
२५ कात्तिक, काठमाडौं । नेपाली सेनामा रहेकै कारण प्राप्त भएको अध्ययन छात्रवृत्ति लिएर भागेको अभियोगमा प्राविधिक सेनानी रामचन्द्र तिवारी कारबाहीमा परेका छन् ।
उनलाई समरी जनरल सैनिक अदालतले ६ महिना कैद र भविष्यमा सरकारी सेवाका लागि अयोग्न नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
उनका अनुसार तिवारी १८ चैत २०७३ मा जापानमा दुई वर्षे अवधिको ‘पोस्ट डक्टोरियल’ तहमा अध्ययनका लागि वेतलवी विदामा गएका थिए । तर, अध्ययन पश्चात १८ चैत २०७५ मा हाजिर हुनुपर्नेमा नभइ आफू खुशी भगौडा भएकाले सैनिक ऐन, २०६३ बमोजिक कारबाही गरिएको सेनाले जनाएको छ ।
उनीमाथि सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसके पश्चात आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको भनी सैनिक संस्थालाई आरोप लगाएर अन्यत्र काम गरेको अभियोग थियो ।
पछिल्लो समय उनी थापाथली इञ्जिनियरिङ कलेजमा विभागीय स्वीकृतिविना व्यक्तिगत रिसर्च सुपरभाइजरको रुपमा कार्यरत् रहेको सेनाले जनाएको छ ।
साथै, २५ कात्तिकदेखि कलेजमा प्राध्यापकको रुपमा स्थायी नियुक्ति लिएर भगौडा र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको भनेर दोषी ठहर गरिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
तिवारी ८ भदौमा पक्राउ परेका थिए ।
प्रतिक्रिया 4