Comments Add Comment

ब्रुमरको प्रयोगसँगै सर्वसाधरणले गर्न थाले राहतको महसुस

२५ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको ब्रुमरले सडकको धुलो बढार्न थालेपछि सर्वसाधारणले राहतको महसुस गर्न थालेका छन् ।

ललितपुर महानगरपालिकाले गत असोजबाट ब्रुमर प्रयोग गरी सडकको धुलो बढार्न सुरु गरेको हो । महानगरपालिकाले कुपन्डोल, जावलाखेल, लगनखेल लगायतका क्षेत्रमा ब्रुमरको प्रयोग गरेर सडकको सरसफाई गरिरहेको छ ।

ललितपुर महानगरपालिकाले दैनिक ब्रुमर चलाउन थालेपछि राहतको महसुस हुन थालेको जावलाखेलको सडक पेटीमा भेटिएका विनोद कार्कीले प्रतिक्रिया दिए । ‘विहानै ब्रुमरले सडक सफा गरेपछि दिउँसो धुलो उड्न कम भएको छ,’ उनले भने, ‘यसअघि धुलाका कारण यस क्षेत्र कुहिरो मण्डल हुन्थ्यो ।’

तर पनि बाटो राम्रो नबनेसम्म ब्रुमर चलाएर मात्रै समस्या समाधान नहुने उनले बताए । ‘कालोपत्रे गरेको सडकमा मात्रै ब्रुमरले सडकको धुलो बढार्छ,’ उनले भने, ‘यहाँ मात्रै सफा गरेर पनि काम छैन । अरु ठाउँको धुलो उडेर आउने भएकोले समस्या जस्ताको त्यस्तै हुन आउँछ।’

उनका अनुसार ब्रुमरले मात्रै धुलोको समस्या समाधान हुने देखिदैन । त्यसको लागि दिर्घकालिन समाधान तिर जानुपर्ने उनको सुझाव छ । ‘मुख्य सडकमा मात्रै ब्रुमर चल्छ,’ उनले भने, ‘भित्री बाटोहरुमा ब्रुमर चलाउन मिल्दैन । त्यसैले भित्री सडकको धुलो बढार्ने बैकल्पिक उपाय खोज्नु पर्छ ।’

पुल्चोक इन्जिनियीङ कलेज नजिकै भेटिएका राजेश चोधरी माक्स नलगाई हिड्न सक्दैनन् । माक्स नलगाएको दिन राम्रोसँग श्वास फेर्न पनि गाह्रो पर्छ उनलाई । तर केही दिनदेखि भने सडकमा धुलो कम उड्न थालेपछि उनलाई माक्स खासै आवश्यक नपरेको बताउँछन् ।
उनी भन्छन्, ‘कहिले कहिँ मात्रै ब्रुमरले सफा गर्नुको अर्थ छैन, यसको प्रयोग नभएको दिन काठमाडौंबाट ललितपुर आइपुग्दा धुलाम्मे भइहाल्छौं ।’

‘ब्रुमर चलाएर केही राहत मिलेको छ,’ उनले भने, ‘ललितपुरको कुपन्डोल क्षेत्रमा मात्रै ब्रुमर चलाएर पुग्दैन । अरु ठाउँको हालत झनै खराब छ । त्यो बाटोलाई सुधार्न ललितपुर महानगरले पहल गर्नुपर्छ ।’

उनी जस्तै अन्य सर्वसाधरणले पनि केही समयदेखि धुलो कम उडेको महसुस गरेका छन् । ब्रुमरले सोचेजति काम गर्न नसकेपनि केही भए पनि राहत मिलेको स्थानीयको भनाइ छ ।
ललितपुर महानगरपालिकाले सडकको धुलो बढार्न भन्दै गत साउनमा इटालीबाट २ वटा ब्रुमर खरिद गरेको थियो । ब्रुमरसँगै महानगरले पानीको ट्याङकर पनि खरिद गरेको थियो । जुन ट्याङकर बोटविरुवामा पानी हाल्न प्रयोग गरिन्छ । इटालीबाट २ वटा ब्रुमर गत साउनमा ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँमा खरिद गरेर ल्याएको महानगरले जनाएको छ ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजुमान महर्जनले कालोपत्रे भएको सडक बाहेकमा पनि धुलोको समसया कम गर्न दीर्घकालिन समाधान खोज्न तिर लागेको बताए ।

ब्रुमरले दैनिक २ टन फोहोर संकलन गर्ने गरेको र अब विस्तारै रुटको संख्या पनि बढाउँदै लैजाने उनले बताए । उपत्यका बाहिरबाट आउने सवारी साधनले धेरे धुलो ल्याउने गरेकोले बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई बाहिर नै हिलो पखाल्ने व्यवस्था गर्न लागिएको महर्जनले बताए ।

यता काठमाडौं महानगरपालिकाले पनि सडकको धुलो बढार्न ब्रुमरको प्रयोग गर्दै आइरहेको छ । सडकको धुलो बढार्न विभिन्न रुटमा काठमाडौं महानगरले ७ वटा ब्रुमर सञ्चालन गरिरहेको भएपनि सडकमा धुलो उड्न नछाडेको गुनासो सर्वसाधरणले गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment