Comments Add Comment

प्रदेश २ मा उपनिर्वाचन : मृत्यु भएका जनप्रतिनिधिकै परिवारलाई प्राथमिकता

२७ कात्तिक, जनकपुरधाम । मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश २ को महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र विभिन्न स्थानीय तहको वडाअध्यक्ष गरी १० पदमा सय जनाको उम्मेदवारी परेको छ ।

महोत्तरीकै बलवा नगरपालिका २, ६ र ८, सर्लाहीको हरिपूर्वा नगरपालिका १, रौतहटको गढीमाई नगरपालिका २, बाराको बारागढी गाउँपालिका १ र पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ को अध्यक्ष पदमा उपनिर्वाचन हुनेछ ।

उपनिर्वाचन हुने धेरै स्थानीय तहमा यसअघि निर्वाचित जनप्रतिनिधिका परिवारका सदस्य उम्मेदवार बनेका छन् । कुनै पार्टीले यसअघिकै उम्मेदवारलाई निरन्तरता दिएका छन् । प्रदेश २ को सत्ता साझेदार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले तालमेल गर्ने भने पनि सबै ठाउँमा गरेको छैन । खुल्ला राजनीतिमा आएको सीके राउत नेतृत्वको जनमत पार्टीले पिपरा गाउँपालिकासहित ६ वटा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।

पिपरामा अध्यक्षकी पत्नी उम्मेदवार

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि ९ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी परेको छ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले संयुक्त रुपमा उम्मेदवारी दिने भने पनि अन्तिममा छुट्टाछुट्टै उम्मेदवारी दिए ।

राजपाबाट अध्यक्षमा निर्वाचित भएर मृत्यु भएका विनोद चौधरीकी पत्नी रविता उम्मेदवार बनेकी छन् । समाजवादी पार्टीले हालै नेकपाबाट आएकी रामजानकी यादवलाई उम्मेदवार बनाएको छ । नेकपाले भने गत स्थानीय चुनावकै उम्मेदवार बिक्रम चौधरीलाई निरन्तरता दिएको छ ।

पिपरा गाउँपालिकाको अध्यक्षमा गत निर्वाचनमा राजपाका विनोद चौधरी २ हजार ७ सय ७५ मत ल्याएर निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेका बिक्रमले १ हजार ८ सय ७३, तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रामजानकीले १ हजार ५ सय ७८ मत ल्याएकी थिइन् ।

यहाँ नेपाली कांग्रेसबाट विजय यादव, सीके राउत नेतृत्वको जनमत पार्टीबाट अञ्जलीदेवी मण्डल, राप्रपा संयुक्तबाट सुनील ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव र नेपाल जनता पार्टीबाट रमाकान्त झा, राप्रपाबाट श्यामसुन्दर चौधरी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीबाट सुखराम यादवले उम्मेदवारी दिएका निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।

उनका अनुसार किशोरी यादव, गणेशकुमार यादव, पुनित अधिकार, प्रदीपकुमार यादव, प्रवीण चौधरी, रञ्जितकुमार झा, शैलदेवी मण्डल, सञ्जयकुमार यादव र रामवृक्ष यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सप्तरीमा अध्यक्षकी पत्नी उम्मेदवार

सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ को वडाअध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन् । राजपाबाट वडाअध्यक्ष निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको अध्यक्षमा निर्वाचित भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

यहाँ समाजवादी र राजपाको संयुक्त उम्मेदवारको रुपमा प्रभाकरकी पत्नी प्रमिला देवीलाई उम्मेदवार बनाएका छन् ।

नेकपाले २०७४ को स्थानीय निर्वाचनमा प्रभाकरसँग ८ मतले पराजित भएका अच्छेलाल यादवलाई उम्मेदवार बनाएको छ । त्यतिबेला उनी स्वतन्त्र उम्मेदवार थिए ।
यो वडामा कांग्रेसबाट शिवनारायण मण्डल, राप्रपाबाट गजेन्द्र मण्डल, जनमत पार्टीबाट दिनेशकुमार यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साहले उम्मेदवारी दिएका छन् । रञ्जितकुमार यादव, नुर हुसन मन्सुरी र धिरेन्द्रकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७४ साल असोज २ गते भएको निर्वाचनमा विजयी प्रभारकले २ सय ८८, स्वतन्त्र उम्मेदवार अच्छेलाल यादवले २ सय ८०, कांग्रेसका सुरेन्द्र यादवले ७०, तत्कालिन नेकपा माओवादी केन्द्रका प्रमोदकुमार यादवले १ सय, तत्कालिन संघीय समाजवादी फोरमका शत्रुधन यादव २८ र तत्कालिन एमालेका उम्मेदवार जुमराती मन्सुरीले ४४ मत पाएका थिए ।

यो वडामा हाल ७ सय ५७ पुरुष र ६ सय ४६ महिला गरी १ हजार ४ सय ३ मतदाता छन् । यसअघिको निर्वाचनमा १ हजार १ सय ७५ मतदाता रहेका थिए ।

गढिमाइमा अध्यक्षकै छोरा उम्मेदवार

रौतहटको गढीमाई नगरपालिका २ को अध्यक्षका लागि ११ जनाले उम्मेदबारी दिएका छन् । कांग्रेस र नेकपाले आफ्नो पुरानै उम्मेदवारलाई निरन्तरता दिएका छन् ।

नेपाली कांग्रेसबाट दीपेन्द्र श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट जवार मियाँ, जनमत पार्टीबाट राधेश्याम साह बनियाँ, समाजवादी पार्टीबाट दिनेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामेश्वर दास र राष्ट्रिय जनता पार्टी (राजपा) बाट विजय महतोले उम्मेदवारी दिएका छन् ।

समाजवादीबाट उम्मेदवार बनेका दिनेश यसअघि वडाअध्यक्षमा निर्वाचित भएर मृत्यु भएका जोगेन्द्र दासका छोरा हुन् । उनका बुबा राजपाबाट उम्मेदवार भएर जित्दा छोरा समाजवादीबाट उम्मेदवार बनेका छन् ।

यसअघिको निर्वाचनमा राजपाका उम्मेदवार जोगेन्द्र दास तत्मा ५ सय १६ मत ल्याई निर्वाचत भएका थिए । त्यस बेला नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका दीपेन्द्र श्रेष्ठ ४ सय ६० र एमालेका उम्मेदवर जवार मियाँले २ सय ५३ मत ल्याएका थिए ।

यहाँ नथुनी पासवान, विनय साह, बुधिया नेशा, हदीब राव भाँट, सकुर मियाँले उम्मेदवारी दिएका छन् ।

बारामा अध्यक्षकै श्रीमती उम्मेदवार

बाराको बारागढी गाउँपालिका १ मा रिक्त रहेको अध्यक्ष पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट तस्बिरिया थरुनीको उम्मेदवारी परेको छ । उनी यसअघिका वडा अध्यक्ष नन्दलाल राय थारुकी पत्नी हुन् ।

थारुले ४ सय ३३ मत ल्याएर निर्वाचित भएका थिए । तत्कालिन संघीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरीले ४ सय २२ मत, एमालेका भुइल खाँ थारुले ३ सय ६० र माओवादीका योगेन्द्र राय थारुले २ सय ६१ मत ल्याएका थिए । त्यस बेला राजपाका उम्मेदवार शंकरप्रसाद चौधरीले जम्मा २ मत ल्याएका थिए ।

उपनिर्वाचनमा नेकपाको तर्फबाट शंकरप्रसाद चौधरी, समाजवादी पार्टी नेपालबाट सुरेशप्रसाद चौधरी, राजपाबाट वैधनाथ चौधरी, राप्रपा संयुक्तबाट रामपतिदेवी, नेपाल जनता पार्टीको तर्फबाट विरेन्द्रप्रसाद राय थारु, लोकतान्त्रिक पार्टी विहारी साह तेली, जनमत पार्टीबाट शंकरप्रसाद चौधरी र स्वतन्त्रमा सुरेशप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

पर्सामा अध्यक्षकै छोरा उम्मेदवार

पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ को अध्यक्ष पदमा समाजवादी पार्टीबाट रुपलाल कुमार यादव उम्मेदवार बनेका छन् । उनी यसअघि यसै वडाबाट निर्वाचित बृजमोहन यादवका जेठो छोरा हुन् ।

वृजमोहनले ६ सय ९४ मत ल्याएर निर्वाचित भएका थिए भने तत्कालिन नेकपा एमालेका उम्मेदवारले ५ सय ८५, नेपाली कांग्रेसका दिगम्बर गिरी र राजपाका श्यामप्रसाद कुर्मीले समान २ सय ७९ मत ल्याएका थिए ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उदयशकर रौनियार, नेपाली कांग्रेसबाट अशेश्वरप्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सदरी महराले उम्मेदवारी दिएका छन् । राजपा उम्मेदवार रामजी गिरी समयमा नपुग्दा उम्मेदवारी दर्ता गर्न सकेनन् । यसै वडामा गोपाल साह कानुले स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् ।

नेकपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी

महोत्तरीकै मटिहानी नगरपालिका ६ को अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । नेकपाले टिकट नदिएपछि फारुक शेखले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
२०७४ सालमा भएको निर्वाचनमा तत्कालिन एमालेबाट उम्मेदवार रहेका शेखले जम्मा १३ मत ल्याएका थिए ।

नेकपाले एकीकरणपछि नेकपाले यस पटक जाकिर अन्सारीलाई टिकट दिएको छ । यसअघिको निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रको उम्मेदवार रहेका अन्सारीले १ सय १९ मत ल्याएका थिए ।

नेपाली कांग्रेसबाट सञ्जय कुमार महतो र राजपाबाट रामबाबु नायकले उम्मेदवारी दिएका छन् । अबुल मोमिन, सहदेव सखेरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका निर्वाचन अधिकृत कृष्ण प्रसाद पुडासैनीले जानकारी दिए । राजपाबाट ३ सय २३ मतसहित निर्वाचित भएका सञ्जयकुमार मण्डल सरकारी सेवामा गएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

सिरहामा १३ जनाका उम्मेदवारी

सिरहाको कल्याणपुर नगरपालिकामा १२ मा कांग्रेसबाट निर्वाचित अध्यक्ष रामदेव यादवको २०७५ साल वैशाख १८ गते मृत्यु भएपछि उपनिर्वाचन हुँदैछ । यहाँ १३ जनले उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट राजकुमार मखिया, नेकपाबाट दिलिप यादव, राजपाबाट प्रदीप महतो, समाजवादीबाट किशोरी साह, जनमत पार्टीबाट अताउल्लाह रहमान, राप्रपाबाट बसीर राइन, राप्रपा संयुक्तबाट अताबुल राइन र नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदाको उम्मेदवारी परेको छ ।

गौरीशंकर यादव, हेबु मुखिया, श्यामबाबु दास, सूर्यनारायण राय र रामअशिष सिंहले स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचन कार्यालय सिरहाकी प्रमुख इन्दिरा यादवले जानकारी दिइन् ।

यसअघिको निर्वाचनमा ६ सय २२ मत ल्याएर रामदेव निर्वाचित हुँदा राजपाका कपिलेश्वर मुखियाले ४ सय ८० मत ल्याएर दोस्रो स्थानमा थिए । तत्कालिन नेकपा एमालेका दिलिपकुमार यादव २ सय ९८ र तत्कालिन नेकपा माओवादी केन्द्रका कामेश्वर सिंहले १७१ र तत्कालिन संघीय समाजवादीका उम्मेदवार गणेश रायले १६ मत पाएका थिए ।

बलवा- २ मा ८ उम्मेदवार

महोत्तरीको बलवा नगरपालिका २ को रिक्त अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर १ सय १८ मत ल्याएका बृजलाल साह अहिले राजपाबाट उम्मेदवार बनेका छन् । यहाँबाट समाजवादी पार्टीको उम्मेदवारी परेको छैन ।

यहाँ कांग्रेसबाट विपिन पजियार सुडी, नेकपाबाट कृष्णदेव साह, जनमत पार्टीबाट वीरेन्द्र साह, राष्ट्रिय जनमुक्ति पार्टीबाट नरेन्द्र साह तथा स्वतन्त्रबाट सुबोध साह, हेमन्त साह र रमेश साहले उम्मेदवारी दिएका छन् । यो वडामा कांग्रेसका राजकुमार साह ३ सय ७९ मत ल्याएर निर्वाचित भएका थिए ।

बलवा- ८ मा १२ जनाको उम्मेदवारी

महोत्तरीकै बलवा नगरपालिका ८ मा १२ जनाले उम्मेदवारी दिएका छन् । समाजवादीबाट रामबाबु महतोले उम्मेदवारी दिएपछि राजपाले दिएको छैन ।

कांग्रेसबाट निर्मल यादव, नेकपाबाट लक्ष्मेश्वर यादव, राप्रपाबाट इन्द्रेश यादव, जनमत पार्टीबाट फुलकुमारी देवी उम्मेदवार बनेका छन् । तथा मिश्री मण्डल, रामचन्द्र महतो, रामदेबिन महतो, रामबृक्ष सहनी मलाह, सहदेव यादव, सुरेश मतो कोइरी र सुभिन्द्र महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

हरिपूर्वा १ मा सात जना उम्मेदवार

सर्लाहीको हरिपूर्वा नगरपालिका १ को अध्यक्षमा सात जनाले उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दोस मोहम्मद अन्सारी, नेपाली कांग्रेसबाट रामपृत पासवान, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय, जनमत पार्टीबाट दिनेश राय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोजकुमार राय र मनोजकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए । २०७४ को स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्ष इसाक अन्सारीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment