Comments Add Comment

सरकारको कामभन्दा बढी गफ भयो : महामन्त्री कोइराला

२७ कात्तिक, बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार जनताको अत्यावश्यक काम गर्नेभन्दा ठूला–ठूला सपना बाँड्न उद्दत रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ५ को प्रथम परिषद्, महिला तथा युवा अधिवेशनको बुटवलमा बुधबार उद्घाटन गर्दै डा. कोइरालाले भने, ‘नेपाली नागरिक दैनिक हातमुख जोर्न समस्यामा छन्, प्रधानमन्त्री रेल र पानीजहाजको सपना बाँडिरहनुभएको छ, सरकारले कामभन्दा बढी गफ गरिरहेको छ यो राम्रो होइन ।’

डा. कोइरालाले प्रधानमन्त्री ओली जनताका आवश्यकता पूरा गर्नेभन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा मात्र लागेको आरोप लगाउ । उनले ओली सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको भन्दै यो सरकारबाट सुशासन र विधिको शासनको कल्पना गर्न नसकिने धारणा राखे ।

सरकार संविधानविपरित अघि बढेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले प्रदेश र स्थानीय तहको सबै अधिकार संघीय सरकारले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए । नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रका लागि ठोस पहल नगरेको आरोप लगाए ।

कम्युनिस्टलाई कांग्रेसले नै बैतरणी तारेको हो

फरक प्रशंगमा उनले कम्युनिस्टलाई कांग्रेसले बैतरणी तारेको दाबी गरे । ‘हिजो कुन हालतमा थिए, आज हाम्रै अगाडि दुईतिहाईको फुर्ती लाएर हिँडेका छन्, काम गर्नु परेन ।’

जनतालाइ भ्रममा पारेर अब अगाडि बढ्न नसक्ने उनको भनाइ छ । सरकारलाई दुइतिहाइको दम्भ बोकेर नहिड्न उनले आग्रह गरे ।

वीपी पनि बामपन्थी 

‘भारतीय स्वतन्त्र संग्राम आन्दोलनका बेला वीपी बामपन्थी हुनुहुन्थ्यो’, वीपीका छोरा समेत रहेका महामन्त्री कोइरालाले भने, ‘पछि भारतीय नेताहरुको प्रभावमा परेपछि वीपी प्रजातन्त्रवादी हुनुभयो ।’

तत्कालको कुरा स्मरण गर्दै महामन्त्री कोइरालाले भने, ‘वीपीले तिमी १८ वर्षको भएर पनि कम्युनिस्ट भएनौं भने तिम्रो हृदय छैन, ‘तिमी २५ वर्षको भएर पनि कम्युनिस्ट छौ भने तिम्रो दिमाग छैन’ भनेर आफूलाई भन्ने गरेको स्मरण गरे ।

कांग्रेस एक जुट भए कसैले हराउन सक्दैन

महामन्त्री कोइरालाले पार्टी एकता भए कांग्रेसलाई कसैले हराउन नसक्ने ठोकुवा गरे ।
डा. कोइरालाले भने, ‘गुट–उपगुटका कारण अहिले पार्टी केही कमजोर भएको हो, म कम्युनिस्टलाई चुनौती दिन चाहन्छु, हामी एकजुट भए कांग्रेसलाई कसैले हराउन सक्दैन ।’

नेपालका धेरै ठूला परिवर्तन कांग्रेसकै नेतृत्वमा सफल भएको स्मरण गर्दै उनले कांग्रेसको सिद्धान्त, विचार, कार्यकर्ता र इतिहासका कारण भविष्य उज्जवल रहेको बताए । पार्टीलाई एक ढिक्का बनाउन महामन्त्रीको हैसियतले आफूले धेरै प्रयास गरिरहेको उनको भनाइ छ । देश उपनिर्वाचनमा होमिएको भन्दै उनले जनता कांग्रेसको पक्षमा रहेको दाबी गरे । उपनिर्वाचनमा कांग्रेसलाई जिताउनका लागि एक ढिक्का भएर लाग्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment