
२५ कात्तिक, काठमाडौं । नेपाल उद्योग परिसंघले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका लागि आह्वान गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार भएको छलफलमा परिसंघका अध्यक्ष शतिषकुमार मोरले सामाजिक सुरक्षा योजनाप्रति उद्योगी निकै सकारात्मक भएका उल्लेख गर्दै सबै उद्योगीलाई कोषमा आवद्ध हुन विशेष आह्वान गर्ने बताए ।
परिसंघले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध रुपमा सहयोग गर्दै आएको छ । परिसंघकै सहयोगमा पोखरा, विराटनगरलगायत मुलुकका विभिन्न औद्योगिक क्षेत्रमा योजना कार्यान्वयनका बारेमा बृहत् छलफल भएको थियो ।
छलफलमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा परिसंघले गरेको सहयोगको प्रशंसा गरेका थिए ।
सामाजिक सुरक्षा योजनाले श्रमिकको उत्पादकत्व वृद्धि हुनेमा ढुक्क हुन विश्वास दिलाउँदै उनले सूचीकरणमा ढिलाइ नगर्न आग्रह गरे । सामाजिक सुरक्षा योजना नौलो भएपनि कार्यक्रम आरम्भकै चरणमा भएकाले केही अलमल देखिनु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री विष्टले संवाद र छलफलका माध्यमबाट योजनालाई थप परिस्कृत गर्दै लैजाने बताए ।
परिसंघको टोलीले योजनाका व्यावहारिक कार्यान्वयनमा केही कठिनाइ देखिएको भन्दै सहजीकरणका लागि आग्रह गरेको थियो ।
योगदानकर्ताले बढीभन्दा बढी लाभ प्राप्त गर्ने गरी योजनालाई परिमार्जन गर्न सुझाव दिइएको थियो । सो क्रममा मन्त्रालयका सचिव विनोद केसी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले उद्योगीले राखेका जिज्ञासाको समाधान गरेका थिए । सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकको सूचीकरणका लागि आगामी मंसिर १४ गतेसम्मको समयसीमा तोकेको छ ।
कोषमा हालसम्म १० हजारभन्दा बढी प्रतिष्ठान र १ लाखभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन् ।
प्रतिक्रिया 4