Comments Add Comment

प्रधानमन्त्रीको सचिवालयपछि मन्त्रीहरुको सामूहिक राजीनामा आउला ?

२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार सल्लाहकार र विज्ञहरुको टीमलाई एकै ठाउँमा राखेर भने- प्रधानमन्त्रीलाई सघाउन हामी सबैले आ-आफ्नो जिम्मेवारीबाट राजीनामा दिउँ । भोलि आवश्यक परे उहाँले पुनः बोलाउनुहोला, अहिलेलाई उहाँका लागि सहज बनाइदिउँ ।

गोप्य राख्ने भनिएको रिमालको आग्रह शनिबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली निकटका केही नेकपा नेताहरुबाटै बाहिरियो । उपनिर्वाचिनपछि मन्त्रिपरिषद पुनर्गठनको सम्भावनाबारे चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयबाटै त्यसको शुरुवात गरेको टिप्पणी नेकपा नेताहरुले गरे ।

के प्रधानमन्त्रीले मन्त्रीहरुबाट पनि यही अपेक्षा गरेका हुन् ? अनलाइनखबरको जिज्ञासामा आइतबार बिहानै एक प्रभावशाली मन्त्रीले भने- उहाँले अहिलेसम्म त्यस्तो भन्नु भएको त छैन । तर, जसरी प्रधानमन्त्रीको सचिवालयले उहाँलाई सघाउन भन्दै राजीनामा दिने कुरा आयो, त्यसले मन्त्रिपरिषद सदस्यहरुलाई सन्देश भने दिएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने महसुस हुनासाथ सचिवालयकै शैलीमा मन्त्रीहरुबाट पनि सामूहिक सहयोग माग्नेछन्, जुन कुरा कम्तिमा उपचुनावअघि नहोला

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले आफूहरुको राजीनामाले मन्त्रीहरुलाई पनि नैतिक दबाब दिएको बताए । उनका अनुसार प्रधानमन्त्रीले मन्त्रीहरु पनि एक दुईजनालाई मात्रै हटाएर नयाँ थप्न चाहेका छैनन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको सचिवालयका सबै सदस्यले राजीनामा दिने

अर्का अध्यक्ष प्रचण्डसँग पटक-पटकको छलफलपछि प्रधानमन्त्री मन्त्रिपरिषद पनि पूरै पुनर्गठन गर्ने सोचमा पुगेका हुन सक्छन् । केही समयपछि मन्त्रीहरुको पनि सामूहिक राजीनामा आयो भने आश्चर्य नहुने ती सदस्यले बताए ।

उनले भने- प्रधानमन्त्रीको चाहना अनुसार उहाँलाई सहयोग होस् भनेर हामीले राजिनामा दिएका हौं । यसको सन्देश भनेको मन्त्रीहरुले पनि यसै गरी सघाउन् भन्ने नै हो । प्रधानमन्त्री एक दुईजना मन्त्रीलाई मात्रै हटाएर उनीहरुलाई खोटो बनाउन चाहानुहुन्न । एकपटक पूरै सुधार गरौं भन्ने देखिन्छ ।

केही मन्त्रीलाई मात्र बिदा गर्दा उनीहरु असक्षम भएर हटाइए भन्ने सन्देश जाने भएकाले पूरै मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा प्रधानमन्त्री रहेको स्रोतले जनाएको छ । पुनर्गठनमा कतिपय अहिलेकै मन्त्रीहरु दोहोरिन सक्नेछन् । त्यसो त प्रधानमन्त्रीको सचिवालयका केही अनुहार पुनः दोहोरिने पनि निश्चित छ ।

केपी ओली दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएको फागुनमा २ वर्ष पुग्दैछ । यसबीचमा पटक-पटक मन्त्रिपरिषद पुनर्गठनको चर्चा चले पनि शेरबहादुर तामाङको राजिनामापछि भानुभक्त ढकाल र रविन्द्र अधिकारीको निधनको लामो समयपछि योगेश भट्टराईलाई मन्त्रिपरिषदमा थप्ने बाहेक कुनै मन्त्री हेरफेर भएका छैनन् ।

प्रधानमन्त्रीको सचिवालयबाट राजिनामा दिएका एक सदस्यले कुनै एक दुईजना मन्त्री हटाएर उसलाई जनता र कार्यकर्ताको नजरमा असक्षमको बिल्ला भिराउन प्रधानमन्त्री चाहँदैनन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने महसुस हुनासाथ सचिवालयकै शैलीमा मन्त्रीहरुबाट पनि सामूहिक सहयोग माग्नेछन्, जुन कुरा कम्तिमा उपचुनावअघि नहोला ।

सचिवालयको चर्चा

प्रधानमन्त्रीको सचिवालयको सामुहिक राजीनामापछि अनेक चर्चा भइरहेका छन् । कतिपयले प्रधानमन्त्री आफ्ना सल्लाहकार र सचिवालयका सदस्यहरुको कामबाट असन्तुष्ट थिए भनेका छन् । सचिवालयप्रति नेकपा र विशेष गरी पूर्वएमालेकै नेताहरुको बढी असन्तुष्टि हुने गरेको छ ।

बायाँबाट- विष्णु रिमाल, डा. राजन भट्टराई र डा. कुन्दन अर्याल ।

प्रधानमन्त्रीलाई केही व्यक्तिले घेरामा राखेर गलत ब्रिफिङ गरिएको आरोप पनि लागिरहेको छ । तर, प्रधानमन्त्रीले गर्ने कतिपय निर्णयहरु यस्ता हुन्छन् कि उनका मुख्य र सम्बन्धित विषयका विज्ञ सल्लाहकारले पनि थाहा पाउँदैनन् ।

प्रधानमन्त्री ओलीको सचिवालयमा रिमाल मुख्य नेता हुन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रिमाल ओलीको पहिलो कार्यकालमा पनि मुख्य सल्लाहकार थिए । रिमालपछि दोस्रो बरियतामा परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई छन् । उनी नेकपा केन्द्रीय सदस्य हुन् । उनी विदेश मामिलाका विज्ञ हुन् ।

नेकपाकै अर्का केन्द्रीय सदस्य अच्युत मैनाली जनसम्पर्क सल्लाहकार हुन् । नेपाल ल क्याम्पसको पूर्व स्ववियु सभापति मैनाली बारा १ मा चुनाव हारेपछि उनलाई न्याय गर्न ओलीले सल्लाहकार टिममा राखेका हुन् ।

प्रेस सल्लाहकार कुन्दन अर्याल त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिताका सहप्राध्यापक हुन् । प्रधानमन्त्रीको सचिवालयमा इन्द्र भण्डारी, चेतन अधिकारी, रामशरण बजगाई, अली अस्गर, रमेश भट्टराई, दिपेन दाहाल लगायतको टिम छ ।

राजेश बज्राचार्य भने प्रधानमन्त्रीको पारिवारिक सदस्य तथा औषधी पानीको समेत ख्याल गर्ने व्यक्ति भएकाले उनले राजीनामा दिएका छैनन् ।

ओलीले अहिले राजीनामा दिएका मध्ये कतिपय सदस्यलाई पुनः नियुक्ति दिने सम्भावना छ । विष्णु रिमाललाई भने अमेरिकाको राजदूत बनाएर पठाउने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment