Comments Add Comment

अब हरेक प्रदेशमा भिड नियन्त्रणका लागि ‘वाटर क्यानोन’

२८ कात्तिक, काठमाडौं । भिड नियन्त्रणका लागि रहेक प्रदेशमा राख्ने गरी नेपाल प्रहरीले ५ वटा ‘वाटर क्यानोन’ खरिद गरेको छ । हाल नेपाल प्रहरीसँग एउटा मात्र ‘वाटर क्यानोन’ थियो ।

चीनको मल्टिनेश्नल कम्पनीबाट खरीद गरिएका ‘वाटर क्यानोन’को बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिमा परीक्षण गरिएको छ ।

प्रदर्शनीमा ‘वाटर क्यानोन’द्वारा ‘सेल्फ स्प्रे’ प्रदर्शन, ५५ मिटर तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भीडमा सहभागीको पहिचान गर्न सहज होस् भनेर प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा देखाइएको थियो ।

उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’मा १८ वटा अश्रु ग्यास सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ ।

‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् । ‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।

प्रहरीले अझै दुई वटा ‘वाटर क्यानोन’ खरिद गर्ने प्रक्रियालाई जारी राखेको छ । प्रहरीका अनुसार एउटा क्यानोनको मूल्य साढे ४ करोड रुपैयाँ बढी पर्छ ।

के हो वाटर क्यानोन ?

स्थानीय प्रशासन ऐन, २०२८ मा प्रहरीले जुलुस, भीड नियन्त्रणका लागि पहिले पानीको फोहोरा हान्नु पर्ने व्यवस्था गरेको छ ।

सोही अनुरुप भिडलाई तितरबितर बनाउन वाटर क्यानन् प्रयोग हुँदै आएको छ । अश्रुग्यासबाट मानिसहरु घाइते र बिरामी हुन सक्ने भएकाले पनि वाटर क्याननको प्रयोगलाई राम्रो मानिन्छ । यसले निश्चित क्षेत्रमा तीब्र गतिमा पानी फ्याल्ने गर्छ ।

वाटर क्यानोन पहिलो पटक सन् १९३० मा जर्मनीमा दंगा नियन्त्रणका लागि प्रयोग भएको थियो । त्यसयता विश्वका विभिन्न देशका प्रहरी संगठनले यसको प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment