२७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाका प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत नखुलेको ६८ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा छानविन गर्दा स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतोको कार्यकक्षबाट स्रोत नखुलेको ६८ हजार रकम भेटिएपछि शाखा प्रबन्धक आलोक कुमारसहित महतोलाई पनि नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रवक्ता कोइरालाले बताए ।
५ हजार घुससहित सूचक पदमा कार्यरत एक कर्मचारी पक्राउ
अख्तियारले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सीमा नाका हेर्ने गरी खटिएका सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झालाई ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
भारतबाट सामान ल्याउँदा भन्सारमा सहजीकरण गरी दिने भनी सेवाग्राहीसँग घुस माग्ने गरेको सूचनाको आधारमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित मल्हनियाँबाट उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । पक्राउ परेका झाको दरबन्दी भने राष्ट्रिय अनुसन्धान विभाग सप्तरीमा रहेको कोइरालाले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4