Comments Add Comment

बंगलादेशका राष्ट्रपतिको उच्चस्तरीय भेटवार्ता आज, भोलि पोखरा जाने

२७ कात्तिक, काठमाडौं । चारदिने सद्भावना भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने भएका छन् । उनले बुधबार अपराह्न समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् ।

अपराह्न चार बजे शितल निवासमा हुने शिष्टाचार भेटमा आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

को–कोसँग छ भेटवार्ता ?

त्यसअघि बुधबार बिहान १०ः५० बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ११ः१० बजे नेकपा अध्यक्ष प्रचण्डले र २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई उनी बसेकै होटल म्यारियटमा पुगेर भेटवार्ता गर्नेछन् ।

यसैगरी बुधबार दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने समय निर्धारण गरिएको छ ।

भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनेछन् । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गरेकी छन् ।

बिहीबार पोखरा जाने

राष्ट्रपति हमिद बिहीबार हेलिकप्टरबाट पोखरा जाने कार्यक्रम छ । काठमाडौंबाट १ बजे पोखरा प्रस्थान गर्ने हमिद सोही दिन साढे चार बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

उनले शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं अवतरण गरेका थिए । नेपाल आएलगत्तै उनले भक्तपुर दरबार स्क्वायर अवलोकन गरेका थिए । त्यसपछि उनी बंगलादेशका राजदूतले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन बंगलादेश हाउस बाँसबारी गएका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं पुगेकी थिइन् । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment