरबारीकै अफलातुन रायको छोरा फिरोज रायले राजकुमारलाई फसाएको बताए ।

‘छोरा निर्दोष छ, उसले अपहरणको घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ’ उनीहरुले भने ‘हामीलाई न्याय चाहिन्छ, दोषीलाई पक्राउ गरी कारबाही हुनुपर्छ ।’

आँखामा पट्टि बाँधेर गोली हानेको दाबी

राजकुमार कात्तिक १९ गते अपरान्ह मामा नन्दु दासको बाईक लिएर किराना समान खरिद गर्न रक्सौल गएका थिए । रक्सौलमा परेउवा टोलस्थित रेलको ढाला नजिकै छिमेकी फिरोजसँग भेट भएको थियो । उनले फकाएर फिरोजलाई फुपा नाता पर्ने अरमान भाटको घरमा लगेका बुबा भिखारी दासले बताए ।

अरमानको घरमा राजकुमारले नचिनेका ६/७ जना मानिसहरु पनि थिए । त्यहाँ कपडाले आँखा र हात बाँधेर सर्टको खल्तीमा फलामे बस्तु जस्ता चार पाँचवटा समान राखेर गाडी चढाएको राजकुमारले अभिभावकसँगको भेटमा बताएका थिए । पछि गाडीबाट उतारेर भूँईमा राखी दायाँ खुट्टामा दुईपटक गोली हानीएको र आफू त्यसपछि बेहोस भएको राजकुमारले बताएका बुबा दासले बताए ।

तर प्रहरीले भने अम्जदले फिरौती रकम बुझाउन जाँदा बन्दुक देखाएर पैसाको झोला खोसेर भाग्न खोजेकोले राजकुमारलाई गोली प्रहार गरिएको दाबी गरेको छ । अपहरणको मुख्य योजनाकार फिरोज नै रहेको दावी अम्जदले पनि गरेका थिए ।

स्थानीयका अनुसार फिरोजलाई म्युजिक भिडियो तथा फिल्म बनाउने शौख थियो । तर त्यसका लागि उसँग पैसाको कमी थियो । त्यसैले अपहरणको नाटक गरेर अम्जदसँग पैसा असुल्ने तयारीमा रहेका उनीहरुले राजकुमारलाई फसाएको आमा बैजन्तीको भनाइ छ ।

‘छोरो त मोटरसाइकलको पाटपूर्जा, सिमेन्ट, मलखाद ओसार्ने काम गर्दै आएको थियो’ उनले रुँदै भनिन् ‘त्यसदिन फिरोजले नै बोलाएर लगेर फसाइदियो । छोराले अपहरणको बारेमा जानकारी छैन भनेको छ । उसलाई बचाइदिनुस् ।’

संलग्नताको पर्याप्त आधार छ : प्रहरी प्रमुख

प्रहरीले घटनामा संलग्न थप दईजना रहेको बताउँदै आए पनि उनीहरुलाई पक्राउ गर्न सकेको छैन । राजकुमारलाई अपहरण तथा शरीर बन्धक मुद्धा चलाउने तयारी प्रहरीको छ ।

राजकुमार अस्पतालमा उपचाररत रहेकोले उनी विरुद्ध मुद्धा अघि बढाउन नसकिएको प्रहरीकै एक अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले राजकुमारलाई मुद्धा चलाउने आधार पर्याप्त रहेको बताए ।

‘अपहरित बालकले सनाखत गरिसकेको छ । बालकको बुवासँग फिरौती माग्दा प्रयोग गरेकोे फोन बरामद गरेका छौं । उसलाई मुद्धा चलाउने आधार यथेष्ट छ’ उनले प्रतिप्रश्न गरे ‘त्यसै कसैलाई गोली हान्ने अधिकार प्रहरीलाई छ र ? ’

उनले राजकुमारको परिवारले गरेको दावी निराधार रहेको दाबी गरे ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?