Comments Add Comment

प्रदुषण गर्ने उद्योगलाई कारबाही गर्न वडाध्यक्षलाई अधिकार

२९ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यपालिका बैठकले वडा अध्यक्षलाई प्रदुषण गर्ने उद्योगलाई कारबाही गर्न सक्ने अधिकार दिएको छ ।

पटक–पटक अनुरोध गरे पनि महानगरभित्र सञ्चालित उद्योगले प्रदुषण नियन्त्रणमा चासो नदेखाएपछि महानगरपालिकाले यस्तो कदम चालेको हो ।

विभिन्न उद्योगले दूषित पानी, छाई, अन्य केमिकलयुक्त ठोस तथा तरल पदार्थ, चिम्नी भट्टीबाट कालो धुँवा नदी तथा वायुमण्डलमा छोडेर प्रदुषण गर्दै आएका छन् । अबदेखि जथाभावी जल, जमिन र हावा प्रदुषण गर्ने उद्योगलाई वडा अध्यक्षहरुले नै कारबाही गर्नेछन् ।

यो पनि पढ्नुहोस उद्योगीको स्वार्थले विषालु बनेको सिर्सिया

शुक्रबार दिउँसो बसेको बैठकले वातावरण प्रदूषण नियन्त्रणका लागि उद्योग कलकारखानामा कडा निगरानी गर्ने, ठोस तथा तरल कुनै प्रकारको प्रदुषित पदार्थ उत्सर्जित गर्ने उद्योगको अवालोकन गरी कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने जिम्मा वडा अध्यक्षहरुलाई दिइएको हो । प्रदेश नं २ को एक मात्र महानगरपालिकामा ३२ वटा वडा छन् ।

वडा अध्यक्षको सिफारिसको आधारमा महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाई कारबाहीका लागि अनुरोध गर्नेछ । छठको समयमा उद्योग कलकारखना बन्द हुँदा सफा देखिएको सिर्सिया नदी फेरि प्रदुषित भइसकेको छ ।

राजनीतिक दलको ऐक्यवद्धता

सिर्सिया नदीमा विद्यमान प्रदुषण रोक्न पर्साका विभिन्न राजनीतिक दलका नेताहरुले ऐक्यवद्धता जनाएका छन् ।

सरिसवा नदी एवं वीरगञ्ज प्रदुषणविरुद्ध अभियान पर्साले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरुले नदीमा विद्यमान प्रदुषण रोक्न सकेको सहयोग गर्ने आश्वासन दिए ।

तर बैठकमा संघ सरकारको नेतृत्व गर्ने दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कुनैपनि प्रतिनीधि सहभागी थिएनन् । कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव र राजपा नेतृ रम्भा मिश्रले नदीमा विद्यमान प्रदुषण रोक्न निरन्तर अभियान सञ्चालन हुनुपर्ने र आफ्नो पार्टीले साथ दिने बताएका हुन् ।

वीरगञ्ज रामगढवा स्थित रामजानकी धर्मशालामा आयोजित बैठकमा कुर्मीले काँग्रेस पर्सा नदीमा विद्यमान प्रदुषण रोक्न गम्भिर रहेको बताए । उनले स्थानीय सरकारले कानुन बनाएर प्रदुषण गर्ने उद्योगलाई कारबाही गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस सिर्सिया नदीको प्रदुषण रोक्न वीरगञ्जवासी जागरुक बन्दै

समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष यादवले जिल्ला कार्य समितिमा नदी प्रदुषणको विषयलाई लैजाने आश्वासन दिए । उनले महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउन सल्लाह दिए ।

राजपा नेतृ रम्भा मिश्रले छठमा सफा हुने नदी अरु बेला प्रदुषित हुने र जिम्मेवार निकाय र जनप्रतिनीधि मुकदर्शक बनेर बस्नु गलत भएको बताइन् ।  नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहानले सञ्चारमाध्यमले निरन्तर खबरदारी गरिरहेको भएपनि नदी प्रदुषण रोक्न सरोकारवाला जिम्मेवार नभएको बताए ।

‘स्वच्छ नदी, पवित्र जल, स्वस्थ जीवन समृद्ध वीरगञ्ज’ भन्ने नाराका साथ अधिवक्ता सुरेन्द्र कुर्मीको नेतृत्वमा अभियान सञ्चालनमा छ । अभियानले यसअघि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई नदीको पानी उपहार दिने लगायतको गतिविधि सञ्चालन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment